फुटबलको महाकुम्भ आजबाट, उद्घाटन खेलमा रुस र साउदी अरेबिया भिड्दै

जेठ ३१, २०७५

काठमाडौं, ३१ जेठ–विश्व फुटबलको महाकुम्भ बिहीबारबाट रसियाको मस्कोमा शुरु हुँदैछ । रुसको राजधानी मस्कोमा औपचारिक उद्घाटन समारोह हुने छ । 

त्यसपछि विश्वकपको पहिलो खेलमा आयोजक रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजेपछि शुरु हुनेछ ।



प्रतियोगितामा ३२ देश सहभागी छन् । सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् । 

यो विश्वकप फुटबलको २१औं संस्करण हो । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन् । 

विश्वकपमा कुल ७ सय ३६ जना खेलाडी सहभागी हुँदैछन् । विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्विट्जरल्यान्ड, क्रोएसिया, स्विडेन र डेनमार्क गरि १४ देश सहभागी छन् । 

यस्तै उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पनामा तथा दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरुले प्रतिस्पर्धा गर्दैछन् । 

एसियाबाट इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया तथा अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछन् । रसियाका विभिन्न ११ सहरका १२ वटा रंगशालामा खेलाइनेछ ।

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस