रुस विश्वकपका केही रमाइला दृश्य, कुकुरहरूले पत्रकार लखेटे

असार ६, २०७५

काठमाडौं, ६ असार – रुसमा आयोजित विश्वकपका बारेमा द गार्डियन पत्रिकाका केही पत्रकारले रमाइला टिप्पणी गरेका छन् । 

शन वाकरले लेखे :
राजनीतिक तनाव र रुसी सरकारसँगको विवाद विश्वकप सकिएपनि रहिरहन्छ तर धेरै मानिसले रुसको राम्रो स्मरण मनमा लिएर जानेछन् अनि उक्त देशको बारेमा उनीहरूको धारणा पनि बदलिनेछ । रुसले विश्वकपका लागि राम्रो आतिथ्य गरेको छ र रुसीहरू एक महिनाभरि मुस्कुराइरहेका छन् । 

उनीहरूले अन्य देशका समर्थकलाई खुला हृदयले स्वागत गरेका छन् । पूरै वातावरण नै सकारात्मक छ । सस्तो बीयर र न्यानो घामले पनि वातावरणलाई आनन्दमय बनाएको छ । 

रुसको राजधानी मस्कोमा यातायात आवागमन सुचारु भएकाले दशौं हजार समर्थकहरू रंगशाला आउने जाने अनि म्याच नभएका बेलामा कतै भेला भएर रमाइलो गर्ने गरिरहेका छन् । 

त्यस्तै डेनियल टेलर लेख्छन् :
यो प्रतियोगितामा जातीय विभेद र हिंसा मच्चिन्छ भन्ने धेरैले शंका गरेका थिए । रुस र इंग्ल्यान्डका समर्थकहरू अलिक हुल्लडे खालकै हुन्छन् । युरो २०१६ मा उनीहरूले हिंसा मच्चाएका थिए र प्रतियोगिताकै बेइज्जती भएको थियो । 

इंग्ल्यान्डका खेलाडीलाई असंख्य कीराले आक्रमण गरेर भने दुःख दिएका छन् । अनि रेपिनो भन्ने ठाउँमा जंगली क्षेत्रमा कुकुरहरू पनि खतराकै विषय बनेका छन् । इंग्ल्यान्ड टोलीले अभ्यास गरिरहेको ठाउँबाट रिपोर्टिङ गरेर बाहिर
निस्केका एक पत्रकारले साइकल चलाउँदै गर्दा बाटोमा डरलाग्दा कुकुरहरूको झुण्डको सामना गर्नुपरेको थियो । उनलाई कुकुरहरूले दुई माइल परसम्म लखेटेका थिए ।


ADVERTISEMENT

असार ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार