‘सिन्धुलीमा जन्मेका राष्ट्रकै आदरणीय व्यक्तित्व ’

असार ९, २०७५

राजा महेन्द्रको राज्यकाल थियो, तर राजा देशबाहिर गएका थिए । २०२८ सालको मध्यतिर  गोबधको एक घटनालाई लिएर रौतहटको भुसाहा इलाका वरपर साम्प्रदायिक दङ्गाको स्थिति आयो । उन्मादी हिन्दूहरूको जमातले मुसलमान बस्तीमा आगजनी समेत गराए । तर नारायणी अञ्चल र रौतहट जिल्लाका प्रशासकहरूले संवेदनशीलता बुझ्न सकेनन् वा बुझेर पनि आफ्नो जिम्मेवारी निर्वाह गर्ने ह्याउ प्रदर्शन गरेनन् । त्यस्तो अवस्थामा चन्द्रनिगाहापुरका प्रतिष्ठित बासिन्दा कुलचन्द्र कोइरालाले पहल र हिम्मत गरेर स्थितिलाई काबुबाहिर जानबाट जोगाए । विदेशबाट फर्केपछि राजा वस्तुस्थिति बुझ्न आफैं रौतहट पनि पुगे र कुनै बखत काँग्रेसी भएका कारण ‘अराष्ट्रिय तत्व’ ठानिएका कुलचन्द्रको कामबाट प्रभावित भए ।

 


ADVERTISEMENT

त्यसै वर्ष माघमा राजा महेन्द्रको निधन भयो, परन्तु अभिलेखको आधारमा होला नयाँ राजा वीरेन्द्रले कुलचन्द्रको कदर गर्दै गोरखादक्षिणबाहुको मानपदवी प्रदान गरे । ‘कुलचन्द्र कोइराला स्मृतिग्रन्थ’ का पाता पल्टाउँदा बाबुराम पौडेलको संस्मरणमा रौतहट काण्डको विस्तृत जानकारी र मानपदवीको प्रतिलिपि समेत भेटिन्छ । पौडेल त्यतिखेर जिल्लाका भूमिसुधार अधिकारी रहेछन् ।

 

सिन्धुलीको घोक्सिला गाउँमा वि.सं. १९८५ साल जेठ ९ गते जन्मेर हुर्केका कुलचन्द्र काठमाडौं रानीपोखरी पाकशालामा बसेर संस्कृत पढ्दादेखि नै (काँग्रेसी) राजनीतिमा पसेका थिए । एक समय संसद्को काम गर्न गठन गरिएको सल्लाहकारसभाका सदस्य रहेका कुलचन्द्र २०१७ पौषको घटनापछि पटक-पटक थुनामा परे । पहाड छोडी मधेस झरे; जो सकेको योगदान आफू बसेको ठाउँबाटै गरे; गर्दै रहे । कुलचन्द्रले २०५० साल जेठ १४ गते यो धरती छोडे; अर्थात् उनको आयु ६५ वर्षको भएछ ।   

 

कुलचन्द्र कोइराला परलोक भएको २५औं वर्षमा प्रकाशित यस ‘स्मृति र दृष्टि’ मा समेटिएका गद्य-पद्य सामग्री नियाल्दा कुलचन्द्रलाई चार आयामका एक व्यक्तित्व भनिनुलाई मिल्दोजुल्दो आकलन मानिदिए हुने देखिन्छ । उनी साहित्यकार, सांस्कृतिक अनुसन्धाता, समाजसेवी र राजनीतिकर्मी रहेछन् । लौहपुरुष गणेशमान सिंहले कुलचन्द्रलाई ‘सिन्धुलीमा जन्मेर राष्ट्रकै आदरणीय व्यक्तित्व’ अकारण भन्नुभएको होओइन । त्यस्तै, कृष्णप्रसाद भट्टराईको हस्ताक्षरका चिट्ठीहरूले पनि कुलचन्द्रको परोपकारी छवि उजिल्याउँछन् । साहित्यकार डा.तारानाथ शर्माको शब्दमा कुलचन्द्र ‘साहित्यधर्मा व्यक्तित्व’ हुन् ।

 

नेपाल संस्कृत विश्वविद्यालयका उप-कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको मन्तव्य पढ्दा पनि कुलचन्द्र  एक विशिष्ट प्रतिभायुक्त नेपाली भएकै तथ्यको पुनर्पुष्टि हुन्छ । साथै, कुलचन्द्रको योगदानको यो गहकिलो ग्रन्थ तयार गरे बापत उहाँका पुत्रहरूको प्रशंसा गर्ने क्रममा उप-कुलपतिले हालका अर्थात् उत्तर आधुनिककालका युवा कहलिन रुचाउने सबैका लागि हुने सन्देश दिनुभएको छ; यी शब्दावलीमा:---

 पिताको आर्जन खाने तर तिथिका दिन पितामाताको स्मरणसम्म नगरी श्रध्दापूर्वक गरिने कृत्य श्राध्द हो भन्नुपर्ने ठाउँमा यजमाने बाहुनले आफ्नो व्यवसाय विकास र विस्तारका क्रममा थोपरेको कुरा हो भनेर समाज भाँड्न मद्दत पु-याइरहेका लाखौंलाख पुत्रहरू होलान् । त्यस्ताले पनि सिक्ने अवसर पाएर...।

 

ग्रन्थका सम्पादकद्वयले मेहनत गरेर तयार पारेको कुलचन्द्रका कृतिको फेहरिस्त पुस्तकमा समावेश छ । फुटकर रचनामा गनिने कथा, कविताहरूको चर्चा समेत विभिन्न लेखक-लेखिकाबाट भएको छ । डा. तारानाथ शर्माले ‘व्यङ्ग्यवाण’ भनेर तारिफ गरेका केही लहरको झलक यहाँ दिइँदैछ :  

---------------------------------------------------------------------------

कृति : स्मृति र दृष्टि

सम्पादक: हरि मञ्जुश्री र जीवनचन्द्र कोइराला

प्रकाशक: कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान, काठमाडौं

पृष्ठसंख्या : ५६०+

मूल्य : रु ८००। (पातलो गाता), रु १००० (मोटो गाता)

----------------------------------------------------------------

असार ९, २०७५ मा प्रकाशित

अक्षरकर्मी

अक्षरकर्मी ‘लोकान्तर’का पुस्तक समीक्षक हुन् ।
 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस