प्रतिपक्षको कडा विरोध : ७ नम्बर प्रदेशसभा बैठक स्थगन, बजेटमा असन्तुष्टि

असार ११, २०७५

धनगढी, ११ असार – ७ नम्बर प्रदेशको प्रदेशसभाको आजको बैठक प्रतिपक्षीको विरोधका कारण स्थगन गरिएको छ । 

बैठकको कारबाही प्रारम्भ हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यले प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको बजेट विनियोजनको प्रकृतिप्रति असन्तुष्टि जनाउँदै आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए ।


आ–आफ्नो स्थानबाट उठेर केही नबोलेर विरोध गरिएपछि प्रतिपक्षीलाई सभामुख अर्जुनबहादुर थापाले आफ्नो भनाइ राख्न अनुमति दिएका थिए । त्यसक्रममा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले आगामी आवका लागि ल्याइएको बजेटको योजना छनोट र प्रथामिकीकरण लगायतका प्रक्रिया गलत रहेको, वितरणमुखी र डल्लो बजेट ल्याइएकाले यसबाट जनताले गरेका अपेक्षा पूरा नहुने भन्दै सच्याउन दिइएको सल्लाह नमानिएकाले विरोध गर्नुपरेको बताए ।

डा. रावलले बजेट ल्याउँदा भएको त्रुटि नसच्याइएसम्म विरोध जारी रहने बताए । डा. रावलले आफ्नो भनाइ राखिसकेपछि सभामुखले आ–आफ्नो स्थानमा बस्न गर्नुभएको आग्रह पनि प्रतिपक्षी सदस्यले नमानेपछि आजको बैठकको कामकारबाही स्थगन गरिएको हो । प्रदेशसभाको अर्को बैठक भोलि अपराह्न ४ बजे बस्ने छ ।

असार ११, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार