बर्मामा नेपालीलाई विश्वास गरिन्छ, 'गल्ती गरे आँखा चिम्लिनु' भन्छन्- भीम उदास [अन्तर्वार्ता]

असार १८, २०७५

नेपाली भाषीको उल्लेख्य बसोवास रहेको मुलुक हो, म्यानमार (बर्मा) । त्यहाँका नेपालीको भाषामात्र होइन, संस्कृति पनि दुरुस्तै छ । उनीहरू आफ्नो पुर्खा नेपालमै रहेको बताउँछन् ।

पछिल्लो सयम बर्माबाट रोहिङ्ग्या शरणार्थी नेपाल भित्रिने क्रम बढेको छ । यस्तो अवस्थामा त्यहाँ रहेका नेपालीहरूको अवस्था कस्तो छ? बर्मासँगको सम्बन्धबाट नेपालले के-कस्तो लाभ लिनसक्छ ? यी र यस्तै विषयमा मनीषा अवस्थीले बर्माका लागि नेपाली राजदूत भीम उदाससँग कुराकानी गरेकी छन् ।


प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

म्यानमार (बर्मा)मा रहेका नेपालीहरूका लागि तपाईं राजदूत भएर गएपछि उल्लेख्य कामहरू के-के गर्नुभयो?

यहाँका नेपालीहरूसँग सुमधुर सम्बन्ध विस्तार गर्ने र उनीहरूका संस्थाहरू सँग सहकार्य गर्ने मेरो प्राथमिकतामा रहयो । सरकारी काम सोमबारदेखि शुक्रवार सम्म हुने भए पनि टाढाबाट आएका नेपालीहरूलाई विदाको दिनमा पनि सेवा प्रदान गर्दछौं । म याङ्गोन टेकेको भोलिपल्ट नै नेपालीहरूको छाता संगठन अखिल म्यान्मा गोर्खा हिन्दु धार्मिक संघको दुई दिने दुई वार्षिकी समारोहमा प्रमुख अतिथिको रूपमा भाग लिने अवसर मिल्यो, जसमा देश भरिबाट करीब १२०० प्रतिनिधिहरूले (एक तिहाई जति महिलाहरूको सहभागिता थियो) भाग लिएका थिए । शुरुमै त्यतिका धेरै नेपालीहरू सँग एकै साथ भेट्न पाउँनु मेरो सौभाग्य थियो ।

त्यो छाता संगठन अन्तर्गत अन्य संघ संस्थाहरू सँग पनि सम्पर्क र सहकार्य भैरहेछ । नेपालीहरूको बसोबास भएको ठाउँहरू जस्तै मोगोक, मचिना,मेम्यो,लखु, माण्डलेमा त्यहाँका संस्थाहरूको निमन्त्रणामा र चार्डपर्व जस्तै शिवरात्री, रामनवमी महोत्सवमा सबै सँग भेट्ने अवसर मिल्यो । त्यहाँ सञ्चालित नेपाली भाषा पाठशालाहरूको पनि अवलोकन गरे,जहाँ विद्धार्थीहरू जागृत गाना भनेर 'नेपाली वीर जाति, हामी सबै नेपाली' भनेर गर्वका साथ गाउँछन् ।

मिचिना शहर कचिन राज्यको राजधानी (याङ्गोनबाट धेरै टाढा) जसलाई सानो नेपाल भन्छन्' त्यहाँ म पुगेपछि नेपालीहरू खुसी भएर भने 'सच्चित समशेर पछि तपाईंलाई राजदूतको रूपमा स्वागत गर्न पाउँदा हर्ष लागेको छ । राजदूत सच्चित समशेर करीब २०वर्ष अघि त्यहाँ जानु भएको रहेछ ।

आम नेपालीहरूसँगको सम्पर्क र सबै संस्थाहरू सँग सहकार्य गर्नु अलवा म्यान्मार-नेपाली मैत्री संघको स्थापना भयो, जुन गत ५८ वर्षमा हुन सकेको थिएन । सन् १९६० मा नेपाल र म्यानमार वीच दौत्य सम्बन्ध स्थापना भए देखि पहिलो पल्ट यो संस्थाको जन्म भयो, जसले दुई देशको मित्रतामा थप योगदान पुर्याउँनुको साथै व्याक्ति-व्याक्ति वीचको सम्बन्ध अझ बढाउने छ ।

नेपाली भाषा, संस्कृति र साहित्यको प्रवर्धनको लागि नियमित रूपमा विभिन्न अवसरहरूमा जस्तै भानु जयन्ति, देवकोटा जयन्ति आदिमा आयोजना गरिने साहित्य गोष्ठिमा भाग लिएँ । गत मार्च २१ मा पहिलोपल्ट विश्व कविता दिवसको उपलक्ष्यमा राजदूतावास परिसरमा कविता गोष्ठी सञ्चालन भयो । यी सबै सामाजिक र साहित्यिक कार्यक्रमहरूमा दूतावास र एनआरएन को राम्रो सहकार्य रह्यो ।

उनीहरू भन्छन्- 'भाषा नरहे संस्कृति रहँदैन र संस्कृति नरहे जाति रहँदैन ।'

बर्मामा कति नेपाली छन्, उनीहरूका मुख्य समस्या के-के हुन् ?

सन् १९६० ताका बर्मामा नेपालीहरूको संख्या ५ लाखको हाराहारीमा थियो । सन् १९८० सम्म करीब ३ लाख नेपाली छन् भन्ने सरकारी आँकडा थियो, तर अहिले आएर करीब डेढ लाख बाँकी छन् भन्ने अनुमान छ । यो संख्या घट्नुको मुख्य कारण म्यानमारको आन्तरिक द्वन्द्व र समस्या नै हो । सन् १९६२ मा सैनिकले शासन हातमा लिएपछि धेरै नेपालीहरू बाहिरिए (नेपाल लगायतका देशहरूमा), सन् १९८८ को प्रजातान्त्रिक संघर्ष बिफल भएपछि नेपालीहरू थाइल्याण्ड, मलेसिया जान बाध्य भए । सबै नेपालीले यहाँको नागरिकता पाइसकेका छैनन्, जबकि उनीहरू ४/५ पुस्तादेखि म्यानमारमा नै बसिराखेका छन्, त्यो एउटा समस्या हो । त्यो प्राप्तिका लागि म्यानमारको अखिल गोर्खा हिन्दू संघ गाउँ-गाउँ र घर-घर पुगेर आँकडा संकलन गरी नागरिकता नपाएकाहरूलाई सहयोग गरिराखेको छ । नागरिकता नपाउनुमा सरकारको दोषभन्दा आमव्याक्तिले समयमै चासो नराखेको पाइन्छ, जुन प्राप्तिका लागि अहिले नियमित रूपमा काम अगाडि बढिराखेको छ ।

बर्मामा रहेका नेपालीको जीवनस्तर, पेशा, व्यवसाय तथा शैक्षिक अवस्था कस्तो देखिन्छ?

शिक्षा, व्यापार, व्यवसाय गर्नमा नेपालीहरूले समान अवसर र अधिकार पाएका छन् । पेशाको हकमा मेडिकल, इञ्जिनियरिङमा पनि समान अवसर पाएका छन्, तर सैनिक र सरकारी सेवामा भने मध्यमस्तरबाट उच्च तहमा पुग्न कठिन बनाएको छ । नेपालीहरू हाल बढीभन्दा बढी व्यापार, व्यवसाय र कृषिमा संलग्न छन् र उनीहरूको आर्थिक स्थितिमा राम्रो सुधार आएको छ । मोगोक जहाँ रुवी र ब्लू सफायाको खानी छ- त्यहाँको झण्डै ६० प्रतिशत व्यापार नेपालीहरूको हातमा छ । भारत र चीनको बोर्डरमा पनि नेपालीहरूले राम्रै व्यापार, व्यवसाय गरिराखेका छन् ।

आर्थिक स्थिति हेर्ने हो भने १०-१५ प्रतिशत नेपालीहरू निम्न वर्गका होलान्, बाँकी उच्च र मध्यम वर्गमा पर्दछन् ।

बर्मामा बस्ने नेपालीहरूले नेपालका लागि कस्तो योगदान पुर्‍याएको पाउनुभयो ?

नेपाली भाषा, धर्म, संस्कृति, कला साहित्यको जगेर्ना र प्रवर्द्धन मुख्य योगदानको रूपमा लिन सकिन्छ । नेपालबाहिर भारत र बर्मामा बस्ने नेपालीहरूले त्यस क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथ्य छ । ३१७ वटा मठ मन्दिरको निर्माण, २४८ वटा नेपाली पाठशालाको सञ्चालन यसको उदाहरण हो । इतिहास साक्षी छ, नेपालको २००७ सालको जनक्रान्तिमा भाग लिन र प्रजातन्त्र प्राप्तिको लागि यहाँको सरकार र नेपालीहरूले महत्त्वपूर्ण सहयोग पुर्‍याए । म्यानमारको सैनिक सेवामा गोर्खालीहरूको ठूलो बलिदान र त्याग पुर्‍याएको हुनाले गोर्खा पहिचान अहिलेसम्म प्रबल रही आएको छ ।

नेपाललाई आफ्नो पितृभूमि सम्झने यहाँका नेपालीहरू नेपालको हर सुख/दुःखमा आफूलाई सहभागी ठान्दछन् । सन् २०१५ को भूकम्पले यहाँका हरेक नेपालीको मन क्षतविक्षत् भयो । म्यानमारका सबै ३१७ मन्दिरमा एक महिनाम्म लगातार नेपाल र नेपालीको भलाइको कामना गर्दै पूजापाठ गरे । सक्दो आर्थिक सहयोग गरे । एनआरएन हरूले नेपालसम्म गएर निर्माण कार्यमा सम्मिलित भए ।

त्यहाँका नेपालीप्रति बर्मेली सरकारको धारणा कस्तो छ?

म्यानमार सरकार र जनताले पनि नेपालीहरूलाई भगवान बुद्धको जन्मस्थल र गोर्खा आइडेन्टिटीको आँखाले हेर्छन् । नेपालीप्रति म्यान्मार सरकारको धारणा सकारात्मक छ । नेपाली सरल, इमान्दार र विश्वसनीय नागरिक हुन् भन्छन् । नेपालीजस्तै अरु जाति पनि त्यस्तै भैदिए म्यानमारमा केही समस्या हुने थिएन भन्छन् । त्यसैले होला नेपालीहरूबाट सानोतिनो गल्ती भयो भने पनि 'एउटा आँखा चिम्लिनु' भन्ने कहावत छ ।

बर्मा र नेपाल सम्बन्धका विद्ध्यमान चुनौती के-के हुन् ?

हाम्रो सम्न्धमा कुनै चुनौती छैन, तर अवसर भने प्रसस्त छन् ।

बर्मा र नेपालको सम्बन्ध भगवान बुद्धको समयदेखि रहिआएको छ । यहाँका दुई व्यापारीले भगवान बुद्धको दर्शनपछि सम्झनाको चिनो बर्मा लैजाने अनुरोध गरेपछि आफ्नो टाउकोको दुईवटा केश उपहार दिनुभएछ, जुन अहिले याङ्गोन शहरको एउटा पगोडामा सुरक्षित राखिएको छ ।

करीब १८० वर्षअघि केही नेपालीहरू कामको खोजीमा बर्मा पसेको रेकर्ड छ । नेपाल एकीकरणको समयमा पूर्वबाट नेपालीहरू सुरक्षा र शान्तिको खोजीमा बर्मा पसेको कहावत छ ।

दुई देशबीचको द्विपक्षीय दौत्य सम्बन्ध सन् १९६० मा स्थापना भए पश्चात् सन् १९६२ को सैनिक शासनपछि बर्मेली नेपालीहरू बाहिरिने सन्दर्भमा केही समस्या भएका थिए- त्यो अब इतिहासमा मात्र जीवित छ ।

वर्तमानमा नेपाल एक संघीय लोकतान्तिक गणतन्त्र भएजस्तै म्यानमार पनि गत १० वर्षदेखि प्रजातान्त्रिक गणतन्त्रतर्फ अग्रसर छ र संघीयतातर्फ उन्मुख छ । दुई देशबीचको दौत्य सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक सहयोगमा बढी ध्यान दिन जरुरी छ । म्यानमार नैसर्गिक र प्राकृतिक स्रोतको भण्डार हो, त्यसैले यसलाई 'गोल्डेन ल्याण्ड' पनि भनिन्छ । यहाँ पेट्रोलीयम ग्यासको भण्डार छ भने तामा, रुवी खानी, टीक काठको धनी र सामुद्रिक माछाहरूको प्रचुरता छ ।

यहाँका ती स्रोतहरू पाएर छिमेकी मुलुक थाइल्याण्ड, दक्षिण चीन, सिंगापुर र मलेसियाको विकास र उन्नतिमा सघाउ पुर्‍यायो तर आफू भने पछि पर्‍यो । नयाँ सरकार आर्थिक विकासका साथै अन्य क्षेत्रको जस्तै, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्य र बैंकिङ क्षेत्रको विकासमा उद्धत छ । आर्थिक सहयोगको सन्दर्भमा ती क्षेत्रहरूमा नेपाल र म्यानमारबीच सहकार्य गर्न सकिन्छ ।

बर्मा बौद्ध धर्मालम्बीहरूको बाहुल्यता भएको मुलुक मानिन्छ । त्यहाँका नेपालीहरू पनि गौतम बुद्धभूमि नेपाललाई अत्यन्तै माया गर्दछन्, भनिन्छ । यस्तो अवस्थामा लुम्बिनीको प्रचारप्रसार गर्दै धेरैभन्दा धेरै पर्यटकहरू नेपाल भित्र्याउने सम्भावना कत्तिको छ ?

धेरै पर्यटकहरू नेपाल भित्र्याउने सम्भावना प्रचुर छ- यो सत्य हो । करीब ६ करोड जनसंख्यामा ८८ प्रतिशत म्यानमारका जनता बौद्ध धर्मालम्बी भएको हुनाले एकपटक भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुग्ने उनीहरूको चाहना हो- जसरी क्रिश्चियनहरू बेथलेहम र मुश्लिमहरू मक्का जाने इच्छा गर्दछन् ।

पर्यटन प्रवर्द्धनका लागि गत ७/८ वर्षदेखि लगातार हामी कार्यक्रम गरिराखेका छौं । गत २९ मे मा राजदूतावासले गणतन्त्र र सगरमाथा दिवसको उपलक्ष्यमा पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम गर्दा ३०० पटक भन्दा बढी नेपालको भ्रमण (मुख्यतः लुम्बिनी) गरेकी एक महिलालाई हामीले सम्मान गर्यौं । मैले यो कुरा पत्ता लगाएर ती महिलालाई फोन गर्दा उनी अत्यन्तै खुशी भइन् र साथै जिज्ञासा राखी कि राजदूतले यो कसरी थाहा पायो ?

नेपाल भ्रमणका लागि सबैभन्दा ठूलो चुनौती हो– सीधा उडानको । भारत या अन्य मुलुक भएर जान महंगो पर्दछ र लामो समय पनि । मैले यहाँको सरकार र एनएसीसँग पनि अनुरोध गरेको छु– तर अहिलेसम्म समाधान निस्केको छैन ।

यो समस्याको बाबजुद यसवर्ष २६,५०० भन्दा बढी यात्रुहरू नेपाल भ्रमण गरे— जुन अहिलेसम्मको रेकर्ड हो । सिधा उडान भएर टिकट सस्तो भएको खण्डमा अर्को वर्ष ३० हजार पर्यटक नेपाल जाने अनुमान छ । साथै लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चार्टर्ड फ्लाइटबाट सधैं लुम्बिनी जाने पर्यटकको संख्यामा वृद्धि हुनसक्छ ।

नेपाल र बर्माबीच प्रभावकारीरूपमा सिधा हवाई उडानमा के समस्या देखिएको छ ?

सन् १९८० को दशकमा नेपाल र बर्मा सरकारको बीचमा हवाई सम्झौता भएर एनएसी र बर्माको युबी फ्लाइट सञ्चालनमा आएको थियो । तर सन् १९८८ को प्रजातान्त्रिक संघर्षले गर्दा ती दुवै उडानहरू बन्द भए ।

गत वर्ष हिमालयन एयरलायन्सले काठमाडौं-याङ्गुनको उडान सञ्चालन गर्‍यो फेब्रुअरीदेखि, तर जुन महिनामा यात्रुहरू कम भएको कारणले उडान बन्द गर्‍यो । हिमालयन एयरलाइन्सले मार्केट सर्भे नगरी हतारमा उडान शुरु गर्‍यो र दशैंसम्म नपर्खी अचानक बन्द गर्‍यो । उनीहरूले यात्रुको साथसाथै कार्गो बिजनेस पनि ध्यान दिएको भए सायद उडान बन्द गर्नु पर्ने थिएन होला ।

आशा छ, NAC को नयाँ जहाज आएपछि पुरानै सम्झौता अनुरूप काठमाडौं-याङ्गुन-बैंकक या क्वालालम्पुर सेक्टर सञ्चालन गरोस् ।

र्माबाट लखेटिएर नेपालमा शरण लिइरहेका हजारौं रोहिङ्ग्या समुदायबारे त्यहाँको सरकारसँग केही कुरा गर्नुभएको छ? यसबारे बर्मेली सरकारको धारणा के छ ?

बर्माबाट बंगलादेश र भारत हुँदै नेपाल छिरेका रोहिङ्ग्या शरणार्थीको संख्या सयौँ मात्र हो- हजारौं छैन । ती शरणार्थीहरू आफू खुशी नेपाल पसेर आफन्तहरूसँग बसिरहेका छन् । बर्मेली सरकारसँग अहिले नै उठाउनु पर्ने यो त्यति ठूलो समस्या हो जस्तो लाग्दैन । भारतमा ४०,००० भन्दा बढी रोहिङ्ग्या शरणार्थीहरू छन् र त्यसरी नै अरु मुलुकमा पनि । हाललाई बंगलादेशमा रहेका शरणार्थीहरू फर्काउने कोसिस भैराखेको छ ।

बर्माबाट नेपालले अन्य के फाइदा लिनसक्छ? राजदूत भएको नाताले यो विषयमा केही योजना बनाउनुभएको छ ?

नेपाल र म्यानमारबीच आर्थिक सहयोगमा जोड दिन आवश्यक छ । गत एक वर्षभित्र ३ वटा एमओयू अघि बढाइएको छ-

१. द्विपक्षीय परामर्श संयन्त्र ( Bilateral Consultative Mechanism)

२. फ्री भिसाको व्यवस्था- डिप्लोमेटिक र अफिसियल पासपोर्टवालाहरूलाई

३. व्यापार र लगानीसम्बन्धी । यसमध्ये पहिलो दुई एमओयू जुलाईको अन्तिम साता काठमाडौंमा हस्ताक्षर हुँदैछ । तेस्रो एमओयू २ महिनादेखि उद्योग तथा वाणिज्य मन्त्रालयमा विचाराधीन अवस्थामा छ ।

त्यसका अलवा, अर्को १ महिनाभित्र निजी क्षेत्रबीच व्यापार र उद्योग संघ (Myanmar-Nepal Chamber of Commerce & Industry) को स्थापना हुँदैछ । यसले दुई देशबीचमा निजी क्षेत्रलाई आकर्षित गर्नेछ ।

'पब्लिक डिप्लोमेसी' र 'पर्सन टू पर्सन रिलेसन' विस्तारका लागि म्यानमार-नेपाल फ्रेन्डसिप एसोसिएसनको गत डिसेम्बरमा स्थापना भयो । 'इकोनोमिक को-अप्रेसन'का लागि यी महत्त्वपूर्ण कामहरू भएका छन् ।

भूराजनैतिक र आर्थिक दृष्टिकोणले म्यानमार नेपालका लागि असाध्यै महत्वपूर्ण मुलुक हो । यो एसियन, सार्क (पर्यवेक्षक), बिमस्टेक र आईसीआईमोड संस्थासँग आवद्ध भएकाले दक्षिण एसिया र दक्षिणपूर्वको बीच एउटा पुल भएर बसेको छ ।

यसका अलवा म्यानमार प्राकृतिक स्रोतमा प्रचूर धनी मुलुक हो, जुन अहिलेसम्म हामीले व्यापारिक दृष्टिकोणबाट सम्भाव्यता अध्ययन पनि गरेका छैनौं । खाद्य पदार्थमा चामल र दालको पनि भण्डार मुलुक हो । हरेक वर्ष यसले ३५ लाख टन चामल र करीब १५ लाख टन दाल निर्यात गर्दछ । गतवर्ष भारतले यहाँको दाल आयात बन्द गरेपछि यसको मूल्यमा गिरावट आएसँगै केही व्यापारीहरूले सोझै नेपाल निर्यात गरे । जसका कारण बजारमा दालको मूल्य सस्तो हुन गयो । त्यसलाई निरन्तरता दिन जरुरी छ । नेपालका व्यापारीहरूले त्यसमा खासै चासो दिएका छैनन् । प्रथमतः नेपालका व्यापारीहरूले म्यानमारको बजार र म्यानमारका व्यापारीले नेपाली बजारलाई जान्न र बुझ्न जरुरी छ । 'ट्रेड फेयर' र 'विजनेस डेलिगेसन'को आदान/प्रदान हुन आवश्यक छ ।

बिमस्टेकमा म्यानमारले कृषि र ऊर्जा क्षेत्रको संयोजन गर्दछ । ती दुवै क्षेत्रहरू नेपालको लागि महत्वपूर्ण छन् र हामीले सहकार्य गर्न आवश्यक छ ।

राजदूत भएर आएपछि मैले आफ्नो कार्ययोजना बनाएको छु, तर ती योजना कार्यान्वयनमा राजदूतावासलाई परराष्ट्र र अन्य मन्त्रालयको भरपूर सहयोगको आवश्यकता पर्दछ । निजी क्षेत्रको भूमिका पनि महत्त्वपूर्ण छ ।

असार १८, २०७५ मा प्रकाशित

मनीषा अवस्थी

मनीषा अवस्थी लोकान्तर डट् कमका लागि आर्थिक विषयमा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस