प्रिक्साले काठमाडौं विश्वविद्यालयका विद्यार्थीलाई पुरस्कार दिने

असार २०, २०७५

काठमाडौं, २० असार – ललितपुरको सातदोबाटोस्थित प्रिक्सा टेक्नोलोजिजले काठमाडौं विश्वविद्यालयका कम्प्यूटरका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

विश्वविद्यालयको कम्प्यूटर साइन्स एवम् कम्प्यूटर इन्जिनियरिङ विभागका लागि प्रिक्साले २ लाख १० हजार रुपैयाँको ‘प्रिक्सा एक्सिलेन्स अवार्ड’ घोषणा गरेको छ । विश्वविद्यालय र प्रिक्साबीच आज सहमति भएको छ ।


‘पुरस्कारको उद्देश्य काठमाडौं विश्वविद्यालयमा कम्प्यूटर साइन्स र कम्प्यूटर इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीलाई उनीहरूको अध्ययनका क्रममा प्रिन्साको सहयोग र सहकार्यमार्फत् अझै सशक्त एवम् गुणस्तरीय प्रोजेक्टहरू निर्माण गर्नमा टेवा दिनु रहेको छ,’ प्रिक्साद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

पुरस्कार कार्यक्रम ३ वर्षका लागि लागू गरिएको र पछि पुनः विस्तार गर्न सकिने जनाइएको छ । विद्यार्थी समूहले दोस्रो र तेस्रो वर्षमा तयार गरेका उत्कृष्ट प्रोजेक्ट छनौट गरी पुरस्कार प्रदान गरिने छ । दोस्रो वर्षको उत्कृष्टलाई २० हजार रुपैयाँ र तेस्रो वर्षको उत्कृष्टलाई ५० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै इन्जिनियरिङ विभागका प्रमुख डा. मनिष पौडेलले अवार्डले प्रतिभावान युवा पुस्तामा उर्जा र प्रोत्साहन थपिनेमा आशावादी रहेको बताए । इन्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपालीले सहकार्यको सराहना गर्दै कार्यक्रम कोसेढुंगा सावित हुने बताए ।

प्रिक्साका कम्पनी व्यापार प्रवद्र्धन विभाग प्रमुख प्रयागराज कोइरालाले यस्ता कार्यक्रमलाई आगामी दिनमा बढावा दिँदै सहकार्य अगाडि बढाउने बताए । 

असार २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस