‘नेपाल भूमि ताक्नेका विरुद्ध शक्ति लाग्दछ’

असार २३, २०७५

‘कविता’ पद्यात्मक वा लययुक्त रचना हुँदा पाठकले बढी रसिलो मानी पढेको, सुनेको देखिन्छ । छन्दोबध्द कविताका नियम हुन्छन् त्यसैले कविको भाव खज्मजिने भय हुन्छ भन्ने तर्क गद्य कविताका लेखक र पाठकहरूबाट आउन सक्छ । तर छन्दमा दख्खल राख्ने कविहरू यस्तो मान्यतालाई उतिसारो महत्व दिँदैनन् । किनभने तिनले छन्दमै रसिला भाव र कसिला सन्देश सम्प्रेषण गर्न सिकेका हुन्छन् ।

समालोचक यदुनाथ खनाल लेख्नुहुन्छ : ‘कवितामा छन्दको प्रयोग नगरे पनि विशिष्ट लयात्मकताको आवश्यकता रहन्छ ‍’। थपमा खनालको कथन छ, कविता अखबार पढे झैं खरर पढेर बुझिने रचना होइन; यसमा थप मेहनत चाहिन्छ र त्यसमै पाठक हुन पाउँदाको आनन्द समेटिन्छ ।


ADVERTISEMENT

एक बार सब लौ मिलि हालौं,

शक्ति संचय गरौं अनि थालौं,

बाँकि कार्य बहुतै छन गर्ने ,

के यसै लडिभिडीकन मर्ने ?

कवि धरणीधर शर्मा कोइरालाले सात सालताका लेखेको ‘सत्याग्रह’कविताभित्रका यी लहर २०४९ सालमा प्रकाशित जगन्नाथ शर्मा त्रिपाठीको अनुसन्धानात्मक ग्रन्थमा भेटिन्छन् ।

छन्द र लयसम्बन्धी माथि चर्चित अवधारणा र कवितासित परिचित भैसकेपछि अक्षरकर्मी आफ्नो हातमा परेको ‘जीवन चेतना’ कवितासङ्ग्रहको प्रसङ्ग कोट्याउन चाहन्छ । पण्डित यज्ञराज ओझा (वि.सं. १९९०—२०७२) को ‘मेरो देश’ कवितामा परेका यी लहरले दिने स्वाद मीठो र सन्देश खँदिलो छ:---

आपत् विपदका बेला शिवको शक्ति जाग्दछ

नेपाल भूमि ताक्नेका विरुध्द शक्ति लाग्दछ ।

एकै त्रिशूल हानेर संसारै भष्म पार्दछन्

कुदृष्टिबाट हेर्नेको पक्कै संहार गर्दछन् ।।

कवि यज्ञराजको यस अभिव्यक्तिले राष्ट्रियताको बारेमा नेपाली कति संवेदनशील हुन्छन् त्यसको झलक प्रदान गर्दछ । नेपाली आखिर नेपाली हुन् चाहे ती पूर्वोत्तरको ताप्लेजुङका किसान हुन् वा सुदूर पश्चिमको डोटीका शिक्षक हुन् । बालकृष्ण समले भने झैं, ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’।   

डोटी जिल्लाको सिलगढी बजार जन्मस्थल भएका पं. यज्ञराज ओझाको मूलघर सोही जिल्लाको मौवा गाउँ हो । उहाँका भाइ डा. एकराज ओझाले विवेच्य पुस्तकको प्रकाशकीयमा दिनुभएका जानकारी हेर्दा यज्ञराजले आफ्नो जीवनको अधिकांश समय अध्ययन र अध्यापनमा बिताउनु भएको देखिन्छ । भारत हरिद्वारस्थित् पालिवाल ब्राह्मण विश्वविद्यालयमा संस्कृततर्फको औपचारिक शिक्षा लिएपछि मौवा फर्केर आफ्नो गाउँको एकमात्र शैक्षिक संस्था ‘भाषा पाठशाला’ प्रधान अध्यापकको जिम्मेवारी सम्हाल्दै शिक्षण सेवामा प्रवेश गर्नुभयो । त्यसपछिका तीन दशकमा पं.यज्ञराजले त्यस भेगका ठूलो संख्यामा रहेका बाल-बालिकाको शैक्षिक जग बसालिदिनु भयो । पछिल्लो समय उहाँ धनगढी (कैलाली) को बासिन्दा हुनुभयो ।

चित्रकला, छायाचित्रकला (फोटोग्राफी) र सुन्दर हस्ताक्षरका लागि परिचित र प्रशंसित यज्ञराज असंख्य शिष्यहरूबीच श्रध्देय ‘गुरुजी’ बाट परिचित हुनुहुन्थ्यो । तथापि उहाँको ज्ञान र रुचि औपचारिक शिक्षाले निर्देशित गरेको बाटोमा सीमित रहेन । खेतिपाती र पकाइ-तुल्याइको काममा पनि उत्तिकै जाँगर चलाउने ‘गुरुजी’को वागवानीमा (वनस्पति) मा विशेष अभिरुचि र दक्षता रहेको पुष्टि ‘कुनै जडिबूटी देख्नासाथ तत्सम्बन्धी संस्कृत श्लोक भन्दै अर्थ्याउनु हुन्थ्यो’ भन्ने कृषिविज्ञ भाइ एकराजको कथनबाटै हुन्छ । पुस्तकको अन्तिम खण्डमा राखिएका तस्बिरमध्ये एकले पं.यज्ञराजलाई मूर्तिकलाका पारखी रचनाकारको रूपमा पनि चिनाउँछ ।

चर्चित कविता सङ्ग्रहमा ‘जीवन चेतना’ का अतिरिक्त ५५ वटा कविता समावेश छन् ; तीमध्ये केही संस्कृत जलप लागेको हुनाले बढी चित्ताकर्षक छन् । नैतिक सन्देश, पीपलको महिमा, सत्यं शिवं सुन्दरम्, नेतृत्वका गुण-दोष, खै कर्तव्य कहाँ छ ? पठनीयमध्येका केही रचना हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभाका सदस्य वासुदेव पाण्डेयले आफ्नो मन्तव्यमा उध्दृत गरेको (पं. यज्ञराजले जीवनको उत्तरार्ध्दमा लेखेको) अनुष्टुप् छन्दको कवितांश यसरी अघि बढ्दछ:--

आफ्‌नो शरीरको दु:ख आफैंले भोग्नुपर्दछ ।

चाँडै नै मर्न पाइयोस् भन्ने यै मात्र सोच छ ।।

                    -----------

यसै कविताको अलि तलका लहरमा पोखिएका भाव अक्षरकर्मीले निकै घतलाग्दो पाएको छ :---

तीतो सत्य पनि बोल्छ, मीठो असत्य बोल्दछ

सत्य शीतल पो हुन्छ, असत्य दिल पोल्दछ ।

सत्यको फल हाँसो हो, असत्य-फल आँसु हो

हाँस्न छोडेर के रुन्छौ ? नेपाली दाजुभाइ हो ।।

‍-----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

कृति: जीवन चेतना (कविता सङ्ग्रह)

कृतिकार : पं. यज्ञराज ओझा

प्रकाशक: विनायक पुस्तकालय, मौवा नगरदह, डोटी

संस्करण: पहिलो; २०७४ मंसिर

पृष्ठसंख्या: १४८+

मूल्य :

असार २३, २०७५ मा प्रकाशित

अक्षरकर्मी

अक्षरकर्मी ‘लोकान्तर’का पुस्तक समीक्षक हुन् ।
 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस