माइतीघर मण्डलामा कांग्रेसको अन्तिम छटपटी

असार २४, २०७५

सबैभन्दा पहिला दुई अनुच्छेदमा मेरा पीडा

गत जेठ १८ गते मेरो ६ हजार नेपाली रुपैयाँ क्षणभरमै चट भयो । सबैलाई थाहा छ, त्यो ६ हजार रुपैयाँ कमाउन ६ दिनसम्म हाड र छाला छुट्टिनेगरी घोटिए पनि सम्भव छैन यो मुलुकमा । आजभोलि माइतीघरको बाटो भएर सवारीयात्रा गर्दा खनखनी गनेर बुझाएको त्यही ६ हजारको याद आउँछ । शायद त्यो दिन माइतीघर मण्डलामा १७ मिनेट जाम नभएको भए जम्मा पाँच मिनेट नपुगेका कारण कोठामै फर्कनुपर्ने थिएन । 


राज्यका दमनप्रति जनतालाई विद्रोह गर्ने अधिकार छ । तानाशाही प्रवृत्तिका प्रति जनता जुलुस गर्न सक्छन्, धर्ना दिन सक्छन्, घेराउ, प्रदर्शन, हडताल गर्न सक्छन् । त्यो नैसर्गिक अधिकारको कुरा हो । तर माइतीघर मण्डलाको सन्दर्भमा, इन्जिनियरहरूलाई सोध्नुहोस्, वातावरणविद्हरूलाई सोध्नुहोस्, शहरी विकासका घागडान बुद्धिजीवीहरूलाई सोध्नुहोस्, र सबैभन्दा महत्त्वपूर्ण कुरा त मलाई नै सोध्नुहोस् । यो प्रदर्शनका लागि उपयुक्त स्थान हुँदै हैन ।

माइतीघर मण्डला कसको बिर्ता ?

नेविसंघका एकजना पुराना मित्र थिए मेरा । हाल उनी अमेरिकामा छन् । प्रेमिकालाई डीभी परेपछि अमेरिका हान्निएका थिए । अहोभाग्य भनौं, अमेरिका पुगेपछि तिनले पछाडि फर्कनुपरेको छैन । पहाडी दुःखका दिनलाई पशुपतिकै चरणमा विश्राम दिएर तिनी अमेरिका गएका थिए । हामी सँगै हिन्थ्यौं तिनताका । नेपाली कांग्रेसका ठुटे नेतालाई बाटोमा भेट्दा ती बडो फुर्तीका साथ ‘जय नेपाल, काका’ भन्थे । चियापानी र बीयरको जोहो गर्न सिपालु थिए ती ।

अस्ति साँझ तिनै मित्रले आफ्नो फेसबूकमा निकै ठूलो पीडाका शब्दहरू क्रमशः लेखे । यति ठूलो पीडा मानौं कि यो पीडा सहन नसकेर तिनले एकहप्तादेखि दालभात र लौकाको तरकारी खान छाडेका छन् । एकबारको जुनीमा उनको सम्पूर्ण जायजेथा नै हडपिए जसरी लेखे, ‘माइतीघर मण्डला कसैका बाउको निजी जग्गा हैन, सार्वजनिक स्थानमा बन्द हडताल गर्न पाइँदैन भने तिनका टाउकोमा गएर आन्दोलन गर्नु ?’

हो, माइतीघर मण्डला आमाको जिउनी जग्गा नि हैन । हाकिमले इमान्दार कामदारलाई बक्सिसबापत दिएको जमीन पनि हैन माइतीघर मण्डला । तपाईंहरूलाई अवगत नै होला, कुनै जमानामा राजाले हुकुम प्रमाङ्गीको आदेश दिएर राजपरिवारको चाकडी बजाएका थुप्रै आसेपासेहरूलाई देशभरिका राम्रा–राम्रा जमीनहरू सुम्पिए । नापी आएर नापेर दिने जमीन दुःखी पीडितको नाममा कहिल्यै परेन । हो, माइतीघर मण्डला हुकुम प्रमाङ्गीबाट भने जोगिएकै हो ।

त्यसैले माइतीघर मण्डला जनताको बिर्ता हो । तर ती मित्रको समग्र चेतनाको स्तर धराशायी बनेको विद्यार्थी आन्दोलनले गाँजेको थियो । नेपालको विद्यार्थी आनदोलनको जग भनेकै टायर बाल्ने, रेलिङ भत्काउने, मान्छे कुट्ने र शिक्षा व्यवसायीहरूबाट पैसा असुल्ने हो ।  माइतीघर मण्डला जस्तै अमेरिकामा हजारौं खाली चौर र पार्कहरू छन् । ती कति सुन्दर छन् । घुम्ने, रमाउने, फोटो खिच्ने ठाउँ हुन् । तिनले तिनै पार्कहरूमा उभिएर ‘फिलिङ् ह्याप्पी’ का थुप्रै सेल्फी खिचेका देखिन्छन् । माइतीघर मण्डला चाहिँ किन सधैं ‘फिलिङ स्याड’ हुनुपर्ने ?

कांग्रेसलाई रुदाली चाहियो

जिन्दाबाद र मुर्दाबादको लिगेसीमा हुर्किएको कांग्रेसका मान्छेहरू धेरै पढेलेखेका छन् किनभने पातेबुंगाहरू क्रान्तिकारी हुने कुरा आएन

भारतको राजस्थानमा एउटा अचम्मको चलन छ । परिवारका सदस्यको मृत्यु भएमा तिनका आफन्त र शुभेच्छुक त रुन्छन् नै, तर रुनकै लागि भनेर ज्यालामा थुप्रै महिलाहरू पनि खोजिन्छन् । अनि ती महिलाहरूले मृतक परिवारको दुःखी आगनमा भाडाको हजारौं थोपा आँसु खसाल्छन् । तिनीहरू जोरजोरसँग रोइदिन्छन् । विचार र मार्गदिशाबाट च्युत भइसकेको कांग्रेसलाई यतिखेर भाडाको रुदाली चाहिएको छ । ती जोसुकै हुन् तर एकखेप माइतीघर मण्डलामा पुगिदिनुप–यो ।  

जिन्दाबाद र मुर्दाबादको लिगेसीमा हुर्किएको कांग्रेसका मान्छेहरू धेरै पढेलेखेका छन् किनभने पातेबुंगाहरू क्रान्तिकारी हुने कुरा आएन । ती प्रजातान्त्रिक नै हुन्छन् । तिनले राज्यको ढुकुटीमा देश, विदेश घुमेका छन् । कम्तीमा तिनीहरूलाई यो कुरा थाहा हुनुपर्ने हो कि विकसित देशहरूमा जहाँसुकै सुन्दर पार्कहरू छन्, जहाँतहीँ थुक्न पनि पाइन्न । ती पार्कहरू आन्दोलन हैन, आनन्दका लागि बनाइएका हुन्छन् । ती पार्कहरूमा मैनबत्ती जलाउन कोही जाँदैनन् । 

हामी सबैलाई थाहा नै छ, काठमाडौंमा श्वास फेर्नका लागि समेत खाली जग्गा छैन । हाम्रा बालबच्चा र नानीहरू रमाउने पार्क छैनन् । यसो साथीभाइ मिलेर फूलबारी हेर्दा साउती मार्ने बगैंचाहरू छैनन् । भएको टुँडीखेल पनि सेनाले हडपेर सकिसक्यो । तिनलाई खाली ठाउँ देख्नै हुन्न । सेना जग्गा व्यापारी भएको छ । के भएको हो यस्तो यो देशमा ? बाँकी छ एउटा माइतीघर मण्डला ।  त्यहाँ पनि कांग्रेसका र साझा विवेकशील दलका ठुटे नेताहरू टाउकोमा कागज टाँसेर हिँड्छन् ।  के यो अचम्मको कुरा हैन ?

जामको जंक्सन नबनोस् मण्डला

केहीथान युवाहरू निधारमा चारतारे झण्डा बोकेर माइतीघर वरिपरि उफ्रिरहेका छन् । तिनको माग अजीब छ । तिनका सभापति शेरबहादुर देउवा अनि हुन नसकेका प्रधानमन्त्री रामचन्द्र पौडेल एकाएक जागेका छन् । उनीहरू यस्तो व्यवहार देखाइरहेका छन् मानौं कि माइतीघर मण्डलाको निर्माण केशव स्थापितले गरेका हैनन्, रामशरण महतले गरेका हुन् । यिनले निर्माण गरेको सार्वजनिक सम्पत्ति नाश हुँदा यिनलाई पीर परेको छ । तर त्यस्तो हैन, सत्य कुरा के हो भने अधिकारको नाममा जनतालाई सास्ती दिने काम मात्रै भइरहेको छ ।

माइतीघर मण्डला यस्तो स्थान हो, जहाँ आकाशे पुल वा सुरुङ मार्ग निर्माण गरेर सडकलाई सहज बनाउनुपर्ने मुख्य जंक्सन हो । चारैतिरका सवारीसाधनहरू त्यहाँ थुप्रिन्छन् । सामान्य नागरिकदेखि कूटनीतिक नियोगमा मानिसहरू, भीआईपी, भीभीआईपीहरू त्यही बाटो भएर यात्रा गर्छन् । तर कतै छिस्स केही भयो कि त्यहाँ मैनबत्ती बलिहाल्यो । कताकताबाट जम्मा भएका मानिस प्लेकार्ड उचालेर टुप्लुक्कै पुगिहाल्छन् । 

विरोध, धर्ना, जुलुस गर्न पाउने हरेक नागरिको अधिकारको कुरा हो । विद्रोह गर्न पनि सक्छ जब राज्यका दमनहरू जायज हुँदैनन् भने । तर माइतीघर मण्डलाको सवालमा के हो भने त्यो सरकारलाई दबाब पर्ने कुनै संवेदनशील ठाउँ पनि हैन । हजारौं आन्दोलनकारीहरू थेग्न सक्ने हुती पनि छैन माइतीघर मण्डलासँग, वास्तवमा त्यो ठाउँ आन्दोलन र धर्नाका लागि कुनै पनि दृष्टिकोणबाट सही छैन । बरू यात्रुहरूलाई सास्तीको सजाय दिलाएको छ ।  

कांग्रेसको अन्तिम छटपटी

शेरबहादुर देउवाको अकर्मण्यता, अदूरदर्शी राजनीतिका कारण विशाल पार्टी नेपाली कांग्रेस सम्भवतः विलयको संघारमा उभिएको छ । अब यहाँभन्दा अघि बढ्नका लागि कांग्रेससँग कुनै विचारको मार्ग छ जस्तो लाग्दैन । विचारको प्रश्नमा कांग्रेस च्युत भइसकेको छ । जुन पार्टीको सभापति चुनावमा हारको जिम्मा लिन मान्दैन र वंशीय शासक जस्तो पदमा गजधम्म परेर बसिरहन्छ, त्यो पार्टी चलायमान हुन सक्दैन । हो, कांग्रेस यतिखेर मुच्र्छित अवस्थामा छ ।

साझा विवेकशील दलका नेताहरूलाई कांग्रेसका केटाकेटीहरू आशाभरोसा छ, कांग्रेसका म्याद सकिएका नेताहरूलाई विवेकशीलको सहारा छ । माइतीघर मण्डला होस् वा गंगामाया प्रकरण यिनिहरू हलगोरु जस्तै नारिएका छन्

चुनावको पराजयपश्चात् हीनताबोधको राजनीतिमा रमाइरहेको कांग्रेस सच्चिनका लागि अब वामपन्थी शक्तिलाई गाली गरेर हुँदैन । एकपटक आफैंलाई गाली गर्नुपर्छ । यति धेरै गाली गर्नुपर्छ कि आफैंलाई गाली शिरोमणिका सबै गालीहरू सकिऊन् । शब्दकोषमा गाली दिन बाँकी कुनै शब्द नभेटियोस् । यति धेरै गालि गर्नुपर्छ आफैंलाई कि सारा संसारभरिका गालीहरू सिद्धिऊन् । वास्तवमा तिनीहरू गालीका भागीदार छन् जसले कांग्रेसको नाम इतिहासको पानामा कैद गर्दैछन् ।

एउटा मात्रै उदाहरण हिजोआज गंगामाया अधिकारी र गोविन्द केसीको विषयमा कांग्रेसले निकै चर्का कुरा गर्न थालेको छ । यिनीहरूलाई विवेकशील नेपालीको साथ पनि छ । अर्थात् यिनीहरूको आन्दोलन एकअर्काको भरोसामा टिकेको छ । साझा विवेकशील दलका नेताहरूलाई कांग्रेसका केटाकेटीहरू आशाभरोसा छ, कांग्रेसका म्याद सकिएका नेताहरूलाई विवेकशीलको सहारा छ । माइतीघर मण्डला होस् वा गंगामाया प्रकरण यिनिहरू हलगोरु जस्तै नारिएका छन् । 

नेपाली कांग्रेस यतिखेर लोकतन्त्रको रक्षाका लागि निस्केको भन्छ । राजदूतहरू नियुक्ति गरेर करोडौं हसुर्ने पावरबाट निस्केपछि यिनीहरूलाई लोकतन्त्रको चिन्ता लागेको छ । विमानस्थलबाट किलोका किलो सुन अवैध रूपमा भित्रिएको सूचना सब यिनको कानमा परेको थियो, कैयौंलाई थोरबहुत मिलेको पनि थियो । तर कांग्रेस लोकतन्त्रको रक्षाका निम्ति लडिरहेकै छ ।

२००७ सालको साहुब्याज कति खाने हो यिनीहरूले ? बीपी महामानव थिए, तर बीपीको नाम बेचेर कति दिन ढाँट्ने हुन् यिनीहरूले ? कति दिनसम्म पदमा रहँदा एउट हर्कत, पदबाट निस्केपछि अर्को हर्कत देखाउने हुन् ? सरकारमा रहँदा देउवाले एनआरएनका ठुटे नेताहरूको पैसा हसुर्ने समयमा गंगामायाका लागि न्याय दिलाएको भए के हुन्थ्यो ? आज किन एकाएक गंगामायाका आँसु देखेका छन् यिनीहरूले ?

गोविन्द केसीको अनशन कुनै नयाँ र नौलो विषय हैन । हिजो पनि यी डाक्टर आन्दोलनमा थिए, आज पनि छन् र भोलि पनि रहिरहनेछन् । तर सवाल के हो भने कांग्रेस सत्तामा भएको बेला मेडिकल माफियाहरूलाई भटाभट कारबाही गर्न सक्थ्यो, आखिर किन गरेन ? सेवामूलकका नाममा जनतामाथि ब्रह्मलुट मच्चाउने दलालहरूको लाइसेन्स खारेज गरिदिन पनि सक्थ्यो तर किन गर्न सकेन त? 

शायद यी तमाम प्रश्नहरूको चित्तबुझ्दो जवाफ रामचन्द्र पौडेल काकाले मात्रै दिन सक्छन् । 
 

असार २४, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस