जापानमा बाढीबाट १ सय ५६ जनाको मृत्यु

असार २६, २०७५

टोकियो – जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मंगलबार बिहानसम्म १ सय ६५ जनाको मृत्यु भएको छ । 

जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गरेका छन् । सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या १ सय पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले जनाएको थियो । तर, मंगलबार बिहानसम्ममा थप ५६ वटा शव प्राप्त भएपछि सो संख्या बढेर १ सय ५६ पुगेको हो ।


अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकाले उद्दार कार्य सूचारु गर्न सकिएको छैन । प्रकोपमा परी अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।

मौसमविद्ले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो । 

हराएकाको खोजी तथा उद्दार कार्यमा हजारौं सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ । 

जापानको राजधानी टोकियोदेखि ६ सय किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ ।

असार २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस