९० मिनेटको रोमाञ्चक खेलमा इङ्ल्याण्ड र क्रोएशियाबीच बराबरी

असार २८, २०७५

काठमाडौं– विश्वकप फुटबलको फाइनल प्रवेशका लागि  इङ्ल्याण्ड र क्रोएशियाबीचको ९० मिनेटको खेल बराबरीमा सकिएको छ । योसँगै खेल अतिरिक्त समयमा पुगेको छ ।  पहिलो हाफको खेल सकिँदा इङ्ल्याण्डले अग्रता लिएकोमा दोस्रो हाफको १८ औं मिनेटमा क्रोएशियाले गोल फर्काएसँगै खेल रोमाञ्चक बन्न पुग्यो । क्रोएशियाका इभानले बराबरी गोल गरेका हुन् । 
यसअघि खेलको ५ मिनेटमै इङ्ल्याण्डले अग्रता लिएको थियो ।  इङ्ल्याण्डका खेलाडी केइरनले फ्रिकिकमार्फत गोल गरेका हुन् ।  
सेमीफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङ्ग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भएको थियो । 
क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रसियालाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको थियो भने इङ्ग्ल्याण्डले स्विडेनलाई २–० ले पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । 
सन् १९९८ को विश्वकपमा प्रवेश गरेको क्रोएसिया त्यतिबेला नै सेमीफाइनलसम्म पुगेको थियो । त्यसयता क्रोएसिया सेमीफाइनलमा पुग्न सकेको छैन । विश्वकपमा क्रोएसियाले दोस्रो पटक सेमीफाइनल खेलेको हो । 
सन् १९९० मा पछिल्लो पटक सेमीफाइनल खेलेको इङ्ग्ल्याण्ड सन् १९६६ को विश्वकप विजेता हो भने इङ्ग्ल्याण्डको यो तेस्रो सेमीफाइनल खेल हो । 
विश्वकपमा क्रोएसिया र इङ्ग्याण्ड पहिलो पटक भिड्न लागेको हो । यसअघि सन् २००४ को भएको युरोकपमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो । 
यी दुई टोलीले अहिलेसम्म सात खेल खेलेकामा इङ्ग्ल्याण्डले ४ खेल जितेको छ भने क्रोएसियाले दुई खेल जितेको छ । मंगलबार भएको पहिलो सेमीफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ ।
यी दुई टोली क्रोएसिया र इङ्ग्लयाण्डबीचको विजेताले फाइलनमा फ्रान्ससँग खेल्नेछ ।

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस