नयाँ 'महन्त'हरूको घेराबन्दीमा मधेश : जनप्रतिनिधिको भेषमा व्यापारीको बोलवाला !

साउन ७, २०७५

मधेश संघीय नेपालको संरचनाभित्र एक भूखण्ड रहेको आम नेपालीलाई थाहा छ । तर उक्त वास्तविकताभन्दा भिन्न छ मधेशभित्र मधेशको पहिचान ।

राजनीति समाज रूपान्तरणको बाहक रहेको कयौं उदाहरण छन्, तर सिद्धान्त विपरीत मधेशको राजनीति शक्तिशाली समूह र व्यक्तिकेन्द्रित देखिन्छ । मधेशी भाषामा प्रायः ‘महन्त’ त्यस्ता व्यक्तिलाई भन्ने गरिएको छ, जो आर्थिक र सामाजिक रूपमा सक्षम हुन्छन् । व्यापारी र सामन्तको भूमिकामा रहने महन्तहरू मधेशभित्र राजनीतिमा पनि उत्तिकै प्रभावशाली छन् ।


ADVERTISEMENT

हिजोआज मधेशभित्र अधिकारको लडाईंको नारा विभिन्न राजनीतिक र सामाजिक  मञ्चमा सुन्न सकिन्छ । राजनीतिकरूपमा हामी मधेशी कमजोर रहेको निष्कर्ष त्यहाँबाट आउने लगभग सुनिश्चित नै हुन्छ ।

मधेशका महन्त शीर्षकले आज तिनै कमजोर राजनीतिक व्यवस्था र राजनीतिक व्यक्तित्वलाई सतहमा ल्याउने प्रयास गर्नेछ । राजनीतिभित्र फरक मत हुनु लोकतन्त्रको एक सुन्दर पक्ष हो । तर देशको अखण्डतालाई नै खल्बलाउने गरी जन्मिएको फरक मत स्वार्थपूर्ति र सदैव शक्तिशाली बनिरहने खेल हो । यसले गर्दा आज समस्त राष्ट्र नै दोधारमा परेको अवस्था छ । 

अधिकार र पहिचान दुवै पक्षमा कमजोर रहेको मधेश आज भ्रष्ट नेता र तिनका अनुयायीहरूको चेपुवामा परेको छ । एकतिर अधिकारको लडाइँको नाममा कयौं निर्दोष र कमजोर जनतालाई उचालेर आन्दोलनमा मारेका छन् भने अर्कोतिर सरकार गठन हुनासाथ आफ्नो घरपरिवार  लगायत  अनन्य मित्रलाई राजनीतिक सेवासुविधा दिँदै आएका छन् ।

मधेश आज एउटा यस्तो बाटोमा आएर उभिएको छ जहाँ परिवर्तनका सबै मार्गमा सम्भावना भन्दा बढी चुनौती देखिन्छ ।

मधेशसहित देशमा भएको चुनावमा वाम गठबन्धनले जीतको नयाँ कीर्तिमान बनायो भने मधेशभित्र २०६३ सालझैं मधेशवादी राजनीतिक दलको वर्चश्व कायम रह्यो । 

जनतामा उत्साहको तरंग थियो किनभने राजनीतिले निकासको बाटो खोज्दै थियो, तर आमनागरिकमा रहेको उत्साहले मूर्तता पाएन ।

आन्दोलनका क्रममा जब सर्वसाधारण मृत्युको भय र दैनिक उपभोगका सामग्रीका लागि संघर्ष गर्दै थिए त्यति नै बेला राजनीतिक दलका नेता/कार्यकर्ताहरू कालोबाजारीमा व्यस्त थिए । 

देशभित्र अधिकारको लडाइँ लडिरहेको मधेश आफू भने समावेशी हुन सकिरहेको छैन । कमजोर वर्गको वकालत गर्ने महन्तहरूले आफ्नो छोराछोरी, नातिनातिनी, ज्वाइँ, सम्धी र अनन्य मित्रहरूलाई आफूले लगानी गरेको समय र पैसा उठाउन राजनीतिक नियुक्ति दिन थाले ।

मधेशभित्र उठेको अधिकार को लडाइँको आवाज आज बन्द कोठामा हुने बलात्कार जस्तै लाग्छ । जसले समाजभित्र रहेको गलत पक्षलाई उजागर त गर्छ तर त्यस्ता गलत पक्षलाई सुधार गर्न कानून र नीति बनाउँदैन ।

हिजोसम्म देशले अधिकार खोस्यो भनेर हल्ला गर्दै हिँडेका महन्तहरू आज सुनको महल बनाउन व्यस्त छन् । चुनावी प्रक्रियालाई नै गलत भन्दै कहिले चुनावमा सहभागी नहुने भन्ने नेताहरू आज सरकारका समर्थक र साझेदार बनेर बसेका छन् ।

लोकतन्त्रको मर्म विपरीत अझै मधेशभित्र परिवारवाद हावी रहेको उदाहरण हेर्ने हो भने मधेशवादी दल नमूनाका रूपमा प्रस्तुत भएका छन् । हिजोसम्म जनताले हक अधिकार पाएनन् भनेर हिँड्ने  नेताहरूले आज आफ्नै सरकार र चयनसम्म समावेशी बनाउन सकेका छैनन् । कानून निर्माणजस्तो गम्भीर विषयमा विवादित रहेर केन्द्र सरकारसँग भिड्दै गरेको प्रदेश सरकार विखण्डनकारी व्यक्ति र शक्तिलाई कानून निर्माणको जिम्मेवारी दिएर बसेको छ । 

कानून निर्माणको अभिप्राय मजबुत आन्तरिक व्यवस्थापन हुन्छ, तर प्रदेश भित्रको सरकारले गैरजिम्मेवार र विदेशी लगानीमा अघि सारेका गैरसरकारी संस्था चलाउने व्यक्तिहरूलाई कानून निर्माण गर्ने अवसर प्रदान गरेर अघि बढेको प्रस्ट देखिन्छ ।

मधेशभित्र रहेका राजनीतिक दल आन्तरिक भागबण्डा मिलाउन व्यस्त छन् भने उक्त भागबण्डाका दाबेदार कार्यकर्ताहरू प्रायः जसो नैतिकरूपले समाजभित्र कमजोर छविका व्यक्तित्वहरू छन् । मधेश आन्दोलनको मुख्य उद्देश्य हेर्दा र बुझ्दा धेरै भिन्न रहेको वास्तविकता बाहिर आउँदा आम सर्वसाधारणमा आफ्नो चयनप्रति क्रोध र घृणा बढ्दै गएको छ ।

मधेशभित्र आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इमान्दारीपूर्वक आफ्नो काम गरे ५० प्रतिशतभन्दा बढी जनप्रतिनिधिहरू सजायका भागिदार बन्नेछन् । जनप्रतिनिधि नेताभन्दा बढी महन्त र व्यापारीको छवि बनाउन सफल भएका छन् ।

आन्दोलनका क्रममा जब सर्वसाधारण मृत्युको भय र दैनिक उपभोगका सामग्रीका लागि संघर्ष गर्दै थिए त्यति नै बेला राजनीतिक दलका नेता/कार्यकर्ताहरू कालोबाजारीमा व्यस्त थिए । 

आन्दोलनको असर कम भए आफ्नो व्यापार समाप्त हुने डरले तिनै नेता कार्यकर्ताले अनैतिक काम गरे । यसरी आमजनता कमजोर भइरहेको बेलामा मधेशभित्र कयौं नयाँ महन्तहरूको जन्म भयो । 

गैरकानूनीरूपले कमाएको त्यही सम्पतिले चुनाव जितेर आउँदा ती जनप्रतिनिधिहरू यतिसम्म बलियो भइसकेका थिए कि पत्रकारलगायत निष्पक्ष रहेका नागरिक समाजका अगुवाहरूलाई ज्यान मार्ने धम्की समेत दिने थाले ।

मधेशभित्र आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इमान्दारीपूर्वक आफ्नो काम गरे ५० प्रतिशतभन्दा बढी जनप्रतिनिधिहरू सजायका भागिदार बन्नेछन् । जनप्रतिनिधि नेताभन्दा बढी महन्त र व्यापारीको छवि बनाउन सफल भएका छन् भने विकासका कामकाज गुणस्तरहीन हुँदै गएको छ ।

समाजको विकासभन्दा आफ्नो निजी कामकाजमा लागेका यी जनप्रतिनिधिहरू वास्तविकरूपमा एउटा कमजोर राज्य व्यवस्था र कानूनका फाइदा उठाएर बसेका छन् । मधेशमा निकटम भविष्यमा ठूलो संकट आउनबाट जोगिन यी नकारात्मक व्यक्ति र समूहविरुद्ध खुलेरै लाग्नुको विकल्प मधेशी जनतासँग छैन । 

आज आवाज उठाउन हामी पछि पर्‍यौं भने भोलि देश आर्थिक संकटमा पर्ने र गृहयुद्धमा फस्ने सम्भावना बढ्दै जानेछ । मधेशका महन्त बलियो हुँदै गए भने भोलिको मधेशको भविष्यमात्र होइन देशको भविष्य नै संकट पर्नेछ ।

साउन ७, २०७५ मा प्रकाशित

कुन्दनकुमार झा

झा मधेशमा रहेर समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस