धर्तीको माया (कविता)

साउन २२, २०७५

कृष्णमणि पराजुली

शायद म नजन्मिएको भए
यो धर्तीको मलाई पटक्कै माया हुन्थेन होला
शायद धर्तीको पनि माया हुन्थेन होला
त्यसैले आज
धर्ती र म उस्तै उस्तै
कसैले कसैलाई माया नगरे जस्तो हुन्थ्यो होला ।
तर यो कल्पना मात्र हुन सक्छ,
मलाई त मेरो धर्तीको असाध्यै माया लाग्छ
पर्ल एस बकले लेखेको भन्दा पनि, 
प्यालेस्टाइनको भूमि भन्दा पनि,
आफ्नै देवनारायणहरूको बलिदान भन्दा पनि ।
परार साल एउटा खुट्टा उतै छोडेर आएको धनबीरे,
पोहोर साल एउटा आँखा गुमाएर फर्किएको हर्के, र
अहिले रोगै रोग पालेको लुरे पनि
यही धर्तीलाई सम्झी सम्झी आएका छन् ।
धनबीरे, हर्के र लुरे मात्र होइनन्
यहाँ त अनगिन्ति छन्,
धेरैमध्येको म पनि हुँ
म पनि हुँ ।
झारपातले बुनेको घरलाई 
आकाशमा कावा खाँदै गरेका चराहरू पनि
आफ्नो गुँड सम्झी
फर्किएका देख्दा
मनै झसंग भएर आउँछ
मेरो धर्तीलाई स्मरण गर्दा ।
चरा भएपनि अहिले उडुँ उडुँ लाग्छ
तर मेरा पखेटा छैनन्
त्यसैले अहिले मलाई
चरी हुन असाध्यै मन लागिरहेछ
मेरो धर्तीलाई चुम्बन गर्न
चुम्बन गर्न ।
अतीतका कुरा सम्झँदा
मलाई असाध्यै घृणा लाग्दछ,
ठूले साउले मेरो सानो धर्तीलाई
क्वार्लाम्म पा–यो रे,
बाँकी एक छेउ पोहोर सालको बाढीले 
लग्यो रे
खै कुन्नि एक छेउ बाँकी भएको पनि
सबै मिलेर लुछाचुँडी गरे रे,
त्यसैले मेरो धर्ती पनि तिनै पाखण्डीको
हातमा पुगेछ, ।
शायद मेरो धर्तीले मलाई खोजिरहेछ
बाटो हेरिरहेछ ..........
बाटो हेरिरहेछ ।

खै, अब मेरो धर्तीले माया मारेछ,
त्यसैले गुँड भत्किएको चरा जस्तो लाग्छ,
फेरि अब मैले मेरो धर्ती बनाउनुछ,
बनाउनुछ ।
 

साउन २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार