विदेशमा रहेकी छोरीलाई नेपालबाट बुवाको मार्मिक पत्र

साउन २३, २०७५

प्रिय छोरी !

तिमी र म धेरै टाढा छौं । तिमी जन्मिएको मेरो देश नेपालभन्दा तिमी हजारौं माइल टाढा छौ । टाढा भएपनि विश्वमा विकास भएको इन्टरनेटले नेपालमा भएका घटनाहरूको छिनछिनमा तिमीलाई जानकारी भएकै हुनुपर्दछ । तैपनि एउटा माया गर्ने बाबुको नाताले आफूले देखेका, सुनेका कुरालाई चिट्ठीको रूपमा तिमीलाई पठाएको छु । यो प्रतिनिधिमूलक मात्र हो । मजस्ता बाबु र तिमीजस्ता छोरी धेरैधेरै छन् । ती सबैको भावनालाई समेटेर यो चिट्ठी तिमीलाई लेखेको हुँ । तिमीजस्ता छोरीहरू सबैको मनमा धेरै कुराहरू खेलिरहेका होलान् ।


ADVERTISEMENT

तिमी परिपक्व भइसकेकी छौ । राम्रो शिक्षा पनि पाइसकेकी छौ । देश विदेशका विषयमा मलाईभन्दा तिमीलाई धेरै ज्ञान भएको हुनुपर्छ । म त साधारण बाबु मात्र हुँ । मलाई मेरो देशको विषयमा मात्र केही कुरा थाहा छ । म मेरै देश नेपालमा बस्ने भएको हुँदा प्रत्यक्ष्य रूपमा मेरै आँखाले महिलाले भोग्नु परेका पीडाहरू देखेको छु । कतिपय पीडा सुनेको छु । कतिपय पत्रपत्रिकामा पढेको छु । महिलाका पीडा हिमालचुलीजस्तै चुलिँदै गएका छन् ।

यसै सन्दर्भमा टीका आत्रेयको एउटा कविताको एक हरफले मेरो मन साह्रै नै छोयो र आँखाबाट आँसु तरर झरे । सोही कारण तिमीलाई पत्र नलेखी मेरो मननै मानेन । उनले लेखेको कविता सुन्दा सबैले ताली पड्काए । ताली पड्काउनुको अर्थ खुशी भएर होइन, छोरीको बेदनालाई लिएर हो । मजस्तै धेरै बाबुहरू त्यहाँ थिए । सायद सबैको मन छोरीको पीडाप्रति तड्पिरहेको थियो । मलाई सम्झना भएअनुसार त्यो कविताको एक हरफ यस्तो थियो :–

‘छोरी जन्मिनु श्राप हो यदि भने संसार कस्को भन ?’

माथिको पंक्ति राम्रोसँग तिमीले पढ्यौ र यसको मर्म राम्रोसँग बुझ्यौ भने तिम्रो आँखाभरी आँसु टिलपिलाउनेछन् । सायद तिमीजस्ता सबै छोरीहरूलाई यस्तै भएको होला । सबै छोरीको दुस्ख, कष्ट, बेदना, पीडा समान किसिमकै छन् । हाम्रो समाजमा छोरीप्रतिको भावना कस्तो छ र व्यवहार कस्तो गरिएको छ भन्ने कुरा प्रष्ट झल्किएको छ । समाजले महिलालाई हेर्ने दृष्टिकोण एकदमै नकारात्मक छ । छोरीलाई अभिसापको रूपमा लिने, तर छोरालाई भने बरदानको रूपमा हेरिने हुँदा छोरी जन्मलिनुलाई श्राप मान्नेहरू छन् । त्यही छोरीले दश नङ्ग्रा खियाएर गरेको कमाइलाई कतिपय बाबुले आफ्नै आम्दानी ठानी पुरुषार्थी बनेका पनि होलान् । तर छोरी नभएको भए ती बाबुहरूको अवस्था के हुने थियो होला, खै बुझेका ? बुझे पनि बुझपचाइरहेका छन् । छोरी नहुने हो भने कसरी श्रृष्टिको सिर्जना हुन्थ्यो ? ती बाबुले कसरी जन्म लिन्थे ? खै ती पुरुषवादीहरूले बुझ्न सकेका । अहिलेसम्म पनि हामी पुरुषवादीहरूले छोरीहरूका पीडा बुझ्न सकेका खोइ ?

छोरीप्रति हाम्रो समाज यति निष्ठुरी छ कि छोरी भनेपछि देख्नै नसक्ने तर छोरो भनेपछि हुरुक्कै हुने । छोराले दाहसंस्कार र पिण्ड दिनै पर्ने र छोरीले भने बाबु आमाको मृत्यु संस्कारमा छुनसम्म पनि नहुने, कस्तो अन्यायपूर्ण हाम्रो धार्मिक परम्परा ?

हुन सक्दछ, दार्चुलाकी चेलीले छाउपडीको दर्दनाक पीडा सहिरहनुपरेको छ भने ताप्लेजुङकी छोरीले सासूको बुहार्तन र लोग्नेको पिटाइ खपरिहनु परेको होला । आखिर पीडा त पीडा नै हो । महिलाका सबै पीडा अमानवीय नै छन् । उनीहरूले मानवका रूपमा जिउन पाएका छैनन् । पशुलाई गर्ने जस्तो व्यवहार गरिँदै आएको छ । आजकल त पशुलाई पनि क्रुर व्यवहार गर्न नपाइने अन्तर्राष्ट्रिय आवाज उठिरहेको सन्दर्भमा नेपालमा भने आधा आकाश र आधा पृथ्वी ढाकेका महिलाप्रति जंगली अवस्थाकै व्यवहार गरिनु लाजमर्दो कुरा हो ।

यो समाजले छेरीलाई पटक्कै मन पराएको छैन । छोरी नभई नहुनेतर्फ किन ध्यान जान सकेन ? यो अहम् प्रश्नतर्फ आजको समाजको ध्यान जान नसक्नु भनेको पुरुषवादी सोचाइनै हो । छोरा जन्मिनासाथ खुशीयाली मनाउने तर, छोरी जन्मिएपछि जंगलमा उम्रिने झारपातजस्तो ठानी बन्साको मुन्टो भनी सम्बोधन गरिने हाम्रो समाजमा कहिले परिवर्तन आउला ? अहिलेसम्म पनि प्रश्न अनुत्तरित नै छ ।

छोरी,
महिनाबारी भएको समयमा देउता रिसाउँछन् भनी घरमा खान, बस्न, सुत्न र छुन नहुने भनी गाउँदेखि पर सुनसान ठाउँमा घामपानी नओत्ने कटेरामा पाँच दिन बिताउनुपर्ने कष्टकर जीवन कति दर्दनाक होला, तिमी आफैं विचार गर्न सक्छ्यौ । यो छाउपडी प्रथाका कारण कतिपय छोरीहरूले ज्यान गुमाउनु परिरहेकै छ । छाउपडी भएका बेलामा कतिपय छोरीहरू बलात्कृत भएका छन् । कतिपयलाई विषालु सर्पले टोकेर ज्यान नै गएको छ । पशुले खाने कुराजस्तो बनाएर टाढैबाट फालिदिएको चिजबिज खाएर सास धान्नुपर्ने अवस्था टर्न सकेको छैन ।

जुन छोरी आमा बनेकी हुन्छिन्, छोराछोरी जन्माएकी पनि हुन्छिन्, उनी गरीबीबाट पिल्सिएकी हुन्छिन्, उनलाई नै यो समाजले बोक्सीको आरोप लगाएर मानव मलमूत्र खुवाएको घटना घटी नै रहेका छन् । जसलाई माया ममता दिन सक्नुपर्नेमा उल्टै बोक्सीको आरोपमा अहिलेको युगमा पनि मलमूत्र खुवाएर, कुटपिट गरेर मार्नु भनेको कतिसम्मको अत्याचार ? खै कसले बुझिदिने ? कसलाई के मतलब ? समाजले नै यस्तो अमानवीय व्यवहार गरेपछि निसहाय चेलीको के उपाय ? त्यही छोरीले यो समाजमा जन्माएका पुरुषबाट यस्तो क्रुर व्यवहार हुन्छ भन्ने कुरा ती अबोध छोरीलाई के थाहा ?

हो, पुरुषप्रधान देशमा छोरीहरू विभिन्न किसिमबाट शोषित भएका हुन्छन् । आर्थिक, राजनीतिक, भौतिक, शारीरिक, मानसिक एवं साँस्कृतिक सबै रूपबाट शोषित भएकै छन् । १८/२० घण्टा घरधन्दामा समर्पण हुँदा पनि छोरीहरूले गरेको कामको लेखाजोखा गरिएको हुँदैन । जुन समाजमा छोराले गरेको सानोतिनो आम्दानीलाई उच्च मूल्याङ्कन गरिएको हुन्छ, त्यही समाजमा छोरीहरूले गरेको कामको मूल्याङ्कन नै गरिँदैन । यसरी तिमी छोरीलाई हाम्रो समाजले तुच्छ वस्तुजस्तो ठानी आएको छ ।

आजको चिकित्सा विज्ञानले धेरै विषयमा अपत्यारिलो किसिमबाट धेरै फड्को मारेको तिमीलाई थाहा छँदैछ । कुनै आमाको गर्भमा छोरी छ भन्ने कुरा चिकित्सा विज्ञानले देखाउँछ भने बाबु भन्नेले तुरुन्तै भ्रुण हत्या गराएको खबर पनि तिमीले अखबारमा पढेकी नै हौली वा सुनेकी हौली । छोरीमाथि कत्रो अत्याचार ! आफ्नै बाबुले छोरीलाई जन्मिन नदिनका लागि गर्भमै भ्रुण हत्या गराएको हुन्छ । छोरीलाई जन्म दिने अधिकार पनि ती आमामा रहेको हुँदैन । आफ्नो शरीरको अधिकार पनि आफूमा नहुनु कस्तो निर्दयी रहेछ हाम्रो कानून पनि ?

प्रत्येक दिन कुनै न कुनै छोरी बलात्कृत भएकै हुन्छिन् । जसले मायाममता दिनुपर्ने हो, जसलाई आफन्त ठानी विश्वास गरिन्छ, तिनै बाट बलात्कृत भइरहेका हुन्छन् । पीडक समाजमा ठाँटसँग आफ्नो व्यक्तित्व प्रदर्शन गरिरहेको हुन्छ । उसलाई आफूले गरेको अमानवीय व्यवहारबारे कुनै पश्चाताप हुँदैन । उता बलात्कृत छोरीलाई भने यो समाजले घृणा गरेर तिरष्कृत गरेको तिमीले पनि समाचार पढेकी नै हौली ।

डाक्टर उपेन्द्र देवकोटाको अन्तिम संस्कारमा उनका तीनै छोरी र श्रीमती जुटेका थिए । यस कार्यले पनि तिमीजस्ता छोरीहरूलाई ठूलो पाठ सिकाएको हुनुपर्छ ।

त्यति मात्र कहाँ हो र ! छोरी जन्मिँदा अलच्छिन हुने र छोरो जन्मिदा लच्छिन हुने अन्धविश्वास हाम्रो समाजमा विद्यमान रहेकै छ । गर्भमा छोरी भए भ्रुण हत्या गर्दै जाने र यदि छोरो छ भने जति नै पटक पनि जन्म दिने, यो कस्तो अन्याय त छोरीप्रति ? यसमा न त कानूनले बन्देज गरेको छ, न त समाजले, न यस क्षेत्रमा लागेका सरोकारवाला गैरसरकारी संघसंस्थाहरूले नै । यसरी ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ भने कुरा चरितार्थ हुन गएको छ छोरीप्रतिको व्यवहारमा ।

छोरीप्रति हाम्रो समाज यति निष्ठुरी छ कि छोरी भनेपछि देख्नै नसक्ने तर छोरो भनेपछि हुरुक्कै हुने । छोराले दाहसंस्कार र पिण्ड दिनै पर्ने र छोरीले भने बाबु आमाको मृत्यु संस्कारमा छुनसम्म पनि नहुने, कस्तो अन्यायपूर्ण हाम्रो धार्मिक परम्परा ?

हाम्रो धार्मिक तथा साँस्कृतिक परम्परा असाध्यै अन्धविश्वास, पुरातन र अमानवीय छ । रजस्वला नहुँदै बाल्य अवस्थामै छोरीको विवाह गरिदियो भने बाबु आमालाई पुण्य हुने भन्ने विश्वासले अबोध बालिकालाई बिहे गरेर पठाइदिने प्रचलन पनि हट्न सकेको छैन । अमिल्दो जोडीको विवाह भएको खबर र विवाहको दृश्य पनि समय समयमा तिमीले पढेकी र देखेकी नै हौली ।

आफ्नै बाबुआमाले पनि छोरा र छोरीप्रति गर्ने व्यवहारमा ठूलो भिन्नता छ । छोरालाई राम्रो लगाउन र मीठो खाने कुरा दिइने गरिन्छ भने छोरीलाई ती चिजबिजबाट बञ्चित गराइएको हुन्छ । त्यस्तै किसिमबाट छोरालाई राम्रो पढाइ हुने महंगा विद्यालयमा प्रवेश गराइन्छ भने छोरी सस्ता र कमसल खाले विद्यालयमा पढ्न बाध्य हुन्छन् । छोरीलाई घरधन्दा र अन्य काममा लगाइएको हुन्छ भने छोरालाई यस्तो काममा  लगाइएको हुँदैन । एउटै कोखबाट निस्किएका, एउटै लाम्टो चुसेका, आफैँले जन्माएका आफ्नै सन्तानप्रति पनि किन यति ठूलो अन्याय ? यसको जवाफ यही समाजले दिनुपर्ने छ ।

छोरीलाई एउटा वस्तुको रूपमा लिने प्रथा हाम्रो समाजले सहजै स्वीकार गरिआएको छ । धार्मिक परम्पराअनुसार यज्ञ हवन आदिमा जसरी कुनै वस्तु दान गरिन्छ, त्यसरी नै बालिकालाई विवाह गरेर वस्तुसरह कन्यादान गरेर पठाइन्छ । ती बालिकालाई घर गएर गर्नुपर्ने काम र कुरीति तथा कुसंस्कारबारे बाल मानसपटलमा भराएर पठाइन्छ । बाल मानसपटलमा भरिएका यस्ता कुरीतिहरू ती अवोध  बालिकाहरूको मष्तिस्कमा पछिसम्म रहि नै रहने हुँदा उनीहरूको व्यक्तित्व विकासमा अवरोधको रूपमा रहेकै हुन्छ ।

छोरोलाई मात्र आफ्नो सन्तानको रूपमा लिने र छोरीलाई अरुकै घरको सदस्य ठान्ने पितृसत्तात्मक विचारले तिमीजस्ता छोरीहरूको हृदय सधैँ रोइ नै रहेको मलाई राम्रोसँग थाहा छ । अब यस्ता कुसंस्कारलाई जरैदेखि निर्मूल पार्नुपर्नेछ । छोरीलाई कतिसम्म हेलाँ गरिएको छ भने आफूलाई जन्म दिने बाबुआमाको मृत्यु संस्कारको काजकिरिया गर्न पनि बन्देज गरिएको हुन्छ । बिहे गरेर अर्काको घरमा गइसकेपछि माइतीको थर, गोत्र लेख्न नपाइने र घरतिरको थर गोत्रलाई स्वीकार गर्नुपर्ने कस्तो विडम्वना ?

छोरी मैले तिमीलाई सिकाइरहनुपर्ने होइन । तिमी आफैं जान्नेबुझ्ने छौ । तिमीलाई तिमी जन्मिएको देशको विषयमा पक्कै पनि धेरै ज्ञान भएको हुनुपर्छ । तिमीजस्ता धेरै छोरीहरूको आवश्यकता परेको छ । हो, निश्चय नै तिमीछोरीहरूले छोरीहरूको रक्षा गर्नु पर्दछ ।

आफुलाई जन्म दिने बाबु आमाको अन्तिम संस्कार गर्नबाट वञ्चित गराउने हाम्रो धर्मभिरु समाज कतिसम्मको घृणित रहेछ भन्ने कुरा तिमी छोरीहरूले बुझ्नै पर्दछ । यस्ता कुरीतिहरूलाई तिमीहरूले हटाउनै पर्दछ । यस्ता छोरीहरूको आवश्यकता यो समाज र यो देशले बोध गर्नै पर्दछ ।

हालैको एउटा दुःखद घटनाबारे तिमीलाई पक्कै थाहा होला । एसियाकै वरिष्ठ स्नायु विज्ञ डा. उपेन्द्रप्रसाद देवकोटाको असायमिक निधन हुन पुग्यो । उनको अन्तिम संस्कार गर्न ३ वटै छोरी र श्रीमती जुटेका थिए । यस कार्यले पनि तिमीजस्ता छोरीहरूलाई ठूलो पाठ सिकाएको हुनुपर्छ । समाजमा आउने परिवर्तन एकैचोटी हुँदैन । यस्तै सानातिना कुराबाट ठूलाठूला परिवर्तन क्रमिकरूपमा ल्याउनुपर्ने हुन्छ ।

हेर छोरी, बुवाले यस्तो गन्थन किन लेख्नुभएको होला भनेर तिम्रो मनमा जिज्ञासा आउँन सक्दछ । तर तिमीले बुझ्नुपर्ने कुरा के छ भने यस्तै कुरामा सुधार ल्याउन सक्यौ भने पनि तिमी जन्मिएको हुर्किएको समाजको रूप अर्कै हुन जानेछ ।

तिमी र मेरो बसाइको दूरी निकै टाढा छ । टाढा भए पनि तिमीप्रति मेरो स्नेह धेरै नजिक छ । मलाई लाग्छ, मैले तिमीलाई जति माया गर्छु, तिमीले पनि मलाई त्यति नै माया गछ्र्यौ, मलाई थाहा छ । त्यसैले म तिमीलाई यही भन्दछु, मेरो अन्तिम संस्कारमा तिमी, तिम्रा दाजुभाइहरू सँगसँगै संलग्न हुने नै छौ । तिमीलाई धपाउन अरु राक्षसीहरू पनि आउन सक्नेछन् । तिमी होसियार हुने नै छौ । मेरो तिमीलाई भन्नु यत्ति नै हो ।

तिमीलाई धेरैधेरै माया गर्ने, उही तिम्रो बाबु !


हाम्रो समाजमा विभिन्न किसिमका विकृतिहरू विद्यमान छन् । तिनीहरूले समाजलाई यसरी बिगारेका छन् कि आजको २१औं शताब्दीमा पनि कल्पनै गर्न नसकिने कुप्रथा प्रचलनमा रहेकै छन् । कुप्रथा मात्र होइनन्, महिलालाई मानवको रूपमा लिएकोसम्म पनि देखिँदैन । विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा महिला बारे ठूलाठूला घोषणा पारित गरिए पनि नेपालमा भने खासै सुधार भएको देखिँदैन । महिलालाई पुरुषसरह हेर्नुपर्दछ भन्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । पुरुषले महिलामाथि गर्ने व्यवहार दिनप्रतिदिन पीडादायी हुँदै गएको छ । यहाँ उल्लेख गरिएका केही घटना प्रतिनिधिमूलक मात्र हुन् । हाम्रो समाजमा यस्ता अनगिन्ती घटना र पात्र छन् । यसैको सेरोफेरोमा रही यो पत्र लेखिएको हो  । – लेखक

साउन २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार