खुर्सिदको हत्यापछि सुनसरीको भुटाहामा व्यापक सुरक्षाकर्मी परिचालन

असोज ५, २०७५

विराटनगर – सुनसरीको भुटाहामा स्थानीय मुस्लिम अगुवा मौलाना खुर्सिद आलम अन्सारीको हत्यापछि त्यस क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बिहीवार दिउँसो खुर्सिदको गोली हानी हत्या गरिएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो ।


ADVERTISEMENT

सो क्षेत्रमा प्रहरीले निगरानी मात्र बढाएको छैन स्थानीयले शव नउठाएपछि थप क्षति हुन नदिन प्रहरी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

शुक्रवार दिउँसो सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले मृतकका आफन्त तथा स्थानीय मुस्लिम अगुवासँग छलफल समेत गरेका छन् ।

भुटाहामा खुर्सिदको हत्यापछि भागेको आपराधिक समूहले घुस्कीमा पुगेर समेत प्रहरी जवानमाथि गोली प्रहार गरेपछि स्थानीय त्रसित भएका हुन् ।

स्थानीयले सुरक्षाको ग्यारेन्टी नभएको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको, हत्यारालाई पक्राउ नगरेको लगायतका मागहरू अघि सारेका छन् । स्थानीयले हत्यापछि टायर बालेर प्रदर्शन गरेका थिए ।

हिजैदेखि आक्रोशित बनेको भुटाहामा अन्य कुनै घटना हुन नदिनका लागि व्यापक सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घटनाका बारमा अनुसन्धान भइरहेकाले अहिले नै घटनाको अवस्थाका बारेमा केही भन्न नसकिने प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी केदार रिजालले बताए ।

उनले भने, ‘घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान भइरहेकाले अहिले नै केही भनिहाल्न सक्ने अवस्था छैन ।’

असोज ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस