जनकपुर पुग्यो झारखण्डबाट ब्लास्ट लिएर आएको ५३ डब्बासहितको रेल

कात्तिक ४, २०७५

धनुषा – भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लीगमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आइतवार जनकपुर आइपुगेको छ । 

रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताए ।


ADVERTISEMENT

प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको र्‍याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन् । भारत सरकारको सहयोगमा निर्माणाधीन अवस्थामा रहेको लिकबाट दोस्रो पटक ५३ र्‍याकमा सहितको रेल्वे जनकपुर आइपुगेको हो । 

धनुषाको कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्ट र ५ स्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्टेशन भवन र आवास निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ । यात्रुवाहक रेल गुडाउन जयनगर (भारत) बर्दिवास ब्रोडगेज (६९ किलोमिटर) सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लीगलाई आइतवार मालवाहक रेल गुडाएर ‘फाइनल टच’का लागि तयारी शुरू गरिएको प्राविधिक बताउँछन् । 

भारतीय निर्माण कम्पनी इरकोन इन्टरनेसनलले ब्रोडगेज रेल सञ्चालनका लागि लीग बनाएको हो । यसअघि जयनगर–जनकपुर–बिजुलपुरा (५२ किलोमिटर) मा सञ्चालित न्यारोगेज रेलमा २० देखि २५ किलोमिटर प्रतिघण्टाको गति थियो । ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किमी दूरी आधा घण्टामा पूरा हुनेछ ।

कात्तिक ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस