रूपाकोट: प्रकृतिको नजिक, संस्कृतिको समीप

कात्तिक १६, २०७५

‘हेर्दा राम्रो माछापुच्छ्रे...’ बोल भएको कुमार बस्नेतको स्वरको मीठो गीत नेपालीहरूले दशकौंदेखि सुन्दै, गुन्गुनाउँदै आएका छन् । ‘माछापुच्छ्रे भन्नु मात्रै धौलागिरी अल्गो...’ भन्ने बोलको अर्को गीतमा पनि होचै हिउँचुली माछापुच्छ्रेको चर्चा भेटिन्छ । कवि, गीतकारहरू पोखरा उपत्यका पसेपछि बढी सिर्जनशील भैदिए भने त्यो आश्चर्य पनि भएन । किनभने तिनले त्यहाँबाट नीलगिरी, अन्नपूर्ण र लमजुङ समेतका हिमालहरूको दृश्यावलोकन गर्न पाउँछन् । स्वच्छ हावाको स्पर्शमा परेपछि अन्य नेपालीमा पनि कवित्वभाव पलाउँछ भन्ने अनुमान मजस्ता धेरैले गर्न सक्छन् ।   

भन्नै परेन, सगरमाथाको काखमा दर्जनौं हिमाल र उपत्यका छन् जसले मौलिक मनमोहक दृश्यावली उपलब्ध गराउँछन् । अर्थात् ‘धूवाँरहित उद्योग’ भनिने पर्यटनको सम्भावना नेपालैभरि छ । पानी अर्को स्रोत हो जसले बिजुली, सिंचाइ र पिउने पानीको आपूर्तिबारे मुलुकवासीलाई ढुक्क गराउन सक्छ । तर परिचालन गर्ने सीप र पाखुरी नभैकन न पानीको उपयोगिता हुन्छ, न त पर्यटन नै फस्टाउन सक्छ । तिलको गेडामा तेल त हुन्छ तर नपेलीकन थोपो झर्दैन भन्ने मान्यताबाट हामी सबै परिचित छौं । 


ADVERTISEMENT

प्रकृति, पानी र पर्यटनको संयोजन गरे एउटा भरपर्दो सिलसिलाको थालनी गर्न सकिँदो हो भन्ने सपना, रटना कतिपय नेपालीको हुनसक्छ । यस्तो संयोजन गरेरै देखाउने श्रेय भने अहिलेको प्रसङ्गमा कास्की रूपाकोटका पुष्पराज अधिकारीलाई दिन सकिन्छ ।  पारि, मास्तिर हिमालको दृश्य र डिलमुन्तिर रूपाताल र बेगनास तालको जल एकैपल्ट हेर्न पाइने चाँजो मिलाइएको छ रूपाकोटको त्यस डाँडामा । समुद्री सतहबाट क री ब १,१०० मिटरको उचाइमा रहेको ढिस्को सम्याएर ठड्याइका संरचना नै समग्रमा आजको ‘रूपाकोट रिसोर्ट’ हो । त्यहाँ नेपाली शैलीका नौवटा घरमा ४२ कोठा छन्‌ जसमा बस्ने पाहुना (पर्यटक) ले अन्तर्राष्ट्रियस्तरको सत्कार र सुविधा पाउँछन् । र, मौसम सफा भएको दिन स्वदेशी-विदेशी सबैले सहजै सूर्योदय र सूर्यास्त हेर्न पाउँछन् । कुनै समय दार्जीलिङ पुगेका यात्रुहरू सूर्योदय हेर्न झिस्‌मिसेमै उठेर ‘टाइगर हिल’ तिर सोझिएका मोटरमा सवार हुनेहरूको भीडमा म पनि थिएँ । प रार साल इण्डोनेसियाको बाली टापूमा समुद्रीकिनारबाट सूर्यास्त हेर्ने घण्टौं प्र तीक्षा गर्नुपरेको सम्झना हुन्छ । 

[यहाँ चर्चित रूपाकोटका अधिकारी यस लेखका लेखक अधिकारीका नातेदार होइनन्]

फेवातालले चर्चेको पोखरा शहरबाट आग्नेय कोणतर्फ २२ किलोमिटरको दूरी तय गरेपछि पुगिने रूपाकोट रिसोर्ट करिव दुईशय रोपनी जमीनमा फैलिएको छ । रिसोर्ट सञ्चालन गरेको अर्को महिना चारवर्ष पूरा हुँदैछ; निर्माणको काम त्यसको दुईवर्ष पहिले थालिएको थियो । ‘नेपालीपन झल्काउने नाममा अतिथिलाई दिनुपर्ने सेवा-सत्कार र सुविधा घट्न नजाओस् भन्नेमा म सचेत छु’, पुष्प अधिकारीको कथन छ । तर आफूभन्दा अघि पर्यटनक्षेत्रमा प्रवेश गरेका कर्ण शाक्य, भरत बस्नेत र अन्य व्यवसायीहरूका मुलुकको मौलिकता सम्बन्धी प्राथमिकताबारे टीका-टिप्पणी गर्न अधिकारीको रुचि देखिँदैन । रूपाकोट रिसोर्टले अहिले ७५ जनालाई रोजगारी दिएको छ । सरकारले व्यवसायीबाट कर (राजस्व) पाउँछ । विस्तारको क्रममा यिनमा क्रमिक वृद्धि अपेक्षित नै भयो ।

रूपाकोटका रिसोर्टका ग्राहक ‘खर्च गर्नसक्ने’ विदेशी पर्यटक त हुन् नै, मुलुकमै बसेर सम्पन्नताको खुड्किलो उक्लिएका नेपालीहरू पनि पर्छन् । बेला-बखत ओहोदाधारी नेताका परिवार र उच्चपदस्थ कर्मचारी रूपाकोटमा वास बसेका छन् । विदेशमा रोजगारी गरेर नेपालमा विदा मनाउन आउने नेपाली/नेपालीभाषी एकरात रूपाकोटमा बसेर बिहान सूर्योदय हेर्दाको अनुभव समेट्न चाहन्छन् । यता, पुष्प अधिकारीको सम्पर्क-सञ्जाल अझ बाक्लो छ । अब उनलाई यस रिसोर्टलाई एक-दुई रात बास बस्ने ठाउँको रूपमा सीमित गराउन मन छैन । हिमाल र तालको यो एकीकृत दुर्लभ दृश्य हेर्न आउनेहरूको संख्या एकपटकमै हजारौंमा हुने गरोस् भन्ने उनको उद्देश्यलाई अन्यथा ठान्नु पनि भएन । छिमेकका चीन र भारतबाट भित्रिन सक्ने पर्यटकहरूको ताँतीलाई पनि हेक्का राख्नैपर्ने हुन्छ । 

रूपाकोटलाई क्षेत्रीयस्तरमा हुने-गरिने सार्कजस्ता अन्तर्राष्ट्रिय सम्मेलनको स्थल बनाउने अध्यक्ष अधिकारीको इच्छा छ । नेपालकै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आयोजना गर्दाको हालैको सफलताले अधिकारीको हौसला बढ्नु स्वाभाविक छ । ‘ आखिर मलाई निजी आर्जन बढाउने लोभले भन्दा देशको आर्थिक उन्नतिमा केही योगदान गरौं भन्ने भावनाले बेल्जियमको बसाइ छोट्याउन प्रेरित गरेको हो,’ आफ्ना योजना, आकांक्षाबारेका जिज्ञासा आउँदा जवाफमा अधिकारी भन्ने गर्छन् । अधिकारी आफ्नो परिवारलाई युरोपमै छोडेर एक दह्रो प्रतिबध्दताका साथ नेपाल फर्केको कुरा रूपाकोटको विकासबारे गम्भीर चासो राख्ने प्रत्येक व्यक्तिलाई सुनाउन चुक्दैनन् । ‘मेरो लागि बेल्जियम त बेला-बेलामा आऊ-जाऊ भैरहने ठाउँ हो ’। 

रिसोर्टमा बैंकबाट लिएको रु.२५ करोडभन्दा बढी लगानी भैसकेको छ, र विस्तारको क्रममा थप कर्जा लिँदै जानुपर्ने अवस्था छ । तर अधिकारी तत्कालको आवश्यकता मात्र पूरा गर्ने किसिमको विस्तारमा आफूलाई सीमित गर्ने पक्षमा छैनन् । छेउछाउमा सडक निर्माण, सुरक्षा, भरपर्दो इण्टरनेट सेवा तत्कालका जरुरत हुन् । यी कुराको बन्दोबस्त त यथासमय भैहाल्ला । रूपाकोटकै रैथाने भएको हुनाले अधिकारीलाई स्थानीय बासिन्दाको सहयोगबारे ढुक्क हुन सजिलो भएको हो । स्थानीय सीप र मेहनतलाई राज्यबाट प्रोत्साहन मिल्ने कुरामा उनी आशावादी छन् ।

फराकिलो दृश्यपटल

पुष्प अधिकारीलाई आमरूपमा बुझिने ‘पर्यटन व्यवसायी’ मात्र ठान्न मिल्दैन । उनीसित सिङ्गो मुलुकलाई आर्थिक समृध्दिका खुड्किला उकाल्दै लैजाने दूरदृष्टि र महत्वाकांक्षी योजना छन् जसका बारे उनी हाल पदमा पुगेका अधिकृत एवं विज्ञ, विशेषज्ञहरूसँग सार्थक संवाद गर्ने जानकारी र खुबी राख्दछन् । प्राकृतिक गुफा र मन्दिर तथा स्तुपका आकर्षणले भरिएको पोखरा उपत्यकालाई गण्डकी प्रदेशको आधुनिक सर-सुविधायुक्त शहरमा परिणत गर्ने उनको पहिलो सोच छ । र, त्यसको थालनी अहिलेको रूपाकोट रिसोर्टको सिधा मुन्तिर रहेका रूपा ताल र बेगनास ताल वरिपरिको विकासबाट गर्न चाहन्छन् । यी दुई तालको बीचको ठूलो ढिस्कोलाई उपयुक्त ठाउँमा काटेर दुबै ताललाई एक-अर्कोसित ‘नायग्रा फल्स’ को ढाँचाबाट जोड्ने र त्यहाँ जलयान चलाउने अनि वरिपरिको जमीनमा दुइटा ‘ताल शहर’ (लेक सिटिज) बसाउने । हाल खेत,बारीमा असुरक्षित तरिकाले बनाइएका घर-टहरालाई हटाई एकै ठाउँमा आवासक्षेत्र तोक्ने र खाली भएको जग्गामा अन्न, तरकारी र फलफूल खेती गराउने । हो, यस्ता योजना व्यक्ति विशेषले पार लगाउन सक्दैन; तसर्थ सरकारबाट सक्रिय सहभागिता एवं प्रोत्साहनको अपेक्षा गरिन्छ नै---अधिकारी यसबारे खुलस्त हुन्छन् । 

हुन पनि रूपाकोटमा सुविधायुक्त रिसोर्ट सञ्चालन गरेर आफ्नो क्षमता र कार्यकुशलता प्रदर्शन गरिसकेको हुनाले पुष्प अधिकारीको सोच तथा योजनालाई हलुका ढङ्गले हेर्न मिल्दैन । सीमित स्रोत-साधन र जनशक्तिको भरमा पनि काम गर्नसक्ने उनको योग्यता त रूपाकोटले प्रमाणित गरिसकेको छ । अधिकारीले आफ्नो साख र विश्वसनीयता स्थापित गरिसकेका छन् । अनि, आखिर रूपाकोटमा निर्मित संरचनाहरू उडेर बेल्जियम पुग्ने होइन; नेपालमै रहन्छन् ।

रूपाकोटको शैलीमा विकास गर्न सकिने ठाउँ देशका अरू भागमा कति होलान् ? उनको उत्तर हुन्छ : ‘दर्जनौंको संख्यामा छन् नि’। एक दृष्टान्त हो रारा दह । यो निकै फराकिलो ताल हो । यसको वरिपरि हिमाली भेग सुहाउने २०० वटा रिसोर्ट खुल्न सक्छन् । नजिकैका पहाडी जिल्लामा पशुपालन गर्न सकिन्छ । त्यहाँ उत्पादन हुने मासु स्वदेशमा खपत र विदेशमा निर्यात समेत गर्न सकिन्छ ।  देशका अन्य भागमा पनि यस्ता सम्भावना भएका स्थानहरू छन्; सम्भाव्यता अध्ययन गर्ने गराउने काम भने सरकारको हो ।    

राजनीतिबाट देशसेवा गर्न अघिसरेका हौं भन्ने सयकडौं नर-नारीसित पुष्प अधिकारीको चिनारी छ; कतिपयसँग सङ्गत पनि छ । उनी साविकमा एमालेका समर्थक हुन् । तर एकीकृत भैसकेपछिको पार्टीबारे उनको किटान धारणा छैन । आफैं झ्याम्मिएर नजाने तर परिस्थितिले तानेमा चुनावी राजनीतिबाट पछि नहट्ने अधिकारीको सोचाइ छ । उनलाई २०६२-६३ को आन्दोलनमा हासिल भएका भनिने तीनटा उपलब्धि---गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता—मध्ये संघीयता मात्र ठीक लागेको छ । ‘यसले शक्ति विकेन्द्रीकरणलाई संस्थागत रूप दिन्छ; जनप्रतिनिधि, मन्त्रीहरूको संख्या बढ्दा खर्च बढ्छ भनेर अत्तालिनु हुँदैन । किनभने थप स्रोतको परिचालनबाट अतिरिक्त ठानिएको आर्थिक भार खेप्न अवश्य सकिन्छ’।    

कुनै दिन पुष्प अधिकारी प्रणाली विकासको परिप्रेक्ष्यमा निर्णायक ठाउँमा पुगेमा दुई-तीनटा काममा लागिपर्ने अपेक्षा अहिले नै गर्न सकिन्छ : १२ कक्षासम्मको पढाइ नि:शुल्क गर्ने र निजी सरकारी विद्यालयमा एउटै पाठ्यक्रम अनुसार पढाउने । हरेक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने । अधिकारीलाई थाहा छ, शुद्ध पिउने पानीको व्यवस्था मिलाउने बित्तिकै नेपालीका आधाजसो रोगव्याधि आफैं समाप्त हुनेछन् ।

कात्तिक १६, २०७५ मा प्रकाशित

ध्रुवहरि अधिकारी

अधिकारी ‘लोकान्तर’का अध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार