जोशी हाइड्रोलाई साधारण शेयर बिक्रीको अनुमति

कात्तिक १९, २०७५

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रो पावर कम्पनीलाई रु १४ करोड ४८ लाख ४६ हजार बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । 

आयोजना प्रभावित इलामवासीलाई साधारण शेयर बिक्री गरिसकेको सो कम्पनीलाई बोर्डले कूल पूँजीको १५ प्रतिशत बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । सो कम्पनीले इलाममा तीन मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ ।


ADVERTISEMENT

कम्पनीले गत जेठमा आयोजना प्रभावितलाई रु तीन करोड ७१ लाख ४० हजार बराबरको तीन लाख ७१ हजार ४०० कित्ता शेयर बिक्री गरिसकेको छ । कम्पनीको समग्र अवस्था विश्लेषण गर्ने कम्पनी इक्रा नेपालले गरेको परीक्षणमा जोशी हाइड्रो पावरले ग्रेड पाँच पाएको छ । जुन कम्पनीको वित्तीय अवस्था खराब रहेको मानिन्छ । 

यस्तै साधारण शेयर बिक्रीको तयारीमा रहेको भैरवकुण्ड जलविद्युत् कम्पनीलाई इक्रा नेपालले ग्रेड पाँच दिएको छ । सो कम्पनीले रु ३१ करोड ८३ लाख २८ हजार बराबरको ३१ लाख ८३ हजार २८० कित्ता शेयर बिक्री गर्न लागेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई रु छ करोड ५० लाख बराबरको छ लाख ५० हजार कित्ता शेयर बिक्री गर्नेछ । कम्पनीले सिन्धुपाल्चोकमा तीन मेगावाट क्षमताको भैरवकुण्ड जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । 

कात्तिक १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस