प्रदेश १ मा मन्त्रिपरिषद पुनर्गठनको तयारी, को–को बन्दैछन् नयाँ मन्त्री ?

मंसिर १७, २०७५

विराटनगर–   प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंसिर महिनाभित्रै प्रदेश सरकार विस्तार हुने बताएका छन् । काठमाडौँबाट फर्कने क्रममा  विराटनगर विमानस्थलमा सोमवार साँझ संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले मंसिर भित्रै सरकार पुनर्गठन गर्ने योजना रहेको बताए । 

कामको चापको हिसावले पनि धेरै विभागहरूसँगै राखेर मन्त्रालय चलाउन अप्ठ्यारो हुँदै गएको कारण मन्त्रालय विभाजन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।  मन्त्रिपरिषदमा संघीय समाजवादी फोरमलाई पनि ल्याउने या नल्याउने भन्ने विषयको टुंगो नलागेको राईले बताए । तर पार्टीकाे केन्द्रीय नेतृत्वसँग आवश्यक परामर्श र छलफल गरी टुंगो लाग्ने उनको भनाइ  छ । मन्त्रिपरिषदमा  महिलाको प्रतिनिधित्व गराइने पनि राईले स्पष्ट पारे । 


ADVERTISEMENT

प्रदेश नाम र राजधानी अन्यौल

प्रदेशको नाम र राजधानीको विषय माथिल्लो तहमा टुंगो लागिसकेको जानकारी दिँदै मुख्यमन्त्री राईले आउँदो हिउँदे अधिवेशनका क्रममा राजधानी र नामांकरणको विषय टुंगो लाग्ने बताए ।

हिउँदे अधिवेशन पुसको पहिलो हप्ता बस्न र त्यो भन्दा अगाडि संसदीय दलको बैठक पनि बस्ने र सहमतिमा नाम र राजधानीको विषय टुंग्याउने प्रयास भइरहेको उनले जानकारी दिए।

मंसिर १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस