आत्महत्याविरुद्ध (कविता)

पुस २२, २०७५

 

डा. रामकृष्ण आचार्य


ADVERTISEMENT

नहाँस्दा त जीवन अझ गाह्रो हुन्छ,
उदास भइ बाँच्न झनै साह्रो हुन्छ ।
जति छ त्यतिले खुसी छर्न सके,
मेहनतले अझ धेरै गर्न सके,
सानो भए नि पसिनाको कमाइ,
चल्छ यो जीवन त्यसैमा रमाइ ।

अरु र आफ्नो जीवन दाँज्नु किन,
अस्वस्थ खेलमा जीवन गाँज्नु किन ।
प्रेम कहिँ त कहिँ हुन्छ धोका,
आत्महत्याले हुन्न लेखाजोखा ।
एउटा बन्द भए अर्को बाटो खुल्छ,
ओइलि झरे नि फेरि फूल फुल्छ ।

चोटबाट त पाठ सिक्नुपर्छ,
काँडो बिझेको भए झिक्नु पर्छ ।
निर्दोष होउ तिमी किन बेर्छौ डोरी,
अन्याय हुन्छ तिमी माथी फेरि।
रुवाउँछ जसले उ पो दोषी हुन्छ,
सम्झ आमाको मन कति रुन्छ।

तिम्रो खुसीमा खुसी हुने सम्झ,
तिमीलाई दुख्दा रूने आँखा सम्झ।
तिमी मर्दा आमाको मुटु कति दुख्ला,
अगति पर्‍यो भनी दुनियाँले थुक्ला,
दह्रो भएर बाँचेर त हेर,
कसैको लागी हुन्नौ तिमी धेर,

लडेको हैन व्यक्ति बढेको पो हुन्छ,
मेहनतले नै त शिखर चढेको हुन्छ,
कहिँ असफल हुनु नौलो हैन,
असफल हुने तिमी पहिलो हैन,
दु:ख नभएको को छ र जगमा?
प्रयास गरे त पुगिन्छ नभमा।

दु:ख र सुख जीवन कै हो पाटो,
कहिँ चिप्ली लड्ने कहि राम्रो बाटो,
सकिन्न भनेर हिम्मत हार्नु हुन्न,
आत्मविश्वासलाई कहिले मार्नु हुन्न,
गर्न खोज्नेको न काम बन्छ,
वाह वाह प्रयास संसारले भन्छ ।

एकै छिन न हो सम्झेर रुनलाई,
दिन बितेपछि सम्झनन् तिमीलाई,
तातो रीसले सोचाइ घुम्ने गर्छ,
हतासिएर विवेक गुम्ने गर्छ ,
अनमोल जीवन बरु सदुपयोग गरेर,
भरसक बाँचेर किर्ती राखेर।

जान त एकदिन सबै नै हो जाने,
किर्ती न हो मरे पछि लाने,
ईष्र्या, द्वेष, धनले कहिँ हुन्न शान्ति,
मिठो बोली अनि मुहारमा कान्ति,
प्रयास गर हुनेछौ सफल,
सृजना शक्ति हुन्न है विफल ।

सूर्योदय -१३, इलाम

पुस २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस