चिकित्सा शिक्षा विधेयकमा अझै सहमति जुटेन, संसदीय समिति अनिर्णित

पुस २३, २०७५

काठमाडौं – उपत्यका बाहिर मेडिकल कलेजलाई सम्बन्धन दिने वा नदिने भन्ने विषयमा सहमति नजुटेपछि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकमाथिको छलफल बुधवारलाई सारेको छ ।

बैठकमा कांग्रेस सांसद गगन थापाले चिकित्सा शिक्षा विधेयक डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता अनुसार नभएको भन्दै उपसमितिमै विरोध गरेका थिए । तर लामो समयसम्म सहमति नजुटेपछि उपसमितिले बहुमतका आधारमा प्रतिवेदन पारित गरेको थियो । 


ADVERTISEMENT

विधेयकको प्रतिवेदन समितिमा पुगेपनि विधेयकका केही विषयमा सहमति जुट्न बाँकी रहेकाले थप छलफलका लागि बैठक स्थगित गरिएको समिति सभापति जयपुरी घर्तीले लोकान्तरलाई बताइन् ।

‘उपसमितिले तयार पारेको प्रतिवेदन बहुमतले पारित गरेर ल्याइएको छ, आज समितिको छलफलमा सांसदहरूले आ–आफ्नो कुरा राख्नुभएको छ,’ घर्तीले लोकान्तरसँग भनिन्, ‘अब २५ गते बुधवार अन्तिम पटक छलफल गरी विधेयक अघि बढाउँछौं । सम्भवतः २५ गतेसम्म टुंगिन्छ ।’

समिति सभापति घर्तीले डाक्टर केसीसँग भएको सम्झौता अनुसार नै प्रतिवेदन तयार पारिएको भन्दै सम्झौताविपरीत भनेर गतल हल्ला मात्रै फैलिएको जिकिर गरिन् ।

‘डाक्टर केसीसँग भएको सम्झौता अनुसारकै कुराहरू विधेयकमा राखिएको छ । दुई तीनवटा कुरामा मात्रै केही संशोधन गरिएको छ,’ सभापति घर्तीले भनिन्, ‘सांसदहरूको पनि आफ्नो राय हुन्छ, सोही अनुसार अलिअलि त संशोधन हुन्छ नै !’

यता डा. केसीले भने सरकारले आफूसँग गरेको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पारित नगरे बुधवारदेखि अनशन शुरू गर्ने चेतावनी दिएका छन् ।

पुस २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस