कविता- समृद्ध नेपाल : मेरो सपना

माघ ५, २०७५

रमेश भट्टराई ‘सहृदयी’

सभ्य पुनर्जागरणकालीन सुशासनमा–
घन्केको बिगुलमा
नवयुगका ज्ञाता श्रमजीवी माने दाइ
पूर्व–पश्चिम रेलको वेगसँगै
विद्युत, खाद्यान्न निर्यातका कर्मशील जनभावमा 
हो आमा, युद्धको डोब विगतको अतीत बनिरहनेछ
बलात्कार, हिंसाका घाउ तीता यथार्थ बन्नेछन्
– सुशासनमा,
सामाजिक सुरक्षा योजनाका पृष्ठभरि
पहाडका घाँटीमा वेगवान इलेक्ट्रिक गाडीभित्र
आरामदायी सिटमा बच्चाकी आमा, हजुरआमा–
उमङ्गित हुन्छन् अनि सदा तिम्रो अधरमा 
कञ्चन्जङ्घाको पवन सौम्य रम्य बन्नेछ ।


ADVERTISEMENT

समस्याको भीमकायमा कर्णाली सुक्दैन
कृत्रिम भोकमरी पैmलाउने ब्वाँसाको कालोबजारीमा
अब देश दुख्दैन,
दुष्टता लुक्दैन
व्यवस्थित सहरका किनारा 
र सडकका बिचमा रमेका वृक्ष हेर्दै
पिपले खेतमा मास, गहुँ, धान लहलहाउँदा
तारतम्यको ग्रामीण वस्तीमा
नवयुगको सारङ्गी बोकेर 
शेर्पेनी दिदी होमस्टे तालिम दिनमै मग्न हुन्छिन्
रामराज्य र साम्यवादलाई भेट्न 
समृद्धि र शान्तिवादी चङ्गा चेट्न
पञ्चशील, अष्ट ‘ज’ को घुलनसँग 
हो आमा, समाजवाद उन्मुख नेपालीत्व उर्लनेछ ।

सम्भावनाका चाङ पर्गेल्ने जनशासकले
संविधानका पानाभरि समसत्ता नियाल्नेछ
सप्तकोशी, महाकालीको तेजले 
जवानी र पारिवारिक प्रेममा रेमिट्यान्स दुख्दैन
अफ्रिकन, अरेबियन नेपालका उद्योगमा व्यस्त हुँदा
अमेरिकन, नर्बेलीहरू नेपाली कलामा लठ्ठ छँदा
अब मुन्धुम, त्रिपिटक, गीताको सारभित्र
धिमे, डम्फु, च्याब्रुङ लयमा 
हो आमा, बहुल संस्कृति सभ्यता सिक्छ संसारले ।

प्रथाले चिमोटिएका
अन्धविश्वासले निमोठिएका 
असभ्यताका पर्खाललाई
भोजपुरे खुकुरी प्रहार हुनेछ– प्रेमले
सुसभ्य– ‘सर्वे भवन्तु सुखीन’ तालमा
अब, अन्धकार हटाउन होइन– 
प्रकाशको सम्पन्नता फिँजाउन
अशान्ति हटाउन होइन शान्तिलाई फिँजाउन 
मानवतावादी डाक्टरहरू स्वस्थतामा प्रदीप्त हुँदा
भूमण्डलीकरणमा– समृद्ध, शान्त नेपाल 
बा, नाति, पनाति सौहार्दको लयमा 
सुसभ्य मौलिक चाड, भेष, सुसंस्कृतिभित्र
दाइजो विरोधी दुलाहा– मण्डपमा सजिन्छन्
थारु, सतार पहिचानी सत्ता बोकेर
समृद्धिको गीतमा लठ्ठ ठट्टिन्छन् ।

मौरी माछा पालनमा व्यस्त बनेका माने दाइ
छोराको व्यावसायिक तालिमको प्रतिफलमा हराउँदा
गलैँचाको तानमा मग्न साहिँली दिदी
चिराइतो, बिख्मा प्रशोधनमा तल्लिन विद्यार्थीका खबर–
पत्रिकाको प्रथम पृष्ठमा प्रकाशित हुँदा
चितवनका चेपाङको हेलिकप्टरमा सवारहरू
रेड पाण्डा, काँडे भ्याकुर, मयुरको संयुक्त नृत्यमा
केबुलकारमा सवार पर्यटकहरू मग्न बन्नेछन्
दुई ढुङ्गाबिचको पारस पत्थरी चम्कँदा
सगरमाथाको उँचो स्वाभिमानभित्र
शान्ति र समृद्धिका छटाभरि
असीम सम्भाव्यताको प्रकटीकृत सौम्यले
कतै, अब तिमी चपल बनौली कि आमा !
हो आमा, सामाजिक न्यायको सुसभ्य सुशासनभित्र–
शालीन समृद्धि प्यालाभरिएको सपना म देख्छु ।
 

माघ ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस