ऐतिहासिक सफलतासहित स्वदेश फर्किएका क्रिकेटरलाई रेड कार्पेटमा स्वागत [फोटोफिचर]

माघ २१, २०७५

काठमाडौं -संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको एक दिवसीय तथा टी-ट्वान्टी श्रृंखला विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

नेपाली क्रिकेट इतिहासमै पहिलोपटक एक दिवसीय र टी-ट्वान्टी सिरिज जितेको नेपाली टोलीलाई सोमवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो ।


ADVERTISEMENT

नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा रेड कार्पेट बिछ्याएर स्वागत गरिएको थियो ।

स्वागतका लागि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, खेलकुद मन्त्री जगत विश्वकर्मा, राखेप अध्यक्ष केशव विष्ट लगायतका उच्चपदस्थ अधिकारी विमानस्थल पुगेका थिए ।

त्यसक्रममा राखेप अध्यक्ष विष्टले यूएईविरुद्धको श्रृंखला विजेता नेपाली टोलीलाई जनही ५ लाख नगद पुरस्कार दिन सरकारलाई सिफारिस गर्ने आश्वासन दिए ।

नेपाली क्रिकेटको इतिहासमै दोस्रो एक दिवसीय श्रृंखला खेलेको नेपालले पहिलो जीत निकाल्दै इतिहास रचेको थियो ।

त्यसअघि नेदरल्याण्ड्ससँग खेलेको एक दिवसीय श्रृंखला १-१ को बराबरीमा टुंगिएको थियो ।

टी-ट्वान्टीतर्फ पनि नेपालले पहिलो पटक श्रृंखला आफ्नो नाममा लेखाएको हो । यसअघि खेलिएका टी-ट्वान्टी श्रृंखला नेपालले जित्न सकेको थिएन ।

 

 


 

माघ २१, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस