पर्यटकको पर्खाइमा घोडाघोडी : व्यवस्थित ड्याम बनाएर डुंगा सञ्चालनको तयारी

माघ २७, २०७५

धनगढी –विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा डुंगा सञ्चालनको तयारी भैरहेको छ । 

पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने उद्देश्यका साथ सो सिमसार क्षेत्रको ओजहुवा तालमा डुंगा सञ्चालनको तयारी थालिएको हो । जसको तयारी करीब ८० प्रतिशत पूरा भएको जनाइएको छ ।


ADVERTISEMENT

घोडाघोडी नगरपालिका अन्तर्गतको वृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले डुंगा सञ्चालनका लागि चरणवद्ध रूपमा गतिविधि बढाएको छ । त्यहाँको जैविक विविधता र पर्यटन प्रवर्द्धनलाई मध्नजर गरी डुंगा सञ्चालनको तयारी भैरहको बोर्डका उपाध्यक्ष दयाराम चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार करीब १० हेक्टर क्षेत्रफलमा फैलिएको सो तालको वरिपरी व्यवस्थित ड्याम र बाटो निर्माण गरिएको छ भने तालमा भएका झारहरू सफा गरी २ स्थानमा डुंगा स्टेसन पनि बनाइएको छ । 

जसमा शुरूवाती अवस्थामा २ वटा पैदलले चल्ने र २ वटा काठे गरी ४ वटा डुंगा सञ्चालन गरिने भएको छ । प्रराम्भिक चरणमा करीब ५ लाखको लागतमा डुंगा सञ्चालनका लागि आवश्यक संरचना निर्माणको कार्य भैरहेको बताउँदै बोर्डका उपाध्यक्ष चौधरीले प्रतिक्षालय, शौचालय निर्माणको काम भने बाँकी रहेको बताए । कम पानी भएपनि फागुन महिनाभित्रै डुंगा सञ्चालन गर्ने लक्ष्य लिइएको उनले बताए ।

यसैबीच सिमसार क्षेत्रस्थित सो तालमा डुंगा सञ्चालन गरे जैविक विविधतामा असर पर्ने भन्दै केही पक्षले असन्तुष्टि जनाएका थिए । तर सिमसारको अवधारणाको गलत बुझाईका कारण असन्तुष्टि आएको बोर्डका उपाध्यक्ष चौधरीले प्रकाश पारे । चराविद् समेत रहेका उपाध्यक्ष चौधरीले डुंगा सञ्चालनले जैविक विविधतामा कुनै किसिमको नकारात्मक असर नपर्ने ठोकुवा गरे ।

सो क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै मुख्य पर्यटन गन्तव्यको रूपमा लिइन्छ । तर पर्यटकहरूका लागि आवश्यक संरचना नहुँदा पर्यटकहरू बडो मुस्किलले १५/२० मिनेट मात्रै अडिने स्थानीय बताउँछन् । आवश्यक संरचनाहरू नहुँदा पर्यटकहरू केही क्षण अवलोकनपछि फर्किने हुँदा त्यहाँको होटल तथा बजार पनि खासै फस्टाउन सकेको छैन ।

पर्यटकहरूलाई लामो समयसम्म सो क्षेत्रमा बस्ने वातावरण सिर्जना गर्नको लागि पनि डुंगा सञ्चालनको तयारी थालिएको बताइएको छ । डुंगा शयर गरेबापत पर्यटकहरूबाट निश्चित दरको टिकट शुल्क लिने भएकोले संकलित रकमबाट सिमसारको व्यवस्थापनमा पनि टेवा पुग्ने आपेक्षा गरिएको बोर्डका उपाध्यक्ष चौधरीले सुनाए ।

उपाध्यक्ष चौधरीले भने, ‘हामी सिमसारको महत्त्व तथा सिमसारको जैविक विविधतावारे संवेदनशील छौं । त्यही अनुसार काम अगाडि बढाएका छौं, जसबाट हामीले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरेका छौ ।’

त्यस्तै, सो सिमसार क्षेत्रको विकासको लागि वृहत् गुरुयोजना निर्माणको तयारी समेत थालिएको जनाइएको छ । गुरु योजनाको तयारी भएपछि सो क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने अनुमान गरिएको छ ।

औसत ४ मिटर भन्दा बढी गहिराई र २७२६ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी सिमसार क्षेत्र तराईको सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । सन २००३ अगस्त १३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको थियो । जसलाई जैविक विविधता, जलप्राणी, वनजन्तु, चराचुरुंगीको प्रमुख बासस्थान तथा प्रजनन केन्द्रको रूपमा लिइन्छ । 

सिमसारको ऐतिहासिक पक्ष

सो सिमसार क्षेत्र ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । स्थानीय बुढापाकाहरूका अनुसार सो ताल क्षेत्रमा परापूर्वक कालमा ठूलो मानवबस्ती रहेको थियो । कलान्तरमा सो बस्ती एकाएक तलाउमा परिणत भएको किम्बदन्ती छ ।

त्यस्तै, अर्को किबदन्ती अनुसार परापूर्वक कालमा भगवान विष्णुले घोडा र लक्ष्मीले घोडीको रूप धारण गरी ताल क्षेत्रको परिक्रमा गरेको हुनाले तालको नाम घोडाघोडी रहन गएको जनविश्वास रहेको पाइन्छ ।

घोडी (घोरी) र घोडा (घोरा) आदिवासी थारु समुदायका कुल देवता हुन् । थारू समुदायको कुल देवता ‘घोरी (पोथी) र घोरा (भाले)’ बाट घोरीघोरा अर्थात नेपालीकरण गरेर घोडीघोडा र नाममा भएका शब्दलाई अगाडि पछाडि राखेर ‘घोडाघोडी’ भन्न थालिएको हो ।

उहिल्यैदेखि हालसम्म तालको किनारमा घोडीघोडा मन्दिर पनि रहिआएको छ । जुन मन्दिर आदिवासी थारू समुदायको देव थनुवा हो । जुन थनुवामा थारु समुदायले आफ्नै मौलिक ढंगले पूजाआजा गर्दै आएका छन् । भने मन्दिरमा माटाका घोडाहरूको मुर्तीलाई देवताको प्रतीकको रूपमा लिई पूजाआजा गरिँदै आइएको छ । सिमसार क्षेत्र वरिपरी स्थानीय आदिवासी थारु समुदायको बाक्लो बस्ती समेत रहेको छ ।

माघ २७, २०७५ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस