चैत ३०, २०७५

न हाँसो छ, न रोदन छ
न निराश छु, न त आशामा नै
न कुनै चञ्चलता छ, न त भावशून्य नै
म को हुँ ? कहाँ छु ? के गर्दैछु ?
न त निरुत्तर नै छु, न त प्रश्न गर्न चाहन्छु
न त प्रश्न रित्तिएका छन् ।

केवल म सम्झन्छु म शून्य छुँ ।
अर्थात् अब त म पूर्ण छुँ ।
तर यस शून्यतामा पनि गहिरो पीडा छ ।
सायद मुक्ति चाहन्छु यस शून्यताबाट !
वा यो मेरो शून्यतामा छुँ भन्ने केवल भ्रम हो
या त घमण्ड हो आफैंप्रतिको


ADVERTISEMENT

केवल कता–कता चाहना छ 
मुक्ति पाउने यस शून्यताबाट
तर ठम्याउने दृढता पनि त छैन
ममा केही चाहना बाँकी छ र ?
मभित्र न त चाहना छ, न त शून्यता
खै कुन अवस्थामा छु म ?

न त कुनै जिज्ञासा नै सशक्त छ ।
न त आतुरता छ कुनै जिज्ञासा मेटाउने
आफैंलाई शून्यतामा पाउने मेरो मन
त्यसैलाई पूर्णता पनि मानिरहेको छ
तर सायद पूर्णतामा पनि पीडा हुँदो रहेछ
अथवा यो संसारमा मानिस 
पूर्णता प्राप्त गर्न सक्दैन सायद !

किनकि समय न शून्य हुन्छ, न त पूर्ण
केवल गतिशील हुन्छ
समयकै जञ्जिरमा बाधिँएका हामी
सायद आफूलाई समयझैं पाउन खोज्छांै
आफैंलाई गतिशील बनाउन चाहन्छौं
र त गतिशीलतासँगै परिवर्तन खोज्छौं

हो म पनि यस शून्य मन 
शून्य विचार, शून्य चाहना
शून्य भावना, शून्य सक्रियताबाट
फेरि उहीँ तड्पिने मानिसको स्वरुप चाहन्छु
जहाँ म केही बन्न चाहन्थें
केही गर्न सक्रिय थिए
सायद यो मेरो शून्यता होइन
निष्क्रियता हो ।

चैत ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस