अनुशासनका अचूक सूत्र

असार ७, २०७६

संसारमा अनुशासन मेरुदण्ड बनेर रहेको छ सबैका लागि । यो विना संसार टिक्न सक्दैन, चल्न सक्दैन । पृथ्वीलाई अड्याउने पनि अनुशासनले हो, घुमाउने पनि अनुशासनले नै हो ।

सूर्य अडेका छन् अनुशासनमा, टिकेका छन् अनुशासनमा, चलेका छन् अनुशासनमा । चन्द्रमाको आफ्नै अनुशासन छ,  अन्य ग्रह नक्षत्रका आफ्नै अनुशासन छ । 


ADVERTISEMENT

हावाको गतिमा अनुशासन छ । पानीको प्रवाहमा अनुशासन छ । माटोमा अनुशान छ । रुखबिरुवा वनस्पतिमा अनुशासन छ । पशुपन्छीमा अनुशासन छ । कीटपतङमा अनुशासन छ । अनुशासन विना कोही पनि संगठित हुँदैन, हुनै सक्दैन, संगति मिल्दैन, मिल्न सक्दैन । लय मिल्दैन, गति मिल्दैन । संगीतमा स्वर लाग्दैन । शास्त्रमा सार पाइन्न । लेखाइमा शिलशिला चल्दैन । खाने चीज पाइन्न, पाएपनि खान सकिन्न, सके पनि खाएको पचाउन सकिन्न ।

जन्मदेखि मृत्युसम्म र सृष्टिदेखि प्रलयसम्मका संसारका यावत् गतिविधि अनुशासनमा आवद्ध छन् । यसैले नै गति दिएको छ, लय दिएको छ । चलाएको छ, बोलाएको छ, खेलाएको छ । 

अनुशासनको कुरा सबै गर्छन् । तपाईं गर्नुहुन्छ, म गर्छु । अरुहरू गर्छन्, सबै गर्छन् । सरकार गर्छ, समाज गर्छ । शिक्षा गर्छ, शैक्षिक निकाय गर्छ, शिक्षक गर्छन् । धर्मशास्त्र गर्छ, धर्मगुरुहरू गर्छन् । प्रौढपुस्ता गर्छ, तन्नेरीपुस्ता गर्छ । कर्मचारी गर्छन्, किसान गर्छन् । व्यापारी गर्छन्, ब्रह्मचारी गर्छन् । सबैमा चासो छ, चिन्ता छ – अनुशासन भएन, हुनुपर्छ, अनुशासित बन्नुपर्छ यस्तै–यस्तै । बढी नै हुँदैआएको छ यसको चर्चा हिजोआज । बिहान त्यसैको चिन्ता, दिउँसो त्यसैको चिन्ता, साँझ त्यसैको चिन्ता रात त्यसैको चिन्ता । त्यसैको जपना त्यसैको सपना । रात, दिन, साँझ, बिहान हरबखत यसैको चिन्ता, यसैको चिन्तन तर अनुशासन स्वयं भने क्रमशः हराउँदै गएको छ । हामी जति बढी अनुशासनको बन्धन मजबूत हुनुपर्छ भनिरहेका छौं त्यति नै खुकुलो हुँदै गएको छ ।   

प्रकृतिमा मानिस मात्र यस्तो प्राणी हो, जो सकेसम्म अनुशासनमा बस्न चाहन्न । मानिसबाहेक कसैले पनि अनुशासन छोडेका छैनन्, तोडेका छैनन् । प्रकृति आफैं नियममा आबद्ध छ । अनुशासनमा चल्दैआएको छ, चलिरहेको छ, चली नै रहनेछ । यदाकदा मानिस उसलाई पनि नियम उल्लंघनमा बाध्य पार्न खोज्छ । तथापि उसले भने आफ्नो गति छाडेको छैन । बरु रिसाएर कडा दण्ड दिन पछि पर्दैन । तैपनि आफ्नो नियम उल्लंघन गर्दैन, गर्न चाँहदैन तर मानिसको भने कुरो अर्कै छ । 

जति ठूलो पदमा पुग्यो, त्यति बढी नियम मिच्न चाहने प्रवृत्ति हावी छ मानव समाजमा । जति बढी नियम मिच्न सकियो, त्यति नै बढी गर्व गर्ने बानी छ मानिसमा । अनुशासनको चिन्ता र चर्चा गर्ने पनि मानिस सकेसम्म त्यसलाई तोड्न चाहने पनि मानिस कस्तो बिडम्बना ।

यसैको कारण आज अनुशासनहीनताको समस्या विकराल बन्दै गएको छ जताततै । हिँडाइमा समस्या छ, बोलाइमा समस्या छ, गराइमा समस्या छ, हेराइमा समस्या छ, खुवाइमा समस्या, सोचाइमा समस्या, बसाइमा समस्या, सुताइमा समस्या । शिक्षकमा समस्या, विद्यार्थीमा समस्या । शिक्षामा समस्या शैक्षिक निकायमा समस्या । कर्मचारीमा समस्या, व्यापारीमा समस्या । हाकिममा समस्या, कारिन्दामा समस्या । प्रहरीमा समस्या, प्रतिनिधिमा समस्या । नरमा समस्या, नारीमा समस्या । पीठोमा समस्या, मीठोमा समस्या । सुनमा समस्या, नूनमा समस्या । नीरमा समस्या, क्षीरमा समस्या । फलमा समस्या, फूलमा समस्या । आकाशमा समस्या, जमिना समस्या । हावामा समस्या, माटोमा समस्या । सर्वत्र समस्या, समस्या नै समस्या, अनुशासनहीनताकै समस्या ।

आखिर यस्तो किन ? किनकि यसको चर्चा र चिन्ता बढी गरियो, चाहिनेभन्दा बढी नै गरियो सायद । प्रकृतिको नियम के छ भने जहाँ जुन कुराको चर्चा बढी हुन्छ, त्यहाँ त्यो कुरो सस्तो हुन्छ र त्यसप्रतिको चासो घट्दै जान्छ । घरमा गयो त्यही कुरा, स्कूलमा गयो त्यही कुरा । कार्यालयमा गयो त्यही कुरा, भोजनालयमा गयो त्यही कुरा । मन्त्रालयमा गयो त्यही कुरा, पुस्तकालयमा गयो त्यही कुरा । सभामा त्यही, सेमिनारमा त्यही । बैठकरूपमा त्यही बेडरूममा त्यही । शौचमा त्यही, स्नानमा त्यही । जब हामी रातदिन जताततै अनुशासनकै कुरा गरिरहेका छौं, अनुशासन हुनुपर्छ नै भनिरहेका छौंं भने तपाईं नै भन्नुस् कसले सुन्ने, कति सुन्ने, कसरी सुन्ने ? सुन्दासुुन्दै सबैको कान पाकिसकेका छन्, थाकिसकेका छन् । जब मानिस एउटै कुरो सुन्दासुन्दा दिक्क हुन्छ, तब कानलाई आराम दिन ध्यान अन्यत्रै मोड्ने गर्छन् । फलतः नहुनुपर्ने सबै कुरा भइरहेका हुन्छन् । यहाँ भएको त्यही हो । प्रायः समस्या त्यही खडा हुन्छ जहाँ बिग्रन्छ कि भनेर बढी डराइन्छ, डराउने बनाइन्छ । कुरो गरियो अनुशासनको, चिन्ता थियो अनुशासन भंग हुन्छ कि भन्ने नतिजा आयो ठीक विपरीत ।  

त्यसो भए के गर्ने त ? केही पनि नगर्ने । मानिस स्वतन्त्र छ । स्वतन्त्रताको खोजीमा आएको छ । स्वतन्त्रै रहन दिने, केही पनि नलाद्ने । कुनै कुरामा पनि बाध्य नपार्ने । यसो गर त्यसो गर, यसो गर्नु हुँदैन, त्यसो गर्नु हुँदैन पनि नभन्ने । नकारात्मकताले नकारात्मतालाई नै निम्त्याउँछ । जहाँ निषेध गरिएको हुन्छ मानवीय स्वभाव त्यतैतिर आकर्षित भइरहेको हुन्छ । व्यक्तिगत स्वतन्त्रता सबैको हुन्छ त्यसैलाई उपभोग गर्न दिने । नानीहरूलाई पनि नराम्रो बाटोमा लागे दुःख पाइन्छ, राम्रो बाटोमा लागे सुख पाइन्छ मात्र भन्ने । तिनका केही उदाहरण वा दृष्टान्त भए प्रस्तुत गर्ने । तुलना गर्न लगाउने तर यस्तो बाटो नजाऊ त्यस्तो बाटो जाऊ नभन्ने ।

बाटो रोज्न उसैलाई दिने, जो हिँड्नेवाला छ, हिँड्न चाहिरहेको छ । नराम्रो बाटोमा लागे उसैले दुःख पाउँछ । राम्रो बाटोमा लागे सुख । किन बेकारमा अरुले टाउको दुखाउने । लाटो खान्छ एक बल्ड्याङ बाठो खान्छ तीन बल्ड्याङ भन्ने त उखानै छ । विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रम पनि सोही अनुसार तयार पार्ने, पाठ्यपुस्तक लेख्ने, लेख्न लगाउने र लागू गर्ने ।  

अब आयो कहिले कहाँबाट शुरू गर्ने भन्ने कुरो । आजैबाट शुरू गर्ने त्यो पनि तपाई हामी आफैंले आ आफ्नै घर–घरबाट । नजान्नेले चासो दिने, जान्ने प्रयास गर्ने । जान्नेले नजान्नेलाई सिकाउने । आफूआफूमै प्रयोग गर्ने । घर–घरमै जागरण ल्याउने । समाजलाई हिँडाउने, सरकारलाई हिँड्न बाध्य पार्ने । अनुशासन कायम राख्ने सजिलो तरिका यही हो ।

अरु बाटो हेरियो केही भएन । उल्टै समस्या थपियो । बाँकी उपाय यही हो, यसैलार्ई प्रयोग गरौं र अनुशासन कायम राखौं ।

असार ७, २०७६ मा प्रकाशित

कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस