इन्डोनेसियामा शक्तिशाली भूकम्प

असार ९, २०७६

जकार्ता– इन्डोनेसियाको पूर्वी भेगमा सोमवार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरूले बताएका छन् ।


ADVERTISEMENT

इन्डोनेसिया सरकारले सुनामीको चेतावनी भने दिएको छैन । तर भूकम्पको धक्का अस्ट्रेलियासम्म महसूस गरिएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार इन्डोनेसियाको आम्बोन द्वीपको दक्षिणमा उक्त भूकम्पको केन्द्रबिन्दु रहेको थियो । जमिनको सतहबाट करीब २०८ किलोमिटर मुनि उक्त भूकम्पको केन्द्र रहेकाले पनि जमिनको सतहमा खासै क्षति नपुगेको सर्भेले जनाएको छ ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले पनि जमिनमुनि निकै गहिराइमा भूकम्प गएका कारण सुनामीको चेतावनी नदिएको जनाएको छ । पपुवामा ६.१ म्याग्नीच्यूडको भूकम्प गएको केही घण्टाभित्रै इन्डोनेसियाको अम्बोनमा भूकम्प गएको हो । पपुवाको भूकम्प भने जमिनको सतहबाट २१ किलोमिटर गहिराइमा मात्र गएको थियो ।

भूकम्पीय दृष्टिबाट इन्डोनेसिया निकै जोखिममा रहेको छ । यहाँ बर्सेनि ठुल्ठूला भूकम्प जाने र जनधनको ठूलो क्षति हुने गरेको छ । गत वर्ष ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण दुई हजार २०० भन्दा बढीको मृत्यु भएको थियो । सन् २००४ को डिसेम्बर २६ मा आचेह प्रान्तमा आएको ९.१ म्याग्नीच्यूडको भूकम्पका कारण सिर्जित सुनामीबाट एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको थियो । 

Photo : Mirror 

असार ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस