न्युजील्यान्ड संसद्का सभामुखले सदनमै गरे बच्चाको स्याहार

भदौ ५, २०७६

काठमाडौं – न्युजील्यान्डको संसद्का सभामुखले सदनमै एकजना सांसदको शिशुलाई स्याहार गरेका छन् । हाउस अफ रिप्रेजेन्टेटिभ्समा सत्र चलिरहेको बेलामा उनले शिशु स्याहार गरेका हुन् । 

सभामुख ट्रेभोर मलार्डले सांसद टामाटी कोफेको छोरोलाई सभामुखको कुर्सीमा बसेर दूध पिलाएको फोटो ट्वीट गरे ।


ADVERTISEMENT

कोफे वाइआरिका क्षेत्रका लेबर सांसद हुन् र जुलाई महिनामा उनको छोरो टुटानेकाइ स्मिथ–कोफेको जन्म भएको थियो । 

शिशुलाई (भाडाको कोख) सरोगेट मदरमार्फत जन्माइएको हो र उनी कोफेका पार्टनर टिम स्मिथका जैविक सन्तान हुन् ।   

शिशुको जन्मका विषयमा ट्वीट गर्दै कोफेले आफू र आफ्नो पार्टनर जीवनको चमत्कार देखेर खुशी भएको अनि सरोगेट मदरको स्थिति उम्दा रहेको बताए । 

बुधवार कोफे पितृत्व बिदा सकेर आफ्नो शिशुलाई संसदीय बहस चलिरहँदा सदनमा ल्याएका ल्याएका थिए ।  

सत्र चलिरहेको बेलामा सभामुखले संसदीय बहस चलाएका थिए अनि शिशुको स्याहार पनि गरेका थिए । 

अनेकौं देशका सदनमा सांसदहरूले शिशु लगेको घटना हालैका वर्षमा सार्वजनिक भइरहेका छन् । 

एजेन्सी
 

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस