गाउँपालिकामा टेलिकमको द्रुत गतिको इन्टरनेट सेवा

भदौ २६, २०७६

काठमाडौं– नेपाल टेलिकमले पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवाको शुभारम्भ गरेको छ । सोमवार एक कार्यक्रमका रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा सो सेवाको शुभारम्भ गरेको हो । 

पूर्वमन्त्री तथा संसदको सार्वजनिक लेखा समितिका सभापति एवं रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरतकुमार शाहले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई एफटीटीएच प्रविधिको भ्वाइस तथा भिडिओ कल गरेर सो सेवाको विधिवत् शुभारम्भ गरे ।


ADVERTISEMENT

सो अवसरमा प्रमुख अतिथि शाहले सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिदै ग्रामीण भेगमा उच्च गतिको इन्टरनेट सेवा जडान भएकोले सबै समुदायलाई त्यसको उच्चतम प्रयोग गरी लाभान्वित हुन आग्रह गरे । 

नेपाल टेलिकम भैरहवा क्षेत्रीय निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले नेपाल टेलिकमले अंगिकार गर्नुपर्ने विभिन्न झञ्झटिला कानुनी प्रावधान र यसका कारण भोग्नु परेका समस्या बारेमा उल्लेख गर्दै कम्पनी सदैव ग्राहक सेवामा केन्द्रित रहेको बताए । 
 

कार्यक्रममा एफटीटीएच खरिद गर्ने ग्राहकहरुलाई राउटर (सीपीई) हस्तान्तरण गर्दै खादा ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा त्यस भेगका जनतालाई निःशुल्क प्रिपेड सिम समेत वितरण गरिएको थियो । 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस