सोह्रश्राद्ध , यस्तो छ शास्त्रीय मान्यता

असोज २, २०७६

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष शनिबारदेखि शुरु भएकाे छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । 

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।


ADVERTISEMENT

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्रश्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्रश्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्मकपाली श्राद्धजस्ता श्राद्धहरू प्रचलित रहेका छन् ।
  
यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सोह्रश्राद्ध अपराह्नमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो । सोह्रश्राद्धलाई पितृ तृप्तिका निमित्त उत्तम समय मानिएकाले श्राद्ध गर्ने गरिएको हो । बाबुको तिथिमा सोह्रश्राद्ध गर्नु उत्तम मानिएको पनि प्रा डा गौतमले बताउनुभयो । मङ्गलबार अपराह्न प्रतिपदा तिथिमा श्राद्ध गरिन्छ । 

यसबेलामा केही काम अवश्य गर्नुपर्छ र केही काम पटक्कै गर्नु हुँदैन । यी कुरामा ध्यान दिनुस् ।

श्राद्ध आफ्नै घरमा गर्नुपर्छ, अर्काको घरमा गर्न निषेध छ ।

श्राद्धमा तीन वस्तु पवित्र मानिन्छ : छोरीको छोरा (नाति), दिनको आठौं भाग र कालो तिल ।

श्राद्धमा तीन प्रशंसनीय कुरा छन् : बाहिरी र भित्री शुद्धता, क्रोध नगर्ने र हतार नगर्ने ।

श्राद्धकालमा गीता, भागवत, पितृसूक्त, पितृसंहिता, रुद्रसूक्त, ऐन्द्रसूक्त आदि पाठ गर्नु बुद्धि, मन र कर्म तीनै कुराको शुद्धिका लागि फलप्रद छ ।

श्राद्धमा प्रयुक्त पवित्र मन्त्र यी हुन् :
ऊँ क्रीं क्लीं ऐं सर्वपितृभ्यो स्वात्म सिद्धये ऊँ फट् ।

ऊँ सर्व पितृ प्रं प्रसन्नो भव ऊँ ।

ऊँ पितृभ्यः स्वधायिभ्यः स्वधानमः पितामहेभ्य स्वधायिभ्यः स्वधा नमः । प्रपितामहेभ्य स्वधायिभ्य स्वधा नमः अक्षन्न पितरो मीमदन्त पितरोतीतृपन्त पितरः पितरः शुन्दध्वम् । ऊँ पितृभ्यो नमः पितराय नमः ।।

श्राद्धमा गर्न नहुने काम
पद्मपुराण तथा मनुस्मृतिका अनुसार श्राद्ध देखाउनका लागि गर्ने होइन, गुप्त रूपमा गर्नुपर्छ । धनी हुनुहुन्छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी नगर्नुस् अनि भोजनको माध्यमबाट मित्रता र सामाजिक तथा व्यापारिक सम्बन्ध स्थापित नगर्नुस् ।

श्राद्धको दिन घरमा दही नमथ्नुस् ।

श्राद्धकै दिन कपाल नकाट्नुस् । अघिल्लो दिन मुण्डन नगर्नुस् ।

महाभारतका अनुसार भन्टा, गाजर, मसूरोको दाल, रहर, लौका, हींग, प्याज, लसून, बीरे नून, जामुन, सुपारी, सर्स्युँ र चनाको प्रयोग निषिद्ध छ ।

पितृपक्षमा कुनै पनि मांगलिक तथा शुभ काम गर्न वर्जित छ । यतिखेर कुँवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन ।

घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन ।

 

असोज २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस