दशैं नजिकिएसँगै ‘सिद्धबाबा पहिरो’को त्रास : सधैंको चुनावी नारा, किन खोजिन्न विकल्प ?

असोज ५, २०७६

बुटवल – गएको भदौ अन्तिम साता बुटवलबाट बाग्लुङको बरेङ जाँदै गरेको यात्रुबाहक जीप र पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको स्कोर्पियो गाडी सिद्धबाबा माथिबाट झरेको चट्टानसहितको पहिरोमा परे । पहिरोमा गाडी पुरिँदा रूपन्देहीको तिलोत्तमाका जीप चालक कमल परियारको घटनास्थलमै मृत्यु भयो । घटनामा बुटवलका चारजना गम्भीर घाइते भए । 

त्यसअघि असार २८ गते सिद्धबाबा मन्दिरनजिकै पहिरोले मोटरसाइकलमा सवार तिनाउ गाउँपालिका मित्यालका शिक्षक धनबहादुर सुनारीलाई तिनाउ नदीमा पुर्‍यायो । उनको उद्धार गर्न नपाउँदै ज्यान गयो । गतवर्ष यही सिद्धबाबा पहिरोमा परी ६ जनाको ज्यान गएको थियो । 


ADVERTISEMENT

यो सडकमा प्रत्येक वर्ष ५/६ जनाले ज्यान गुमाउने गरेका छन् । पछिल्लो ७ वर्षको अवधिमा सिद्धबाबा सडक खण्डमा भएका ३९ दुर्घटनामा ३२ जनाको मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार यो सडक खण्डमा आर्थिक वर्ष २०७०/०७१ मा ११ जना, २०७१/०७२ मा ५ जना, २०७२/०७३ मा ४ जना, ०७३/०७४ मा २ जना, २०७४/०७५ मा ४ जना र २०७५/०७६ मा ४ जनाको मृत्यु भएको छ । 

सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको तल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्म तीन किलोमिटर सडकले उपनाम नै ‘मृत्युमार्ग’ पाएको छ । दोभानदेखि बुटवलसम्मको दूरी पार नगर्दासम्म यात्रुले ढुक्कसँग सास फेर्न समेत पाउँदैनन् । 

दशैं आइपुग्न लाग्यो, वर्षात् अझै रोकिएको छैन । दशैंमा घर फर्किने यात्रुहरू सिद्धबाबा पहिरो सम्झिएर अहिले पनि त्रासमा छन् ।

गुल्मी मालिकाका धनिश्वर अर्याल भन्छन्, ‘दशैं आइसक्यो, केटाकेटी लिएर घर जानु छ । तर सिद्धबाबा सडकले जाउँ कि नजाउँ भइरहेको छ । ‘अहिलेको दशैं हिले होलाजस्तो छ । पानी परिरहेको छ । सिद्धबाबा कसरी पार गरेर घर पुगेर आउने हो भन्ने चिन्ता छ ।’ 

बुटवलबाट गुल्मीको पूर्वीभेग, पाल्पा, स्याङ्जा, बाग्लुङ, पर्वत, म्याग्दी जान यो सडकको सहज विकल्प छैन । बुटवलबाट घर फर्किनुपर्ने यात्रुहरू नारायणगढ–मुग्लिन–पोखरा हुँदै जाँदा समय र पैसा दुवै बढी खर्च हुन्छ । 

बाग्लुङ बुर्तिवाङका धु्रवराज शर्मा भन्छन्, ‘विगत दुई वर्ष कार्यालयको कामले घर जान नपाएपनि यस वर्ष जाने सोच बनाएँ, तर सिद्धबाबाको अवस्थाले दोधारमा पारिदिएको छ । घर जाने कुरा चल्यो कि सिद्धबाबा दिमागमा आउँछ । बाटो त्यस्तो छ, के गर्ने, के गर्ने ?’ 

शर्माले थपे, ‘अलिअलि पानी पर्‍यो कि यो बाटो हिँड्नै मन लाग्दैन । कोही आफन्त, साथीभाइ बाध्य भएर यही बाटो आउने भए छिनछिनमा फोन गरेर हालखबर बुझ्नुपर्छ, यस्तो डरलाग्दो छ । रुपन्देही, गुल्मी, पाल्पाका सांसदको चुनावी मुद्दा सिद्धबाबा सडक बन्छ तर, सडक निर्माण भएपछि कुनै परिवर्तन आएको छैन भन्दा पनि फरक पर्दैन ।’

सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरूङले सिद्धबाबा सडकको विकल्प नभएको बताए । उनले भने, ‘यो सडकको विकल्प छैन । अन्यत्रबाट धेरै लामो पर्छ । यही बाटोमा रकफल/रकनेट प्रविधि अपनाएर पहिरो रोक्नुपर्छ ।’

उनले थपे, ‘दोभानमा पहिरो गएपनि सिद्धबाबा, झुम्सामा पहिरो गएपनि सिद्धबाबा भन्नु गलत छ । जुन ठाउँमा गएको हो त्यही भन्नुपर्छ/लेख्नुपर्छ । ५/७ किलोमिटर टाढा पहिरो जाँदा पनि सिद्धबाबा भनिन्छ, त्यो गर्नु हुँदैन ।’ यो सडक भएर दैनिक २ हजारदेखि २५ सय सवारी साधान आवतजावत गर्छन् । यो सडकमा २०२८ सालदेखि गाडी चल्न थालेका हुन् । 

पहिरो खसेर ज्यान गुमाएको खबरपछि सडकको सुधारमाभन्दा बढी सुरुङमार्गको चर्चा शुरू हुन्छ । नेताहरू, सरकारी अधिकारीहरू आउँछन् र सुरुङमार्गको चर्चा गर्छन् । यो कुहिरे भीरबाट खस्ने पहिरो रोक्न र सडक सुधार गर्न भन्दै एक वर्षमा ५० लाखभन्दा धेरै खर्च हुन्छ । रूपन्देही र पाल्पाका जनप्रतिनिधिहरू सडकको जोखिम हटाउनेबारे कयौंपटक सार्वजनिक रूपमा बोल्छन् । सुरुङमार्गको बारेमा पनि आश्वासन सुनाउँछन् । 

तिनाउ क्षेत्रका जानकार इञ्जिनीयर डा. खेटराज दाहाल सिद्धबाबा क्षेत्रको पहाड काटेर त्यसको उपयोग गर्नुपर्ने बताउँछन् । ‘चट्टानी पहाड काटेर फालौं । त्यहाँबाट काटेर निकालिएको ढुङ्गा, बालुवा र गिट्टीमा प्रयोग गर्न सकेमा यस क्षेत्रमा दश वर्षसम्म विकास निर्माणका आयोजनाहरूमा उपयोग गर्न सकिन्छ,’ उनले भने ।

कि त सुरूङमार्ग बनाउनुपर्ने, कि पहाड काटेर फाल्नुपर्ने उनको सुझाव छ ।

सरकारले पनि सुरुङमार्ग बनाउने भन्दै अध्ययन गरेको छ । सुरुङमार्गको अध्ययनका लागि ५० लाख बजेट छुट्ट्याएर त्यसको अध्ययन पनि भएको छ । 

प्रदेश ५ सरकारले पनि यो सडकका लागि भनेर विगत दुई वर्षदेखि १०/१० करोड रुपैयाँ विनियोजन गर्दै आएको छ, तर प्रभावकारी रूपमा कामलाई अगाडि बढाउन सकेको छैन । डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख केदार नेपाल रकनेट प्रविधिभन्दा सुरुङमार्ग बढी उपयोगी र स्थायी विकल्प हुने भएकाले सुरुङमार्गकै लागि सरकारी योजना अघि बढ्न लागेको बताउँछन् । 

सडकको सबैभन्दा बढी जोखिम रहेको ३ किलोमिटर क्षेत्रमा करीब १ सयवटा सानाठूला पहिरो खस्छन् । भूगर्भविद् रञ्जन दाहाल पहाडको संरचना कमजोर भएका कारण पटक–पटक पहिरो खस्ने गरेको बताउँछन् । 
रकनेट प्रविधिको परीक्षणपछि संघीय सरकारले सुरुङमार्गको अध्ययन गरायो । 

स्वीटजरल्याण्ड सरकारको सहयोगमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार भएको छ । परामर्शदाता कम्पनी इटेगोले तयार पारेको डीपीआरका आधारमा सुरुङ बनाउने संघीय सरकारको योजना छ । डीपीआरअनुसार सुरुङ बनाउन करीब ९ अर्ब रुपैयाँ लाग्छ । सिद्धबाबादेखि दोभानसम्म करीब सवा १ किलोमिटर दूरीको सुरुङ बन्नेछ । 

यो क्षेत्रमा बढी दुर्घटना भएपछि प्रदेश र स्थानीय सरकारले वैकल्पिक मार्ग बनाउन थालेका छन् । रुपन्देहीको चरंगे–मुडाबास–चौकी भञ्ज्याङ–ज्यामिरे–झुम्सा सडक सिद्धबाबाको विकल्पको रूपमा अगाडि बढेको छ ।

पाल्पाको तिनाउ गाउँपालिकाले आसपासका अरू नगरपालिका र गाउँपालिकासँग मिलेर गत वर्ष करीब ९० लाख खर्चेर वैकल्पिक सडकको ट्र्याक खोलेको छ । 

१६ किलोमिटर लामो यो सडकको पाल्पाको झुम्सादेखि चौकी भञ्ज्याङसम्म गाडी चल्छन् । रूपन्देहीको चौकी भञ्ज्याङदेखि मुडाबाससम्मको सडक विस्तार हुनसकेको छैन ।

असोज ५, २०७६ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस