प्रकाश नेपाली : भोगटेको बल खेलेर हुर्किएका पुराना फूटबलर

कात्तिक ९, २०७६

काठमाडौं – संसारमै सबैभन्दा रुचाइएको खेल हो फूटबल । अझ फूटबल विश्वकपलाई मानिसहरूले खुब चासोका साथ हेर्ने गरेका छन् ।

सरसर्ती हेर्ने हो भने फूटबलमा यूरोपका देशहरूले बढी प्रगति गरेका छन् । भलै नेपालले फूटबल विश्वकपमा अहिलेसम्म सहभागिता जनाउन नपाए पनि यसको राम्रै क्रेज छ । शहीद स्मारक 'ए' डिभिजन लीगदेखि जिल्ला-जिल्लामा हुने गोल्डकप फूटबलप्रतिको मोह नै हो । फूटबलप्रति मानिसहरूले देखाएको माया नै हो ।


ADVERTISEMENT

फूटबलमा रुचि र केही गर्न चाहनेहरूका लागि गज्जबको ठाउँ बन्यो- टुँडिखेल । यही टुँडिखेलले धेरै फूटबलर जन्मायो । त्यसमध्येका एक हुन्- प्रकाश नेपाली (५३) ।

सिनियर दाइहरूले फूटबल खेलेको देख्दा प्रकाशको खुट्टाले पनि फूटबल नै खोज्थ्यो । तर उनका खुट्टाले फूटबल खोजे पनि पाउँदैनथे । उनले भोगटेलाई काठमाडौंका गल्लीहरूमा फूटबल सम्झेर लात्ती हाने । अझ बढी त टेबहालको नच्छेंगल्लीमा भोगटेसँग कुदे । प्रकाश बाल्यकाल सम्झन्छन्, 'हामीले बाल्यकालमा खेल्नेताका फूटबल नै हुन्थेन । धेरै गाह्रो थियो । कहिलेकाहीँ दायाँबायाँ भोगटेहरू हुन्थ्यो । बारीका भोगटे टिपेर हामीले फूटबल खेल्थ्यौं ।'

उनले टोलका दाइहरूसँग इजाँर बाँधिएको बलसमेत खेलेको स्मरण गरे ।

सबैलाई सोध्ने प्रश्न हामीले प्रकाशलाई पनि सोध्यौं- परिवारको साथ कत्तिको थियो एकछिन सोचे र उत्तर दिए, ' बाआमाले मेरो लागि धेरै नै गर्नुभयो । उहाँहरूकै कृपाले म नेशनल प्लेयर बन्न सफल भएँ ।'

त्यो तीन जना

प्रकाशले फूटबल खेल्दाताका उनका टोलका तीन जना खुब लाइटमा आएका थिए रे ! ती थिए- राजुमान तुलाधर, प्रकाश नेपाली र सुरेन्द्र शिख्राकार । तीन जनाको कम्बिनेसनबारे उनी बताउँछन्, 'हामी तीन जनाको चाहिँ एकदमै कम्बिनेसन मिल्थ्यो । पहिलापहिला खेलाडीको हाइटवाइच खेल हुन्थे । हामी तीन जना चाहिँ हत्तपत्त छुट्दैनथ्यौं ।'

उनी थप्छन्- हामी तीन जना खेलेको छ भनेपछि अरू क्लबले हामी हार्‍यौं भन्थेँ । लगभग हार मान्थे ।

उनले थाइल्याण्डमा भएको जुनियर कोकाकला कप खेले । त्यसपछि सन् १९८४ मा पाकिस्तानमा भएको एसियन यूथ पनि खेले ।

टोल संकटा । फूटबलको माहोल त हुने नै भयो । जुनियरमा खेलिरहेका थिए उनी । राम्रो फूटबल खेल्थे त्यसैले त उनी सानै उमेरमा संकटा क्लबमा ज्वोइन भए ।

उनी संकटा क्लबमा रहँदा त्यसपछि विसं २०४२ मा क्लब लीग च्याम्पियन पनि भएको थियो ।

*****

प्रकाश संकटाबाट मिडफिल्ड खेल्थे । त्यतिबेला उनी छुरा नै थिए रे मिडफिल्डमा ।

राष्ट्रिय लीग थियो सायद । म्याच आरसीटीसँग थियो । उनले दुई जना छलाएर हानेको गोल नै पहिलो थियो । सम्झन्छन्, 'त्यही गोलले हामी क्लाविफायर भएको थियो जस्तो लाग्यो ।'

*****

सन् १९८६ बाट प्रकाशले राष्ट्रिय टीममा डेब्यू गरे । पहिलो गेम कोरियामा कुवेतसँग खेले ।

त्यो बेला आफू सब्सिच्युटमा परेको उनी बताउँछन् ।

डेब्यू खेल उनी सम्झन्छन्, 'कोचले मलाई चान्स दिनुभयो । दुई तीन वटा बल मैले राम्रोसँग लगेको थिएँ तर डिफेन्सले क्लिअर गरिदियो । डिफेन्सबाट खेले पनि मैले कुवेतको पोस्टमा बल लगिरहेँ । भित्रैबाट रगत तातेर आएको थियो तर नेपाली खेलाडीमा कम्युनिकेशन राम्रो नभएर गोल हुन सकेन ।'

म्याच हारेपनि कोरियनहरूले आफूहरूलाई हूटिङ गरेको उनको स्मरणमा ताजै छ । भन्छन्- मैले कोरियनहरूलाई हात हल्लाएको थिएँ ।

कुनैबेला राष्ट्रिय टीममा पर्छु भन्ने लागेको थियो त ?

उनको उत्तर यस्तो छ – बच्चाबेलादेखि नै फूटबलमा चासो र समर्पित भएका कारण म गर्छु । नेपालको जर्सी लगाएर एकदिन मैदानमा छिर्छु भन्ने नै लागेको थियो । फूटबलकै माहोल भएका कारण राष्ट्रिय टीमबाट कुनै दिन फूटबल खेल्छु भन्ने सपना देख्नु ठूलो थिएन ।

*****

उमेरले पचास नाघेका प्रकाशको ज्यान अहिले पनि 'फिट एण्ड फाइन' छ । हेर्दा बडीबिल्डर जस्तो देखिन्छ । उमेरछँदा कस्ता थिए त उनी ? उत्तर हो- र्‍याम्बो ।

भन्छन्- मेरो फिजिकल राम्रो भएकाले नेसनल टीममा मलाई सबैले 'र्‍याम्बो' भन्थे ।

*****

केही वर्ष नेपालको प्रतिनिधित्व गरेका प्रकाशले राष्ट्रिय टीमबाट गोल भने हानेनन् । तर थुप्रैलाई गोल हान्न दिएँ । धेरैलाई एसिस्ट दिएँ ।

उनी गोल हान्ने भूमिकामा थिएनन् । डिफेन्डर भएकाले उनले ध्यान गोल गर्नभन्दा पनि कसरी गोल नखाने भन्नेमा हुन्थ्यो ।  

अहिलेको नेपाली फूटबल टीम

राष्ट्रिय टोलीबाट देशलाई प्रतिनिधित्व गराइसकेका प्रकाश नेपालीले फूटबलबाट औपचारिक रूपमा सन्यास लिएका छैनन् । केही कुराहरू नमिलेका कारण आफूले बेलामा सन्यास लिन नपाएको उनको गुनासो छ । तर उनले फूटबल नखेलेको लामो समय भइसक्यो । यसर्थ उनी खेलाडीबाट पहिलेनै बिदा भइसके ।

पुराना फूटबलरका हिसाबमा लोकान्तरकर्मीले प्रकाशलाई सोध्यो- अहिलेको नेपाली फूटबल टीमलाई कसरी नियालिरहनु भएको छ ?

उनले अहिलेका खेलाडीहरूमा के नपुगेजस्तो के नपुगेजस्तो भइरहेको बताए । भन्छन्, 'पहिलाका खेलाडीहरूमा भित्र आत्मैबाट देशकै लागि हो खेल्ने भन्ने हुन्थ्यो । तर आजभोलिका खेलाडीहरूमा के नपुगेजस्तो के नपुगेजस्तो भइरहेको छ । खल्लो जस्तो भइरहेको छ । खेलाडीले जति खेल्नुपर्ने हो त्यति खेलेका छैनन् जस्तो लाग्छ । जति पावर गेम खेल्नुपर्ने हो नखेलेको हो कि जस्तो लाग्छ ।'

'हामीले विदेशीसँग खेल्नुपर्‍यो भनेपछि रगत नै तातेर आउँथ्यो,' उनले पुराना दिन सम्झिए ।

*****

ओलम्पिक गेमको पहिलो राउन्ड नेपालमा भएको थियो । टीममा थिएनन् उनी । तर पछि केदार मानन्धर र उनलाई गोरखापत्रमा नाम निकालेर टीममा बोलाइयो रे ! दोस्रो राउन्डमा जापान चीन र थाइल्याण्ड टीम थिए । उनले जापान र थाइल्याण्डविरुद्ध खेले ।

त्यो बेला नेपालले थाइल्याण्डसँग खेलिरहेका थियो । थाइल्याण्डसँगको खेल सम्झन्छन् उनी, 'थाइल्याण्डले निकै रफ खेल्यो । तर हामी जति रफ खेलेपनि डराउने मान्छे होइन ।'  

थाइल्याण्डले अत्यधिक रफ खेलेपछि प्रकाश र अर्को एक खेलाडीले योजना बनाए- अब केही त गर्नैपर्छ । यिनीहरूलाई सबक सिकाउनुपर्छ ।

प्रकाशहरूको प्लान थियो- रफबाट बच्ने अनि एउटालाई उडाउने ।  

योजना सफल भयो तर प्रकाशलाई योजना फापेन । 

'त्यसलाई ट्र्यापमा ल्याएर त हानेका थियौं । तर स्लिप खाएर मेरो मुनिको घुँडा ठोक्कियो । त्यसपछि मेरो घुँडामा समस्या हुन थाल्यो,' भन्छन् ।

उनको खुट्टामा समस्या थियो । तैपनि 'नी क्याप' लगाएर खेल्थे । पछि त्यही बिरामी खुट्टोले नराम्रोसँग दु:ख दियो । भुटानसँग खेल्दा ट्याकल गर्दा उनको खुट्टा पिटिक्क गर्‍यो ।

त्यसपछि प्रकाश नेपाली फूटबलमा राष्ट्रिय खेलाडीको रूपमा रहिरहन सकेनन् । चोटपटक र पारिवारीक समस्याका कारण उनले फूटबलमा निरन्तरता दिन सकेनन् ।

तरपनि उनलाई अझै लाग्छ- त्योबेला अहिलेको जस्तो ग्राउन्ड पाएको भए हामी कति छुरा हुन्थ्यौं होला ।

उनले अहिलेको मैदान र आफूहरूले खेल्ने गरेको मैदान सम्झिए । 'हिलो र घाँस भएको मैदानमा खेल्नुपर्थ्यो । हिलोमा बूट दब्छ अनि कसरी कुद्ने ? कसरी खेल्ने ?' पुराना दिन सम्झन्छन् प्रकाश ।    

संकटामा प्रशिक्षक

प्रशिक्षण त उनले पहिला पनि गराइरहेका थिए तर संकटाको हकमा भने उनले टीम नै बनाउनुपर्‍यो ।

उनले टीम बिग्रिएको अवस्थामा प्रशिक्षणको जिम्मा पाए । उनी जिम्मेवारीबाट भागेनन् । सम्झन्छन्, 'राजकुमार केसी, उज्ज्वल मानन्धर, सागर थापा, जिवेश पाण्डे लगायतलाई लिएर टीम बनाएको थिएँ ।'

उनको प्रशिक्षण क्लब लागि राम्रै सावित भयो । आफूले प्रशिक्षण सम्हाल्दा संकटा लीगको फाइनलसम्म पुगेको उनले बताए ।

फूटबलमा लागेर केही पनि गुमाएको जस्तो लाग्दैन । देशको प्रतिनिधित्व गर्ने मौका पाए । यसमै म खुशी छु ।

अबको सपना

प्रकाशले नेपाली फूटबलमा सकेको दिए । ज्यान रहुञ्जेल फूटबलका लागि काम गरिरहने बताउने प्रकाशको एउटा ड्रीम प्रोजेक्ट रहेछ । त्यो हो- लोकल महिला टीम बनाउने ।

ड्रीम प्रोजेक्टबारे उनी भन्छन्, 'लोकल क्लबबाट लेडिज फूटबल टीम बनाएको छैन अहिलेसम्म । लेडिज फूटबल टीम बनाएर इतिहास बनाउन मन छ ।'

यसका लागि उनले एन्फा महासचिव इन्द्रमान तुलाधरसँग पनि कुरा गरेका छन् । इन्द्रमानले 'हुन्छ' भनेका छन् रे । इन्द्रमानले सक्दो सहयोग गर्ने आश्वासन दिएको उनले बताए ।

संकटा क्लबले साँगामा खेलाडीहरूलाई ट्रेनिङ गराउन १५ रोपनी जग्गा भाडामा दिएको छ । यसले पनि केही फूटबल उत्थानमा केही सहयोग हुने उनको अपेक्षा छ । एन्फाले जुनियर एकेडेमी खोल्नुभन्दा पहिले नै मैले साना बच्चाहरूलाई जम्मा गरेर ट्रेनिङ दिने गरेको थिएँ । २० जनाबाट शुरू गरेको २ सय जना पुगे । टुँडिखेलको ग्राउन्डमा ट्रेनिङ गराउन समस्या भयो । हरेक १५ दिनमा चिठी लिएर जानुपर्ने । गाह्रो भयो ।

 

कात्तिक ९, २०७६ मा प्रकाशित

प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस