को हुन् दुर्गा तिवारीको हत्यामा संलग्न भनिएका मनोज पुन ?

पुस ५, २०७३

काठमाडौं, ५ पुस — युवा संघ रुपन्देहीका कार्यबाहक अध्यक्ष  दुर्गा तिवारीको हत्यामा  देबदहकै स्थानीय वासिन्दा मनोज पुनको संलग्नता रहेको प्रहरीले   आशंका गरेको छ  । 


 पुन स्थानीय स्तरको गुण्डा भएको बताइन्छ  । तत्कालिन माओवादी  शान्तिप्रक्रियामा आउनुअघि एमाले कार्यकर्ता रहेका उनी माओवादी शान्तिप्रक्रियामा आएसँगै सोहि पार्टीमा प्रवेश गरेका थिए । तर पछि फेरि  एमालेमै फर्किएर पुन युवासंघमा आबद्ध  भएका थिए | युवासंघमा रहँदा   छबी नराम्रो देखिएपछि उनी पार्टीबाट निष्कासनमा  परेको  युवासंघका एक केन्द्रीय सचिवले जानकारी दिए । उनका अनुसार युवासंघमा रहँदा  उनी र  तिवारीको सम्बन्ध  राम्रो भएपनि  पछि लेनदेनमा कुरा नमिल्दा विवाद बढ्दै गएको थियो । 
सोहि कारण  उनको निकै पहिलेदेखिनै तिवारीसँग ठाकठुक पर्दै आएको प्रहरीको भनाइ छ  ।  प्रहरीको अनुसार ६ महिनाअघि नै  उनले तिवारीलाई गोली हानी  हत्या प्रयास गरेका थिए ।  तर गोली छलेर बाँचेका उनलाई केही समय अघि उनै मनोजले कुटपिट पनि गरेका थिए । त्यतिबेला प्रहरीले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेपनि  फरार रहँदै आएका थिए । 

 देबदह-६ का तिवारीलाई    सोमबार रातो मोटरसाईकलमा आएका दुई जनाले गोली  प्रहार गरेर भागेका थिए    । छातीमा गोली लागि गम्भीर घाइते उनको स्थानीय अस्पतालमा उचारको क्रममा सोमबारनै मृत्यु भएको थियो  | 

प्रहरीले  तिवारी हत्यामा पुनकै  संलग्नता रहेको  आशंका गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको छ  |
यसैबीच रुपन्देही प्रहरीले तिवारीको हत्यामा संलग्न भएको आशंकमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । देबदह एरियाबाट तीन जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

साथै कान्छिबजार भन्ने ठाउँमा एउटा मोटरसाईकल समेत आफूहरुले फेला पारेको उनले बताए । बा ५१ प ८०७३ नम्बरको मोटरसाईकल  बेवारिसे अवस्थामा फेला परेको उनले बताए  ।
सच्याइएको*


 


ADVERTISEMENT

पुस ५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस