लक-डाउनमा 'भर्चुअल' घुमघाम: पृथ्वीनारायण हिँडेको चन्द्रागिरीको बाटोदेखि सुनसान सराङकोटसम्म

हरिकुमार श्रेष्‍ठ
हरिकुमार श्रेष्‍ठ

श्रेष्ठ बंगलादेशका लागि नेपाली पूर्वराजदूत हुन् ।

एकहप्ते लक-डाउनबाट उच्चाट लागेपछि हामी बुढाबूढी घुमघामका लागि निस्कियौं । लक-डाउन लम्बिँदै थियो, तैपनि हामी कस्सियौं। महाभारतमा वर्णित कर्णको शरीरमा सुशोभित सुरक्षा कवचजस्तै हामीसँग पनि कोरोनाबाट जोगिने अभेद्य सुरक्षा कवच थियो- त्यो हो भर्चुअल घुमघाम। त्यसो त हिजोआज पूरै संसार भर्चुअल दुनियाँमा रमाइरहको छ । हामीमात्र कसरी अपवाद हुन सक्थ्यौं र ?

हामीले हाम्रो भर्चुअल यात्रा चन्द्रागिरी डाँडाबाट गर्ने निधो गर्‍यौं। कारण चन्द्रागिरी र काठमाडौं खाल्डोको अन्योन्याश्रित सम्बन्ध छ । गोर्खाली राजा पृथ्वीनारायण शाहले त्यही चन्द्रागिरी डाँडाको टुप्पामा सुस्ताउँदै गर्दा नेपाल खाल्डो हान्‍ने योजना बुनेका थिए । हाम्रा पुर्खाहरू गोरखामा उनकै प्रजा थिए । भक्तपुरका उनकै मितबा रणजित मल्लको पालमा हाम्रा पुर्खाहरू गोर्खा गएका थिए। हाम्रा सम्बन्ध भक्तपुरभन्दा गोर्खातिर बढी हुने नै भए । कारण त्यतिखेर दोहोरो नागरिकता लिने दिने चलन थिएन ।


Advertisement

चन्द्रागिरी हिल्सको केबलकार कोरोनाका कारण बन्द थियो । त्यसैले वनको बाटो हिँड्नुको विकल्प थिएन । राष्ट्रनिर्माताका पदचाप पहिल्याउँदै उनले हिँडेको गोरेटोमा पाइला बढाउँदै हामी चैत महिनाको सिर्सिरे हावा खाँदै अपराह्‍न चन्द्रगिरी डाँडामा पुग्यौं । त्यहाँबाट देखिएको काठमाडौं खाल्डोको दृश्य वर्णनातित थियो जसलाई म शब्दमा उतार्न सक्दिनँ ।

अरूबेला ३ शहर काठमाडौं तुवाँलाले ढाकेर केही देखिन्थेन । अहिले चैत महिनामा पनि काठमाडौं खाल्डो न्यानो शारदी घाममा पाहार तापिरहेको थियो । आकाश नीलो र स्वच्छ थियो, टाढाटाढाका हिमाली श्रृङ्‍खला प्रष्ट देखिन्थे । ती दृश्यले हामीलाई त्यसरी नै सम्मोहित बनाए जसरी तरेली परेका खेतका हरियाली र झुरुप्प परेका शहरका घरले पृथ्वीनारायण शाहको मन लोभ्याएको हुँदो हो । कारण, १२ हजार घरधुरी भएको उनको गोर्खा राज्यको राजधानी माझकोट बाँदर लड्ने डाँडामा अवस्थित थियो भने हरियाली खोज्न तल दरौँदी फाँटमा नै पुग्नुपर्थ्यो ।


Advertisement

मैले भर्चुअल दूरबिन काठमाडौंको खासखास ठाउँमा सोझ्याएँ । मेरी बास्सै ! मैले कहिल्यै कल्पनामा नचिताएको र सपनामा पनि नदेखेको दृश्य मेरासामु देखा परे । दूरबिन सोझ्याएर पहिले आराध्यदेव पशुपतिनाथलाई नमन गरें, पूरै देवपत्तन, मृगस्थली र वनकाली शान्त र स्निग्ध थिए। कहीँ कतै चालचुल थिएन । यही मौका छोपी आराध्यदेव महादेव आदिशक्ति पार्वतीसँग वनकालीमा दैवी क्रीडामा लीन थिए । संसारको श्रृष्टि जोगाउने धर्म जो उनको थियो ।

उता चाँगुनारायणमा मानदेव नारायणको पूजाआजामा व्यस्त देखिन्थे भने यता हाँडीगाउँको नौतले दरबारमा अंशुवर्मा आरामले घाम तापिरहेका देखिन्थे । लिच्छवी र मल्लकालको सम्मिश्रण पनि भर्चुअल दूरबिनमा प्रष्ट देख्‍न सकिन्थ्यो । महेन्द्र मल्ल किञ्‍चित् चिन्ताग्रस्त देखिन्थे । कारण काठमाडौंमा कसैको घरधुरीबाट धुवाँ निस्केको थिएन । कारण स्पष्टै थियो, लक-डाउनका कारण मानिसहरू एक छाकमा जिउ धान्‍न बाध्य थिए । त्यसमाथि इन्डक्सन बिजुली चुलोले धुवाँ निकाल्थेन । ती मल्लकालीन बुढालाई के थाहा ?

राजा प्रताप मल्लको शोकग्रस्त मलिन अनुहार केही उज्यालो देखिन्थ्यो किनकि उनले आफ्ना प्रिय पुत्र चक्रवर्तेन्द्र मल्लको सम्झनामा बनाएको रानीपोखरीले पुनःजीवन पाउन लागेको थियो । राणा प्रधानमन्त्री देव शमशेरको अनुहारमा पनि मन्द मुस्कान छाएको देखिन्थ्यो किनकि भूकम्पले जीर्ण दरबार स्कुललाई चीन सरकारले पुरानै शैलीमा निर्माण गरेको थियो । तर घण्टाघर कवि भुपि शेरचनले लेखेझैं पेन्सनवाला लाहुरेझैँ खुइलिएको बर्दी लाएर मूर्तिवत् खडा थियो ।

भर्चुअल दूरबिनलाई मैले अब असन हुँदै वसन्तपुर दरबारतिर सोझ्याएँ । असनको साँढे भन्‍ने उखान विस्मृतितिर पुगिसकेको थियो । त्यसले नवजीवन पाएछ । असनको डबलीमा मान्छे हैन, साँढेका बथानले रजगज गरिरहेका थिए । मान्छेको भीडलाई असन बजारको नाउँले पनि चिनिन्छ। तर मान्छेहरू भने दुला पसेका थिए ।

वसन्तपुर स्क्वायरमा एकतमासको सन्‍नाटा छाएको थियो । जीवित देवी कुमारी टोलाएर बसेकी थिइन् । सधैँ पर्यटकले गुल्जार हुने दरबार स्क्वायर सुनसान थियो । पहिले त्यहाँ नक्‍कली क्युरियो बेच्ने पसलेले पर्यटकलाई ठग्न ठूल्ठूला स्वरले कराइरहेको सुनिन्थ्यो । तर अहिले त्यसको ठाउँमा खान नपाएका कुकुरहरूका बथानले ठूलो स्वरमा भुकेको सुनिन्थ्यो । शायद महानगरपालिकाले केही गर्दै होला ।

भर्चुअलल दूरबिनबाट भादगाउँ र पाटनको पनि विहङ्‍गम दृश्यावलोकन गर्ने मनसुवा भयो । भुपतिन्द्र मल्ल किञ्‍चित् उदास मुद्रामा न्यातपोल मन्दिरको पटाङ्गिनीमा उँघिरहेका थिए, कारण उनले छ महिनामा नै बनाएको तीन शहरकै सबैभन्दा अग्लो पाँचतले मन्दिर भूकम्पको छ वर्ष लाग्दा पनि जीर्णोद्धार सम्पन्न भएको थिएन । तैपनि पचपन्‍न झ्यालको दरबारको संरक्षण देखेर उनले सन्तोषको सास फेरे ।

पाटनका मल्ल राजा सिद्धिनरसिंह मल्ललाई भने अर्कै चिन्ताले सताइरहेको थियो । उनको आत्माले कृष्ण मन्दिरअगाडि उनको सालिकको शिरमा बसेको सुनको चरा हेरिरहन्थ्यो । कारण त्यो सुनको चरा नउडेसम्म उनको आत्मा पाटन नगरीबाट नउड्ने जुन विश्‍वास थियो । तर अहिलेको पुस्ताले त्यसलाई किंबदन्ती सम्झिएकाले उनी किञ्‍चित् सुर्तामा थिए ।

तीन शहरको विहङ्‍गम दृश्यपछि हामी चन्द्रागिरी डाँडोबाट ओरालो लाग्यौँ, फेरि पृथ्वीनारायण शाहले हिँडेको बाटो पछ्याउँदै । भर्चुअल हिँडाइ पनि मज्जाको हुँदोरहेछ । भोक, प्यास, थकाइ केही नलाग्ने । यसो सम्झेजस्तो गरे पुग्दोरहेछ । हाम्रो यात्रा खानी खोला, नौबिसे हुँदै पृथ्वी राजमार्गको बाटो समात्दै अगाडि बढ्यो । खानीखोलामा चिया खाऊँ भनेको सबै पसल बन्द थिए। खानी नै नभएको ठाउँलाई  किन खानीखोला नाम राखे होलान् ?  बरू पहिलेकै धुनीबेसी नाम नै ठीक थियो त । अहिले त्यो धुनीबेसी काम नपाएर धुनी जगाएर बसेको रहेछ । नजिकैको व्यस्त धार्के बजार सुनसान ढाक्रे बजारजस्तो भएछ ।

हाम्रो भर्चुअल यात्रा फेरि अघि बढ्यो । बाटोमा गजुरी बजार भेटियो । तर एक हप्‍तामा नै चिन्‍न मुस्किल- खजुरीजस्तै सुकेछ । हामी मुग्लिन के पुगेका थियौं मलाई त सपना हो कि विपना जस्तो लाग्यो । मुग्लिन त पुरै मुगलानजस्तो लाग्यो । न बसका ताँती, न थकालीका होटल, न सुन्तलाका ठेलागाडाहरू । चार लेनको सुनसान सडकले खाउँलाजस्तो हेर्‍यो ।

सुनसान सडकहरू त्यति डरलाग्दा हुँदारहेछन् भन्ने कुरा आठ लेनको चकमन्‍न चक्रपथ देखेरै थाहा पाएको थिएँ । कोरोनाले कहाँसम्म गर्दो रहेछ भनेर मुग्लिनको सुनसान बजार साक्षी थियो । पहिल्यै स्कूल छँदा पढेको राजकुमार दिक्पालको कथा झल्झली याद आयो ।

त्रिशूली र मर्स्याङ्दीको दोभानमा नवनिर्मित आर्क पुल तरेपछि केही आशा आयो मनमा । तर के हुनु नि ?  आँबुखैरेनी पुगेपछि हामीले सानो छँदा गाउने त्यही उराठिलो गीतले पछ्याइहाल्योः

‘घर त खैरेनी,
हाँसेर बोलेनी मन त रोइरनी’

जस्तोसुकै विषम परिस्थितिमा पनि हामी नेपालीहरू दुःख भुलेर हाँसिरहन्छौँ, तर मन रोएको कस्ले पो देख्छ र ?

मनमा त्यस्तै कुरा खेल्दै थिए, पोखरा जाने र गोर्खा जाने दोबाटो आइपुग्यो । किन–किन मलाई गोर्खा जाने मन भएन । जसरी गोर्खा छाडेपछि पृथ्वीनारायण शाह एकपटक पनि आफ्नो पुर्ख्यौली घर गएनन्, मलाई पनि के जानु जस्तो लाग्यो । बरू पर्यटकीय नगरी पोखरा गए दिल बहलाउन सजिलो हुने ठानी हामी त्यतै हानियौं ।

एक छिनमा डुम्रे बजार आइपुगिहाल्यो । त्यहाँबाट केही माथि उकालोमा पर्यटकले असाध्यै पुल्पुल्याएको बन्दीपुर बजार आइपुग्थ्यो । हामी पनि त्यहाँ एक रात बिताएर नेवारी खाना- चिउरा, बारा, सेल र मगराती प्रसिद्ध झोल र कोदोको ढिँडोको परिकारमा रमाउने विचारमा थियौँ, तर के गर्नु- नामै काफी थियो, बन्दीपुर पूरा बन्दपुर थियो । यसपालि बन्दीपुरेले उत्साहपूर्वक मनाउने बिस्केट जात्रा नहुने निश्‍चित थियो ।

किञ्‍चित् थकथकी मान्दै हामी तल झर्‍यौं र अघि बढ्यौं । एकै छिनमा दमौली बजार आइपुगिहाल्यो । फेरि उही पुराना गीतका भाका स्मृतिपटलमा आइहालेः

‘घर त दमौली,
हामीसँग जान पाए रमाउली’

गीतमा राइम मिलाउन गण्डकी प्रदेशलाई अरू कसले भेटोस् ?  तर दमौली बजार पनि उत्तिकै सुनसान थियो, कोसँग बसेर रमाइलो गर्ने ? मन बहलाउन यसो सेती-मादी दोभानतिर लाग्यौं । बूढा महर्षि वेदव्यास गुफामा एक्लै झोक्राएर बसेका रहेछन् । महाभारतमा थप पर्व लेख्‍न उनीसँग कथा बाँकी थिएन, बचेखुचेको पनि महाभारत टेलिश्रृङ्खलामा आइसकेको थियो । 'कोरोनाभारत' लेखौं कि भन्‍ने दोधारमा रहेछन् बूढा त । त्यति लेखी सक्दासम्म दमौली बजारको मुख्य चोकमा उनको १०८ फिट अग्लो मूर्ति कसो नठडिएला ?

यस्तै सोचमा मग्न थिएँ, हाम्रो भर्चुअल गाडी कति चाँडै खैरेनीटार आइपुगेछ । आइनपुगोस् पनि किन ? जाम-साम कतै थिएन । प्रतिघण्टा १०० कोलोमिटरको तीव्र गतिमा ड्राइभरले गाडी हाँक्दै थिए । खैरेनी बजार पुगेपछि म फेरि स्मृतिमा डुब्न थालेँ । धेरै वर्षपहिले पढेको मञ्जुश्री थापा लिखित Tutor of History का पाना पुनः याद आए । खैरेनीटारकै सेरोफेरोमा लेखिएको त्यो किताबका पात्रजस्तो सजिव भलै धेरै पढ्न पाएको छैन । कति त वास्तविकतासँग पनि मेल खाँदा हुन् ।

खैरेनीटारमा हामी रोकिएनौं, फटाफट अघि बढ्यौं । केही छिनमा विजयपुर खोला आइपुगिहाल्यौं । विजयपुर खोलाको पुल के तर्नु थियो- मलाई सरोज गोपालको यादले सताइहाल्यो । कुनै बेला उनले गाएको 'देउराली उकाली चढेर, विजयपुर खोला तरेर' बोलको गीतले तहल्का मच्चाएको थियो । ‘ज्यानलाई पर्नु पीर पर्‍यो’ भन्ने शब्द सरोज गोपालले अहिलेको विषम परिस्थितिलाई मध्यनजर राखेर टिपेका रहेछन् भन्ने कुरा स्वयं उनलाई पनि के थाहा ? स्वर्गमा बसेर उनी त्यही गीत गुन्गुनाइरहेका होलान्- ज्यानलाई पर्नु पीर पर्‍यो ।

त्यही गीतको भाका टिपी गुन्गुनाउँदै हामी पर्यटकीय नगरी पोखरा प्रवेश गर्‍यौं । हामीले होटेल बुक गरेका थिएनौं । लेकसाइडमा सस्तो बेड एण्ड ब्रेकफास्ट कसो नपाइएला भन्ने सोचमा थियौं तर पूरै लेकसाइड लक-डाउनले चकमन्‍न रहेछ । पर्यटकका नाउँमा हामी दुई बुढाबूढी लखरलखर हिँडिरहेका थियौं । पर्यटकले भरिभराउ हुने लेकसाइड त लोन्ली साइड (Lonely side) पो भएछ। लोन्ली प्लानेट नामक विश्‍वप्रसिद्ध Travel Guide ले आफ्नो आगामी अंकमा Lonely Side नाम दिएर exotic holiday destination मा समावेश गर्ने पक्का छ रे !

रातको बाह्र बजेसम्म गुल्जार हुने बैदाम पर्यटक नपाएर बदामको खोस्टो छोडाएर समय काट्दै रहेछ । फेवातालको तिरैतिर पामेसम्मै लम्बिएका रेष्ट्राँ, क्याफे पनि मनाङको चामेभन्दा पनि सुनसान बनेछन् । हामीलाई लेकसाइड डुल्ने मन भएन । तालबाराही मन्दिर दर्शन गरेर हामी सराङकोट डाँडातिर लाग्यौं ।

तर कठैबरी, सराङकोट ! सूर्योदयको मनोरम दृश्य खिच्न सखारै त्यहाँ आउने पर्यटक नपाएर सुनसान थियो । सराङकोट अहिले सारङ्गीकोटजस्तै भएको थियो । हामी त्यहाँ पुग्दा एक जना बूढा गाइने सारङ्गीमा झलकमान गन्धर्वको ‘हे बरै’ बोलको विरह गीत बजाइरहेका थिए। हामीलाई हुनुबिधि नरमाइलो लाग्यो ।

सराङकोटबाट टाढाका डाँडाकाँडा पनि प्रस्ट देखिन्थे, जस्तो- घान्द्रुक, धम्पुस, नौडाँडा आदि । हाम्रो भर्चुअल दूरबीनले हेर्दा फेरि बैराग लाग्यो । घान्द्रुक त गुन्द्रुकजस्तै चाउरिएछ । त्यस्तो चहलपहल हुने गाउँको अहिले यो हाल ? नौडाँडाको नयाँ नाम ‘नआऊ डाँडा’ राखिएछ । त्यता मान्छे आयो कि ‘नआऊ, नआऊ’ भन्ने । धम्पुस गाउँमाथि लालीगुराँसको वनको फेदीमा प्रसिद्ध अष्ट्रियन क्याम्प छ । स्वदेशी, विदेशी पर्यटक भुतुक्कै हुने त्यो ठाउँ अहिले ‘आष्ट्रिच क्याम्प’मा रूपान्तरण भएछ । दूरबिन सोझ्याउँदा दुईवटा आस्ट्रिच चरा एकआपसमा नबुझिने भाषामा कुरा गर्दै थिए ।

उदास उदास हामी सराङकोटबाट ओह्रालो झर्‍यौं । प्याराग्लाइडिङ पनि थिएन । भए पनि हलिडे मुड थिएन । उद्‍विग्न मनलाई शान्त पार्न हाम्रा पइँताला विन्ध्यवासिनी मन्दिरतिर बढे । मन्दिरको प्राङ्गण शान्त, शुभ्र र स्निग्ध थियो । त्यहाँबाट अन्‍नपूर्ण र माछापुच्छ्रे हाँसेको अपरिमित दृश्य छर्लङ्ग देखिन्थ्यो । विन्ध्यवासिनी मन्दिरको प्राङ्गणमा एकचित्त लगाएर आँखा चिम्लेर कतिबेर बसियो थाहै भएन । स्वतस्फुर्त साधना भनेको त्यसैलाई भन्दा हुन् ।

साधनामा लिप्‍त हुँदा लाग्यो- सकल प्राणी र मानव जीवन अनित्य छ । अनित्य छ भन्‍ने जान्दा जान्दै मानिस तर हार खाने प्राणी होइन । इच्छाशक्ति भएरै एक्‍काइसौं शताब्दीसम्म आउन सकेको हो । जसरी रातपछि दिन आउँछ, अँध्यारोपछि उज्यालो आउँछ, त्यस्तै हो मानव जीवन पनि । आँसुपछि हाँसो, दुःख अनि सुख उसको जीवनका अभिन्‍न अङ्ग हुन् । व्यवधान त आउँछन् उसका जीवनमा, तर ऊ जहिल्यै त्यसबाट अघि बढिरहन्छ, हिँडिरहन्छ, हिँडिरहन्छ । उसको गति कहिल्यै रोकिएन, रोकिँदैन पनि । त्यसो नहुँदो हो त मानव सभ्यता उहिल्यै समाप्‍त हुने थियो ।

यता म आफ्नो अन्तर्मनसँग गहिरो साक्षात्कारमा लिप्‍त थिएँ, उता भान्साबाट श्रीमतीको मसिनो स्वर आयो- ‘कति घोरिइरहेको भन्या, जाउलो सेलाउन थालिसक्यो।’

म भर्चुअल वर्ल्डबाट रियल वर्ल्डमा आउँदा लक-डाउन झनै कडा भएको थियो । सडक सुनसान। भुस्याहा कुकुरबाहेक सडकमा केही थिएनन् ।

हरिकुमार श्रेष्‍ठ
हरिकुमार श्रेष्‍ठ

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्