ओम्‍नी ब्रान्डमा तुलहरिको व्यापार

तुलहरिसिंह भुसाल तस्बिर : हिमाल खबर/कान्तिपुर दैनिक

कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद प्रकरणअघि व्यावसायिक क्षेत्रमा तुलहरिसिंह भुसाल खासै सुनिएको नाम होइन । उनी नेपालको ठूलो व्यावसायिक घरानाका व्यक्ति होइनन् ।

राजनीतिक रूपमा पनि त्यति सक्रिय वा पहुँचवाला होइनन् तर कान्तिपुरलाई प्राप्त विवरणमा उनी कर्पाेरेट क्षेत्र र सरकारी निकायहरूको ठेक्कापट्टामा जम्दै गएको देखिन्छ। ‘उहाँले जुन दिनबाट व्यापार गर्नुभयो, पछाडि फर्किएर हेर्नुपरेन,’ तुलहरि निकट स्रोतले भन्यो, ‘कर्पोरेट क्षेत्रमा होस् वा सरकारी, उहाँको कम्पनीले ठेक्का हालेको ठाउँमा पछि हट्नै परेन।’


Advertisement

डेरावालदेखि तीन देशका कम्पनी मालिकसम्म

विश्व बैंक र एसियाली विकास बैंकमा परामर्शदाताका रूपमा काम गर्दागर्दै अर्घाखाँचीका तुलहरि ०६३ असार ४ गते ओम्नी बिजनेस कर्पाेरेट इन्टरनेसनल (ओबीसीआई) नामक कम्पनी खोलेर व्यापारतर्फ मोडिएका हुन्। त्यतिखेर उनी ललितपुरको कुपन्डोलस्थित दुर्गाप्रसाद बेल्बासेको घरमा भाडा तिरेर बस्थे। तुलहरिले उनै घरधनी बेल्बासे र साबिक सिद्धबाबा गाविस–९ अर्घाखाँचीका भानुभक्त भट्टराईका नाममा ओबीसीआई कम्पनी दर्ता गरे। आफ्ना नाममा कम्पनी दर्ता नगरी उनले सुरुवाती दिनदेखि नै व्यापारिक चलाखी गरेको देखिन्छ।


Advertisement

सूचना प्रविधिमा पोख्त भुसालले ओम्नीकै ब्रान्डबाट कम्प्युटर आपूर्ति सुरु गरे। सुरुमा उनले सबैभन्दा धेरै व्यापार बैंक तथा वित्तीय संस्थाहरूसँग गरे। ‘सिटिजन्स बैंकसँगको यस्तै प्रकृतिको कारोबार नै बैंकिङ क्षेत्रमा उहाँले थालेको सप्लाइको पहिलो बिन्दु हो,’ भुसाल निकट स्रोतले भन्यो। उनका अनुसार ०६३ सालयता इलेक्ट्रोनिक सामग्री खरिदसम्बन्धी ओम्नीले टेन्डर हालेका ठाउँमा अरू कसैको पर्ने सम्भावना शून्यप्राय छ। ‘हामीले चिनेकै आधारमा कतिपय आईटीका सामान आपूर्ति गर्ने साथीहरूलाई टेन्डर भर्नुस् न भन्थ्यौं,’ ६४/६५ सालतिरको कुरा स्मरण गर्दै स्रोतले भन्यो, ‘उनीहरूले हालेका ठाउँमा नहाल्ने भन्ने जवाफ दिन्थे। हुन पनि तुलहरिजीले फ्याक्ट्रीकै मूल्यभन्दा सस्तोमा कोटेसन भर्नुहुन्थ्यो, उहाँलाई नै काम नदिई सुखै हुन्थेन।’


त्यसरी सस्तो सामान दिन कसरी सम्भव हुन्छ भन्ने जिज्ञासामा स्रोतले भन्यो, ‘कसैले किनेको मेसिनरी सामान केही महिना चलाएपछि कुनै कम्पनीलाई बेच्ने हो। निश्चित समय मात्रै त्यस्ता सामान चाहिने र फेरि लिलामीबाट बिक्री गर्ने परियोजना हुन्छन्। त्यस्ता निकायबाट उनैले ती सामग्री प्राप्त गर्थे र मोडिफाइ गरेर फस्ट ह्यान्ड भन्दै बिक्री गर्थे। यस्ता सामान ३० देखि ४० प्रतिशत कम मूल्यमा बेच्दा पनि घाटा लाग्दैन।’


तुलहरि वारेन्टी/ग्यारेन्टीको नक्कली कागजसमेत बनाउँथे। ‘यस्तो काम गर्न सरकारी निकायमा त निकै सजिलो छ,’ स्रोतले भन्यो, ‘बैंक तथा वित्तीय संस्थामा समेत यस्तो धन्दा सजिलै चल्दोरहेछ।’ हुन पनि नेपालको बैंक तथा वित्तीय संस्थाले कतिपय एटिएम मेसिनदेखि विभिन्न प्राविधिक उपकरण ‘सेकेन्ड ह्यान्ड’ खरिद गरेर ग्राहकको तथ्यांक र नगद मौज्दात सुरक्षित नगरेको विवरण सार्वजनिक भइसकेका छन्। ‘तर ती सबै सामग्री तुलहरिले नै बिक्री गरेका भने हैनन्,’ स्रोतले भन्यो, ‘बैंकहरूमा यस्तो धन्दा झन् सजिलो छ भन्न खोजेको मात्रै हो।’ संघ, प्रदेश र स्थानीय तहको गत निर्वाचन ताका ओम्नीले निर्वाचन आयोगमा यस्तै सेकेन्ड ह्यान्ड प्रिन्टर बिक्री गरेको थियो।


कम्प्युटर आपूर्तिको सफलतासँगै तुलहरिले बिस्तारै व्यापारको दायरा बढाए। ६३/६४ ताका देशमा ‘लोडसेडिङ अन्धकार’ बढेसँगै उनले हात हालेको जेनेरटरको व्यापार पनि चम्कियो। यही क्रममा चिनियाँ व्यापारीसँगको सम्बन्ध पनि दरिलो बन्दै गयो। ‘उहाँ कम्तीमा महिनाको एकपटक चीन जानुहन्छ,’ ओम्नीसँग आबद्ध एक कर्मचारीले भने।

ओम्‍नी, तुलहरि र युवराज शर्माको बालुवाटार सम्बन्ध
तुलहरिको कम्पनी विस्तार भएर भारत र सिंगापुरसम्म पुग्यो। कान्तिपुरलाई प्राप्त कागजातअनुसार उनले सिंगापुरस्थित आफ्नै कम्पनी ब्यांकोटेकमार्फत नेपालमा सामान आपूर्ति गर्दै आएका छन्। २०६६ पुस २० (जनवरी ४, २०१०) मा सिंगापुरमा दर्ता गरिएको यो कम्पनीमा तुलहरिको ९० प्रतिशत सेयर छ भने एक जना स्थानीय साझेदार छन्। सिंगापुरमा पनि ओबीसीआई नाम गरेको कम्पनी छ, जसको लगानीकर्ता भने खुल्न सकेन।


तुलहरि भारतको टेक्नोलोजिज प्राइभेट लिमिटेड कम्पनीका निर्देशक हुन्। यसमा उनले आफ्नो नाम तुलबहादुर सिंह (हरि) लेखेका छन्। कान्तिपुरलाई प्राप्त कागजातअनुसार उनले ‘तुलबहादुर, तुलहरि, तुल नाम र सिंह, भुसाल थरलाई फरक फरक ठाउँमा फरक फरक रूपमा प्रयोग गर्ने गरेका छन्। नाम फरक पारे जस्तै उनको बसाइ पनि फरक फरक देशमा हुने गरेको छ। नेपाल, भारत, दुबई, सिंगापुर र पछिल्लो सयम चीनका व्यापारिक मुकाममा लगभग उत्तिउत्तिकै दरमा उनको बसाइ हुने गरेको उनीनिकट स्रोतले बतायो। ‘तीन वर्षअघि क्यान्सरको उपचार तुलहरिले सिंगापुरमै गराएका थिए,’ स्रोतले भन्यो, ‘गैरनागरिकका लागि सिंगापुरको स्वास्थ्य उपचार निकै महँगो मानिन्छ।’ उनले सिंह थरकी भारतीय युवतीसँग विवाह गरेका हुन्।


सत्ता सम्बन्धका सेतु शर्मा परिवार

व्यावसायिक सफलतासँगै तुलहरिको सम्बन्ध अल्फाबिटाका सञ्चालक द्विराज शर्मासँग भयो। २ वर्षअघि तुलहरि र द्विराज मिलेर सानेपामा सगोलमा घर र जग्गा किने, जुन घरमा पहिला नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई बस्थे। पछि उनीहरूले भागबन्डा गरेर घर द्विराज र जग्गा तुलहरिका नाममा गरे। त्यसपछि तुलहरिले सानेपामै दुइटा घर जोडे, एउटामा उनी बस्छन् भने अर्को विदेशीलाई भाडामा लगाएका छन्।
द्विराजका दाजुुभाइ युवराज र भीष्मराजसँग पनि तुलहरिको सम्बन्ध भयो। उनीहरूका बुबा शिवप्रसाद शिवाकोटी झापा आन्दोलनमा संलग्न थिए। त्यही सम्बन्धका आधारमा शर्मा दाजुभाइ प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिल्यैदेखि निकट थिए। द्विराज र युवराजको संगतले ओम्नीका मालिक तुलहरिलाई प्रधानमन्त्री कार्यालसम्म पहुँचका लागि ढोका खुल्यो। त्यो सम्बन्धको प्रमाण प्रधानमन्त्री कार्यालयको वार रुम हो। वार रुम पनि ओम्नीले निकै सस्तोमा बनाएको जानकारहरू बताउँछन्। ‘अरूले ७ करोडमा टेन्डर हाल्दा ओम्नीले ४ करोडमा हालेको थियो,’ स्रोतले भन्यो, ‘यो उसको पहिल्यैदेखिको तरिका हो।’ त्यही बेलै ओम्नीसँग सरकारले मन्त्रीहरूका लागि भनेर ७५ थान एप्पलको म्याकबुक किनेको थियो। जबकि मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय मात्रै हुने संवैधानिक प्रावधान छ।

ओम्‍नीलाई नै सघाउँदै सरकार
ओम्नी र सरकारबीचका सम्बन्ध सेतु उनै युवराज नै हुन्। ठेक्का मिलाइदिएबापत युवराजले ओम्नीबाट निश्चित रकम कमिसन बुझ्ने गरेको स्रोतको भनाइ छ। युवराजको यो काममा उनका जेठान रविन श्रेष्ठ पनि जोडिन्छन् तर ओम्नीको प्रवक्ता भन्दै हिँडिरहेका रविनको यसअघि उक्त कम्पनीसँग कुनै सम्बन्ध थिएन। ‘रविन श्रेष्ठ नाम गरेको कोही मान्छे ओम्नीमा आएको देखेको छैन,’ ओम्नीका ती कर्मचारीले भने, ‘एकाएक प्रवक्ता भनेर प्रचार भएपछि हामी छक्क पर्‍यौं।’ श्रेष्ठ काठमाडौंमा विज्ञापन एजेन्सी चलाउँछन्। युवराजकै कारण हुनुपर्छ, उनको पनि बालुवाटार आउजाउ एकदमै बाक्लो हुन्छ।


सरकार र उच्चपदस्थ अधिकारीहरूसँगको आत्मीय सम्बन्धका कारण ओम्नीले हात हालेको कुनै पनि सरकारी ठेक्काबाट उनी पछि हट्नै परेन। त्यसैको सिलसिला हो देशभरका सामुदायिक विद्यालयमा आईटी ल्याब खोल्ने करिब साढे ३ अर्बको प्रोजेक्ट ओम्नी समूहलाई पर्नु। नेपाल दूरसञ्चार प्राधिकरणले ९ सय ३० वटा विद्यालयमा आईटी ल्याब खोल्ने भनेर अघि बढाएको परियोजनामा ९७ वटा विद्यालय त काभ्रेका मात्रै परेका छन्। तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको गृहजिल्ला रहेको काभ्रेका यतिका धेरै विद्यालय छनोटमा पर्नुलाई संयोग मात्रै मान्न नसकिने जानकारहरूको भनाइ छ।


यसपालि पनि स्वास्थ्य उपकरण किन्ने भनेर सरकारले तयारी थालेपछि ओम्नीको दौडधुप एकदमै व्यापक भएको थियो। ओम्नीका लगानीकर्ता नभए पनि तुलहरिलाई सघाउने प्रमुख पात्र थिए युवराज। तुलहरिसँगको सम्बन्धलाई युवराजले स्वीकार गरिसकेका छन्। ‘ओम्नी समूहका सञ्चालक तुलहरि सिंह एक परिचित व्यक्ति भएकाले मेरो नातेदार उद्यमी व्यवसायी रविन श्रेष्ठलाई सो खरिद प्रक्रियामा सहयोग गर्न अनुरोध गरेँ,’ युवराजले केही दिनअघि विज्ञप्ति जारी गर्दै भनेका छन्। स्वास्थ्य सामग्री खरिदमा यति धेरै बदनाम भइसके पनि ओम्नीलाई उनीहरूले सघाउन छाडेका छैनन्। पहिले सिंहदरबारभित्र सेटिङ मिलेपछि मात्रै स्वास्थ्यसेवा विभागले ओम्नीसँग सम्झौता गरेको थियो, जसमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालको सम्बन्धबारे कान्तिपुरले सार्वजनिक गरिसकेको छ।


आवरणमा सीमा सिटौला

सम्झौता गर्दा ओम्नीकै कार्यकारी निर्देशक भनेर अर्का एक जना पात्र आइन् सीमा सिटौला। स्थायी घर झापा भएकी सीमा छालारोग विशेषज्ञ हुन्। उनी ओम्नीले नै पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटमा सञ्चालन गरेको स्किन केयरसम्बन्धी क्लिनिक हेर्छिन्। ‘एकदम महँगो छ त्यो क्लिनिक। एकपटक भित्र छिरेपछि कम्तीमा ५० हजारको बिल उठ्छ,’ क्लिनिकसित नजिक रहेका एक व्यक्तिले भने, ‘त्यहाँ स्किन केयरसम्बन्धी जापानी ब्रान्डका सामग्री धेरै चलाइन्छ।’

स्वास्थ्य सामग्री खरिदको विषय भएकाले स्वास्थ्य सेवा विभागसँग औषधि खरिद गर्ने सम्झौतामा कम्पनीका तर्फबाट सिटौलाले नै हस्ताक्षर गरेकी थिइन्। यही कम्पनीका आधारमा ओम्नीले आफूहरूले स्वास्थ्य सामग्रीसमेत खरिद गर्दै आएको दाबी गरेको थियो।


ओम्नी ब्रान्डमा तुलहरिको व्यापार बहुआयामिक देखिन्छ। उनले ०६६ असार १७ गते एक्सेस वल्र्ड नामको कम्पनी दर्ता गरी डाटा सेन्टर सञ्चालन गर्न थाले। एटेन नामक कम्पनी दर्ता प्रक्रियामा छ। यसको उद्देश्य पठाओ र टुटलले जस्तै यात्रु ओसारपसार गर्ने हो।


तुलहरिको व्यापारिक र व्यक्तिगत जिन्दगीसँग नजिक रहेका केही मान्छेको कुरा सुन्दा र बुझ्दा पनि उनको व्यापारिक प्रगति स्वाभाविक देखिँदैन। उनका निकटवर्तीहरूका अनुसार ५ वर्षअघिसम्म बेल्बासेका घरमा भाडामा बस्ने तुलहरिका अहिले सानेपामा मात्रै तीनवटा घर छन्, अरू अदृश्य सम्पत्तिको हिसाब भएन। ‘यही बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सक्रिय हुनुपर्ने,’ ओम्नीको विवरण सार्वजनिक भएलगत्तै विभागमा काम गरेका एक उच्च अधिकारीले भनेका थिए, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का प्रक्रिया कानुन सम्मत भए नभएको हेर्ला तर निजी क्षेत्रबाट हुने शंकास्पद गतिविधिका विषयमा अख्तियार जस्तै विभाग सक्रिय हुनुपर्ने होइन र?’


विभागका अधिकारीहरूले यसबारे जानकारी नभएको बताए। पुरानै फाइलहरू हेर्न विभागलाई भ्याइनभ्याइ छ। ‘अध्ययन सकिएका फाइलको मुद्दा दर्ता गर्नसमेत प्रधानमन्त्रीको ग्रिन सिग्नल कुरेर विभाग बसिरहेको छ,’ विभागलाई नजिकबाट नियालिरहेका अधिकारीले भने, ‘घटना सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीले नै यसमा मन्त्रिपरिषद्ले स्वामित्व लिनुपर्छ भनिसकेपछि झन् कसरी उसले अध्ययन गर्नु?’ कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्