बैशाख २०, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...
बैशाख २७, २०७७
कोरोनाभाइरस महाव्याधि फैलिनुमा वातावरण विनाश जिम्मेवार रहेको तथ्य वैज्ञानिकहरूले स्वीकार गरिसकेका छन् । प्रकृतिलाई भोग्य वस्तु मानेर त्यसको अनावश्यक तथा अत्यधिक दोहन गरिएकाले विभिन्न किसिमका रोगाणुहरू उत्पन्न भएका हुन् भनी वातावरणविद्हरूले लेखिरहेका छन् । विशेषगरी वन फँडानी गरेर वन्यजन्तुको निवासस्थान उजाडेपछि ती जन्तुमा रहेका जीवाणु मानिसमा सर्न पुगेको पाइएको छ ।
भौतिकवादी पश्चिमी विश्वदृष्टिमा प्रकृतिलाई जड मानिएको छ । त्यसैले प्रकृतिलाई वस्तुकरण गरेर त्यसको दोहनमा उनीहरू उद्यत भएका हुन् । पश्चिमले जतिजति भौतिक प्रगति गर्दै गयो, प्रकृतिको क्षयीकरण पनि त्यसै अनुपातमा बढ्दै गयो ।
पृथ्वीमा मनुष्य, पशुपक्षी तथा बोटबिरुवा यी तीन अवयवहरू अन्योन्याश्रित सम्बन्धमा बसेका छन् । तर मनुष्य अन्य दुई अवयवमाथि हावी हुँदै गएपछि भने प्रकृतिको चक्रमा गडबडी देखिन थालेको हो । मानवीय क्रियाकलापका कारण प्रकृतिचक्र तोडिएकाले वातावरण असन्तुलन हुन गई प्रजातिहरू नष्ट हुने क्रम जारी छ । यसरी अन्य प्रजातिहरू नष्ट हुँदै जाँदा मानव चाहिँ बाँकी रहन्छ भन्ने कुनै ठोकुवा गर्न सकिँदैन ।
तर सनातनी हिन्दू मान्यतामा प्रकृति जड वस्तु हैन । यसको चिन्मय स्वरूप हुन्छ अर्थात् यो चेतनशील छ । सांख्यदर्शनमा प्रकृति र पुरुषको संयोगले जीवन विकसित भएको उल्लेख छ । सम्पूर्ण विश्वको लालनपालन प्रकृतिले गर्ने भएकाले प्रकृतिलाई मातृशक्तिको मान्यता दिइएको छ ।
पश्चिमी भौतिकवादमा रमाएर वैदिक मूल्यमान्यतालाई बिर्सेका पूर्वीयहरूले आफ्नो मूल जरोबाट पाठ सिक्ने अवसर महाव्याधिले दिएको छ । वैदिक पद्धति हेर्ने हो भने स्वस्थ जीवन निर्वाहका लागि अनेकौं व्यवस्था गरिएको पाइन्छ । जस्तो, बोटबिरुवा र पशुपक्षीको महत्त्व बुझेर स्वस्थ तथा आध्यात्मिक जीवन बिताउन चार आश्रमहरूको परिकल्पना गरिएको हो ।
चार आश्रममा ब्रह्मचर्य आश्रम भनेको जंगलको छेउमा रहेको ऋषिको कुटीमा गएर भौतिक सुखसुविधा त्याग्दै विद्या अध्ययन गर्नु हो । अनि अध्ययन सकेर गृहस्थ आश्रममा प्रवेश गरिन्छ र वंश अघि बढाउनका लागि सन्तानोत्पादन र लालनपालन गरिन्छ । त्यसक्रममा प्रकृतिबाट प्राप्त वस्तुको उपभोग गरिन्छ ।
सन्तान आफैंमा सक्षम भएपछि वानप्रस्थ आश्रममा प्रवेश गरिन्छ । त्यो भनेको जंगलतिर जानु हो । धनधान्य सबै परित्याग गरेर जंगल जानु नै वानप्रस्थको लक्ष्य हो । अनि संन्यास आश्रम भनेको त सम्पूर्ण भोगचलन त्यागेर जंगलमा नै तपस्यामा लीन हुनु हो अनि त्यहीँ देहत्याग गर्नु हो ।
यसरी हेर्दा चार आश्रममध्ये गृहस्थ आश्रममा मात्र भौतिक सुखसुविधा भोगको अवसर पाइएको देखिन्छ । आधाभन्दा बढी जीवन जंगलमा बिताउने व्यवस्था गरिँदा मानिसले वन फँडानी गर्नु अत्यन्तै अव्यावहारिक हुन्थ्यो । ऊ त झन् धेरै बोटबिरुवा रोपेर पशुपक्षीहरूसँग साहचर्य गर्न खोज्थ्यो ।
गृहस्थ आश्रममा हुँदा पनि घर वरिपरि विभिन्न बोटबिरुवा हुर्काएर तिनबाट प्राप्त फल तथा काठदाउराको उपभोग गर्ने चलन थियो । आवश्यकता पर्दा मात्र रुखहरू काट्ने र तत्कालै बोटबिरुवा रोपेर क्षतिपूर्ति गरिहाल्ने अभ्यास थियो ।
मत्स्य पुराणमा रुखबिरुवा पुत्र जस्तै हुन् भनी लेखिएको छ ।
दशकूपसमा वापी दशवापीसमो ह्रदः
दशह्रदसमः पुत्रो दशपुत्रसमस्तरुः ।।
अर्थात् लोककल्याणको दृष्टिबाट हेर्दा दशवटा इनार बराबर एक तलाउ हुन्छ । दशवटा तलाउ बराबर एक ताल हुन्छ । दश ताल बराबर एक पुत्र हुन्छ । दश पुत्र बराबर एक रुख हुन्छ ।
भनाइको अर्थ हो दशजना पुत्रले जीवनकालमा मातापितालाई जति सुख दिन्छन्, एउटा वृक्ष एक्लैले त्यति सुख दिन्छ ।
अनि वराह पुराणमा पनि असल छोरोले कुलको रक्षा गर्छ, त्यसैगरी फल र फूल भएको वृक्षले आफ्नो जगेर्ना गर्नेलाई नरक जानबाट जोगाउँछ भनी लेखिएको छ ।
जसरी मातापिताले आफ्नो पुत्रलाई काट्ने कल्पना पनि गर्न सक्दैनन्, त्यसैगरी रुखबिरुवालाई अनावश्यक नकाट्न हाम्रा धर्मग्रन्थहरूले सल्लाह दिएका छन् । जस्तो :
तृणैकच्छेदमात्रेण प्रोच्यते क्षय आयुषः (पराशरस्मृति)
अर्थात्, एउटा घाँस मात्र पनि निरर्थक काटेमा मनुष्यको आयु घट्न थाल्छ ।
अनि पशुपक्षीहरूलाई उपभोगको वस्तु नबनाएर तिनको पूजा गर्ने संस्कार पनि हामीहरूले पालन गर्र्छौं । तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गर्ने अनि तिनीहरूलाई भोजन गराउने संस्कार नै छ । पशुपक्षीसँग बस्न र तिनीहरूप्रति करुणाको भाव राख्न हाम्रो संस्कारले हामीलाई सिकाएको छ । कुनै पनि प्राणीको हिंसा नगर्नू भनी वेदले नै बताएको छ : मा हिंस्या सर्वा भूतानि ।
प्रकृतिबाट विमुख भएर भौतिकवादी बन्दा हामीलाई तीन तापले सताउने कुरा पनि ग्रन्थहरूमा भेटिन्छ । आधिभौतिक, आधिदैविक र आध्यात्मिक तापले मनुष्यलाई दुःख दिन्छन् । सांख्यशास्त्रमा यसलाई दुःखत्रय नाम दिइएको छ । आध्यात्मिक दुःख भन्नाले रोगव्याधि अनि शारीरिक तथा मानसिक पीडा हो । कोरोनाभाइरस महाव्याधिका कारण अहिले संसारभरि मानिसहरू आध्यात्मिक दुःख सहिरहेका छन् ।
आधिभौतिक दुःख भनेको स्थावर तथा जंगम वस्तु अर्थात् चल्ने र नचल्ने वस्तुबाट हुने दुःख हो । विशेषगरी पशुआदिबाट हुने दुःखलाई यहाँ इंगित गर्न खोजिएको हो । कोरोनाभाइरस महाव्याधि पनि पशुमा रहेको जीवाणु नै मानिसमा रोगाणु बनेर आएको अनि फैलिएको वैज्ञानिकहरूको कथन छ । त्यस अर्थमा यो आधिभौतिक दुःख पनि हो ।
आधिदैविक दुःख चाहिँ प्राकृतिक प्रकोपबाट हुने दुःख हो । आँधीबेहरी, बाढीपहिरो, अत्यधिक जाडो र अत्यधिक गर्मी यसअन्तर्गत पर्छ । अहिले मानव गतिविधिका कारण भइरहेको जलवायु परिवर्तन र विश्व तापक्रममा वृद्धिले अनेक किसिमका प्रकोप ल्याइरहेको वैज्ञानिकहरू बताउँछन् । आधिदैविक दुःखका लागि पनि यसरी मनुष्य नै जिम्मेवार छन् ।
यी तापहरूलाई बुझेमा ज्ञान तथा वैराग्य प्राप्त हुन्छ भनी विष्णुपुराणमा लेखिएको छ ।
आध्यात्मिकादि मैत्रेय ! ज्ञात्वा तापत्रयं बुधः ।
उत्पन्नज्ञानवैराग्यः प्राप्नोत्यात्यन्तिकं फलम् ।।
ज्ञान तथा वैराग्य भन्नाले उपभोगवादी दृष्टिकोणलाई परित्याग गर्दै न्यूनतम सुविधामा सन्तुष्ट हुने र प्रकृति दोहनलाई रोक्ने भनी अर्थ लगाउनु सान्दर्भिक हुन्छ ।
पश्चिममा पनि चरम भोगवादका कारण प्रकृतिको विनाश भइरहेको स्थितिलाई मनन गर्दै प्रकृति जोगाउन विभिन्न अभियान सञ्चालन तथा दार्शनिक चिन्तन गरिन थालेका छन् । अहिले इकोसोफीमा जोड दिन थालिएको छ ।
पृथ्वीलाई सुन्ने र त्यसबाट सिक्ने, आफ्नो अर्थ त्यसमा नथोपर्ने भनी भारतीय मूलका स्पेनी दार्शनिक राइमोन पनिक्करले इकोसोफीको अवधारणा ल्याएका हुन् । यसमा प्रकृतिलाई मानवभन्दा माथि राखेर सम्मान गर्ने मान्यता छ ।
हाम्रो सन्दर्भमा त वैदिक तथा पौराणिक ग्रन्थहरूले हामीलाई प्रकृति तथा वातावरणको आदर गर्न सिकाएकै छन् । सनातन संस्कार अवलम्बन गरी भौतिक सुखसुविधामा आकर्षण क्रमशः घटाउँदै जानु नै अहिलेको आवश्यकता हो । भौतिक उपभोगका लागि विज्ञानको दुरुपयोग गर्ने क्रममा प्रकृतिको विनाश भइरहेको तथ्य मनन गर्दै अध्यात्मको मार्ग अपनाएर जीवनयापन गर्दा प्रकृतिसँग सामञ्जस्य स्थापना गर्न सहज हुन्छ । अनि विभिन्न किसिमका महाव्याधिहरूको रोकथाम गर्न पनि सहायता पुग्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...
शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । बिहीबार घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उनले खेलेको योगदानको स्मरण गरी पर्व मना...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो ।&nb...
राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...