भारत–चीन युद्धको खतरा : लद्दाखमा सन् १९६२ कै जस्तो स्थिति आएको भन्दै स्थानीयहरूमा त्रास

चीनसँग सीमा जोडिएको भारतको लद्दाखका सीमावर्ती गाउँहरूमा बस्ने लगभग २ हजार मानिस अहिले त्रासमा छन् । त्यहाँ दुवै पक्षको सैन्य तैनाथी बढेकाले स्थानीयमा त्रास फैलिएको हो । 

वृद्ध स्थानीयहरूले सन् १९६२ को भारत चीन युद्धपछि यति धेरै सैन्य तैनाथी उक्त क्षेत्रमा देखिएको बताए । लद्दाख स्वायत्त परिषद्का एक सदस्यका अनुसार, गाउँलेहरू सैनिक र हतियार बाक्लिएकोमा चिन्तित छन् । चुशुल नजिक आठ गाउँलाई कुनै पनि बेलामा हिंसाले प्रभावित पार्ने डर छ । 


Advertisement

चुशुलका पार्षद कोन्चोक स्ट्यान्जिनले शुक्रवार गाउँहरूको भ्रमण गरेको र मानिसहरूमा तनावको स्थिति रहेको बताए । उनले भने, ‘अहिले दुई ठाउँहरू गलवान उपत्यका र फिंगर ४ मा तनाव छ । तनाव भएका ठाउँबाट ती गाउँहरूको हवाई दूरी १० किलोमिटरभन्दा कम छ ।’

फिंगर ४ क्षेत्रमा हरेक वर्ष जाडो मौसममा गाउँलेहरू गाईवस्तु चराउन पुग्ने गरेका छन् । 


Advertisement

स्ट्यान्जिन भन्छन्, ‘पहिलेपहिले दुई पक्षबीच तनाव हुँदा कुराकानी गरेर त्यसलाई तत्कालै समाधान गरिन्थ्यो । तर अहिलेको जस्तो तनावग्रस्त स्थिति कहिल्यै थिएन ।’

एक स्थानीयले स्थिति बिग्रेमा आफूहरू कहाँ जाने भनी ठेगान नभएको बताए । सञ्चार सञ्जाल र भौतिक विकासको अभावमा आफूहरू बढी जोखिममा रहेको उनले बताए ।

त्यसै क्षेत्रमा रहेको पांगोङ ताल आर्थिक गतिविधिको केन्द्र हो । त्यहाँ गर्मी महिनामा पर्यटक आउँछन् भने् अरू बेलामा त्यहाँ कोही पनि पुग्दैन । तर कोरोनाभाइरस महाव्याधि र भारत चीन तनावका कारण आगामी केही महिनामा त्यहाँ पर्यटक आउने सम्भावना छैन ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्