कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
झापाको दमक नगरपालिका– २ का सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकी राई थरकी एक किशोरीसँग प्रेमविवाह गरे । सुमनको उमेर १७ र किशोरीको उमेर १५ वर्षको थियो । फेसबुकमार्फत चिनजान भएका उनीहरूले दुई महिना प्रेम–सम्बन्धमा रहेपछि विवाह गरेका थिए । तर, बिहे गरेको सातौँ दिन प्रहरी घरमै आएर सुमन र ती किशोरीलाई पक्राउ गरेर लग्यो ।
‘पुलिसले हथकडी लगाएर लग्यो । किन लग्यो हामीले त थाहै पाएनौँ,’ सुमनका बुबा गोपालले भने, ‘पछि त तेरो छोराले बलात्कार गर्यो पो भन्छन् !’ विवाह नगरे आत्महत्या गर्ने प्रेमिकाको घुर्कीपछि सुमनले उनलाई भित्र्याएका थिए । तर, प्रेमको बदला उनले जेल सजाय पाए । जिल्ला अदालत झापाले सुमनविरुद्ध जबर्जस्ती करणी मुद्दामा नौ वर्ष जेल सजाय तोकेको छ । उनी अहिले बाल सुधारगृह विराटनगरमा छन् ।
छोरीले कथित तल्लो जातको युवकसँग बिहे गरेपछि उनको परिवारले इलाका प्रहरी कार्यालय दमकमा बलात्कार मुद्दा दर्ता गराएको थियो । प्रहरी र अदालतमा ती किशोरीले सहमतिमै विवाह गरेको बयान दिँदा पनि सुमनले धर पाएनन् । ‘जातकै कारण मेरो छोरोलाई फसाइयो । बिहे गरेर घरमा ल्याएकी बुहारीलाई बलात्कार गर्यो भनियो । त्यस्तोमा कसरी बलात्कारको मुद्दा लाग्यो,’ गोपालले भने, ‘बरु, बालविवाह गरेको भन्न मिल्छ, त्यही मुद्दा लगाएको भए ठीकै हो भन्न पनि हुन्थ्यो नि !’
अहिले वेलावेला छोरा भेट्न विराटनगर पुग्छन् गोपाल । ‘जति खर्च लाग्छ यहाँबाट निकाल्नु बुबा, बरु म कमाएर तिर्छु’ भन्दै सुमन रुन्छन् । छोराको रोदनले गोपाल पनि भक्कानिन्छन् । ‘मनमनै भन्छु– दलित भएर जन्मनु नै तेरो पाप रहेछ,’ गोपालले भने, ‘हामी निमुखाको त के नै पो लाग्दोरहेछ र !’ दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्ने गोपाल कानुनको भाषा बुझ्दैनन्, छोरो छुट्ने आसमा कानुन व्यवसायी जे भन्छन् त्यही गर्छन् । मुद्दा–मामिलामा अहिलेसम्म एक लाख सकिसके, तर छोरो छुटेन । ‘खै वकिलले छुट्छ भन्थ्यो । पैसा मात्र लग्यो, तर छोरा छुटेन, अहिले पनि के–के गर्दिन्छु भन्छन् । पैसै मात्र माग्छन्,’ गोपालले भने ।
कानुन व्यवसायीले मात्रै होइन, सुमनविरुद्ध किटानी जाहेरी दिएका किशोरीका बुबाले समेत मुद्दा मिलाइदिने भन्दै गोपालबाट ३५ हजार रुपैयाँ खाए । अदालत र प्रहरीमा कमजोर बयान दिएर मुद्दा कमजोर बनाइदिने उनको प्रतिबद्धता थियो । गोपालले कागज गरेरै रकम दिएका थिए, तर छोरो जेल जानबाट बचेन । पैसा दिँदा गरिएको कागजमा भने छोरी खोज्दा लागेको पैसा बुझेको उल्लेख छ । ‘म मुद्दा मिलाइदिहाल्छु नि भने । होला नि त भनेर ३५ हजार दिएँ । बेकार पैसा मात्र गयो,’ गोपालले भने । पैसा दिएको प्रमाण अहिले पनि गोपालको दराजमा छ ।
अन्तर्जातीय प्रेमलाई विवाहमा परिणत गर्दा सुमनजस्तै दर्जनौँ दलित युवा–युवतीले झुटा मुद्दामा सजाय भोगिरहेका छन्, अधिकांशलाई कथित उपल्लो जातको बोलवाला रहेको समाजले समेत तिरस्कार गर्ने गरेको छ ।
दलित महिला विवाह गर्ने गैरदलित पुरुष घरबाटै लखेटिन्छ । उसले समाजमा बस्ने अधिकार गुमाउँछ । दलित पुरुषले गैरदलित महिला विवाह गर्दा सधैँ कानुनी झमेला भोग्नुपर्छ । महिलाको परिवारले उनीहरूमाथि जबर्जस्ती करणी, अपहरण, मानव बेचबिखनलगायतका मुद्दा चलाइदिन्छन् । कानुनको डण्डाले उनीहरूको भविष्य नै बर्बाद बनाइदिन्छ । यस्तै झमेला भोग्ने अर्का किशोर हुन्– पाँचथरको फिदिम नगरपालिका– ५ का १६ वर्षीय गोपाल शंकर (विक) ।
गोपाल र उनकै छिमेकी १६ वर्षीया सापकोटा थरकी किशोरीले ०७५ चैतमा अन्तर्जातीय प्रेमविवाह गरे । एउटै विद्यालयमा पढ्ने उनीहरूबीच कक्षा–८ देखि नै प्रेम–सम्बन्ध थियो । पूर्वयोजनाअनुसार नै उनीहरूले एसइई सकेर घरबाट भागेर विवाह गरेका थिए ।
कथित माथिल्लो जातको माइती पक्षबाट जोगिन उनीहरू इलाम आएर बसेका थिए । तर, यो कुरा धेरै दिन लुक्न सकेन । युवतीको परिवारका मान्छे उनीहरू बसेकै ठाउँमा आइपुगे । गोपाललाई प्रहरीको जिम्मा लगाएर उनीहरू छोरी लिएर फर्किए । तर, एक हप्तामै युवती फेरि भागेर इलाम आइन् । गोपाल र उनी पुरानो ठाउँ परिवर्तन गरेर सँगै बसे ।
फेरि पनि युवतीको परिवार उनीहरूको प्रेममा तगारो बनेर उभियो । छोरी खोज्दै दोस्रोपटक आएका परिवारका सदस्य थप क्रूर बने । छोरीलाई लगेर मात्र गएनन्, गोपालविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा अपहरण, जबर्जस्ती करणी र मानव बेचबिखनको जाहेरी पनि दिए । प्रहरीले गोपाललाई पक्राउ गरेर जिल्ला अदालतमा मुद्दा चलायो । मानव बेचबिखन र अपहरण प्रमाणित हुन सकेन । तर, जबर्जस्ती करणीमा उनलाई सात वर्ष जेल सजाय सुनाइयो । उनी पनि अहिले बाल सुधारगृह विराटनगरमा छन् ।
यो मुद्दालाई नजिकबाट हेरेका कानुन व्यवसायी तथा दलित अधिकारकर्मी देवेन्द्र विश्वकर्माले दलित भएकै कारण गोपालमाथि मुद्दा चलाइएको बताए । ‘यो जातीय विभेदको पराकाष्ठा हो, जात नमिलेको भनेर मात्रै मुद्दा चलाइएको हो । कथित पानी चल्ने जातबीचमा बालविवाह भएको छ भने यसरी मुद्दा लगाएको हामीले कहीँ सुनेका छौँ ?’ उनले भने, ‘यदि केटा कथित उपल्लो जातको भए यस्तो सजाय पाउँदैन थियो । कानुनतः १८ वर्षमुनिको किशोरीलाई सहमतिमै शारीरिक सम्बन्ध राख्नु पनि जबर्जस्ती करणी हो । तर, यो डण्डा दलितमाथि मात्रै प्रहार भयो, हुने गरेको छ ।’ मुद्दालाई पुनरावेदनको तयारी भइरहेको उनले बताए ।
‘गैरदलित–गैरदलित र दलित–दलितबीचमा पनि बालविवाह हुन्छ । त्यस्तो वेला कुनै मुद्दाको विषय बन्दैन । तर, जब दलित र गैरदलितबीच बालविवाह हुन्छ त्यो वेला मुद्दा बनाइन्छ,’ दलित अधिकारकर्मी नवराज शंकरले भने, ‘गरेको बालविवाह हुन्छ मुद्दा चलाइन्छ– बलात्कार, अपहरण तथा मानव बेचबिखनको । दलितहरू भनेको त पैतालामै राख्ने जात हो भन्ने पुरातन मनोविज्ञानको धङधङी कथित उपल्लो जातमा अझै हटेको छैन ।’
शासन व्यवस्था फेरिए पनि सामाजिक संरचना र मानिसको सोचमा परिवर्तन नआउँदा विभेद हट्न नसकेको शंकरको भनाइ छ । ‘थुप्रै राजनीतिक परिवर्तन भए र शासन व्यवस्था फेर्यौँ । तर, समाजमा रहेका विभेदकारी संरचना र सोच, व्यवहारमा परिवर्तन गर्ने बिन्दुमा हामी पुगेनौँ, हिजो विवाह भोजमा दुईवटा भान्सा लाग्थ्यो । दलितले छुट्टै भान्सामा खाना खान्थे । आज एउटा भान्सा हुन्छ, तर दलितलाई भोजमा बोलाउनै छाडियो । यो विभेद नै हो । शैली मात्रै फेरिएको हो,’ उनले भने । नयाँ पत्रिकामा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...