थप १ जनाको मृत्यु कोरोना संक्रमणले भएको पुष्टि, कर्णालीमा मृतकको संख्या ३ पुग्यो

कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । 

मृतकमा दैलेख, सुर्खेत र डोल्पाका ३५, २० र ५८ वर्षीय पुरुष रहेका छन् ।


Advertisement

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति दुल्लु नगरपालिका–११ खागितडा दैलेख निवासी ३५ वर्षीय युवक थिए । उनको जेठ १७ गते क्वारेन्टीनमै मृत्यु भएको थियो ।

दोस्रो व्यक्ति पञ्चपुरी नगरपालिका–१ हाँसे सुर्खेतका २० वर्षीय युवकको जेठ २२ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनलाई कोरोना संक्रमण नभएको भनेर घर पठाएपछि घरमै मृत्यु भएको थियो ।


Advertisement

कोरोनाको संक्रमणकै कारण जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले कोरोनाकै कारण उनको मृत्यु भएको जानकारी दिए ।

भौगोलिक विकटताका कारण मृत्युपछि २२ गते स्वाब संकलन गरी जुम्ला प्रतिष्ठानमा पीसीआर गर्दा कोरोना पुष्टि भएको निर्देशक डा. रावलले बताए ।

सुर्खेतबाट जेठ १६ गते डोल्पा पुगेका उनलाई शुरूमा क्वारेन्टीनमा राखिएको थियो । लामो समयदेखि दमको रोगले पीडित उनलाई पछि होम क्वारेन्टीनमा राखिएको अवस्थामा जेठ २० गते मृत्यु भएको थियो ।

कर्णालीमा मृत्यु हुने ३ जनाको मृत्युपछि मात्र कोरोना पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्