×

NIC ASIA

माधव नेपालको गृहजिल्लामा एमाले- समाजवादी 'ब्याटल'

चन्द्रपुरमा एमाले–समाजवादी आमनेसामने, बाजी मार्ने दाउमा कांग्रेस

बैशाख १७, २०७९

Prabhu Bank
NTC
Premier Steels

पूर्वपश्चिम महेन्द्र राजमार्गलाई बीचमा पारेर दायाँबायाँ फैलिएको चन्द्रपुर नगरपालिकामा स्थानीय तह निर्वाचनको पारो मध्य वैशाखको गर्मीलाई बिर्साउने गरी तात्तिएको छ ।

पूर्वपश्चिम राजमार्गमा रफ्तारमा हुइँकिएको सवारीसाधनको गतिभन्दा तीव्र छ रौतहटको चन्द्रपुर नगरपालिकाको चुनावी रफ्तार ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख ३० गते हुने निर्वाचनका लागि राजनीतिक दलहरू मतदातालाई फकाउन घरदैलोमा निस्किएका छन् । मतदाता पनि रोजेको उम्मेदवारलाई मत दिन वैशाख ३० को पर्खाइमा छन् ।


Advertisment
Rupse Holidays
Nabil box

नेपालको प्रधानमन्त्री समेत दिएको नगरपालिका हो चन्द्रपुर । नेकपा एमालेका तत्कालीन नेता र अहिले एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपालले २०५६ र २०६४ सालमा चुनावी प्रतिस्पर्धा गरेको क्षेत्र पनि चन्द्रपुर नगरपालिकामा नै पर्छ । 

Vianet communication

२०५६ सालमा चुनाव जितेका भए पनि २०६४ सालमा भने उनले चुनाव हारेका थिए । चुनाव हारेर पनि उनी २०६८ सालमा प्रधानमन्त्री भए । त्यसो त रौतहट माधव नेपालको गृहजिल्ला पनि हो ।

यसपटक चन्द्रपुर नगरपालिकाको चुनावी प्रतिस्पर्धा भने रोचक छ । सत्तारूढ ५ दलीय गठबन्धनले देशव्यापी चुनावी तालमेल गरेको भए पनि चन्द्रपुरमा त्यसको प्रभाव छैन । सबै दलहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा छन् । अझ रोचक त के छ भने २०७४ सालको निर्वाचनकै बेला मन विभाजित रहेको एमाले अहिले पार्टी नै विभक्त भएको अवस्थामा छ । उता नेपाली कांग्रेसलाई आफ्नै बागी उम्मेदवारको चुनौती छ । माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा छन् । 

एमालेले शिवप्रसाद आचार्यलाई मेयरमा र मुना लामिछाने मगरलाई उपमेयरमा उम्मेदवार बनाएको छ । कांग्रेसले सञ्जयकुमार काफ्लेलाई मेयर र जयमला चौधरीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रको तर्फबाट हरि पौडेल मेयरमा र देवकी नेपाल उपमेयरमा उम्मेदवार भएका छन् । 

एमालेलाई एकीकृत समाजवादीको चुनौती

चन्द्रपुरमा एमाले र एकीकृत समाजवादीको चुनावी नतिजा आकलन गर्नुअघि २०७४ सालको चुनावलाई स्मरण गर्नुपर्ने हुन्छ । चन्द्रपुरमा २०७४ सालमा नै एमाले विभाजित अवस्थामा थियो । पार्टीको केन्द्रमा केपी ओली र माधव नेपालको जुँगाको लडाइँ चन्द्रपुरको भूगोलमै बलशाली थियो ।

त्यसबेला एमालेका २ उम्मेदवारले चन्द्रपुरको मेयरको लागि टिकट लिएर आए । केपी ओली पक्षका उम्मेदवार थिए उद्धव रेग्मी । उनले उम्मेदवारी दर्ताको दिन बिहानै जुलुससहित गएर मेयरको उम्मेदवारी दर्ता गरे । माधव नेपाल पक्षमा बाबुराम दाहाल पनि मेयरको उम्मेदवारका आकांक्षी थिए । उनी दिउँसो उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गए तर पार्टीले उनलाई उम्मेदवारी दर्ता गर्न दिएन् । उनले ल्याएको उम्मेदवारको टिकट खेर गयो । 

त्यसबेला दाहालको अवस्था प्रत्यक्ष देखेका चन्द्रपुरका मतदाता विशालजीत तामाङ भन्छन्, ‘तामझामसहित उनी उम्मेदवारी दर्ता गर्न गएका थिए तर पार्टीको तर्फबाट अर्कै व्यक्तिले उम्मेदवारी दर्ता गरिसकेको कारण दाहाल हिस्स पर्नुपरेको थियो । त्यसबेला उनी मूर्छितजस्तै भएका थिए ।’

पार्टीभित्रको अन्तर्विरोधको असर निर्वाचनमा पर्‍यो । रेग्मी पक्ष चुनावी अभियानमा खटियो तर दाहाल पक्षले सहयोग गरेन । एमालेले मेयरको चुनाव हार्‍यो तर एमालेको उपमेयर उम्मेदवारले विजेता मेयरले भन्दा ४ हजार बढी मत ल्याएर जितिन् । त्यसबेला एमालेले रामरति चौधरीलाई उम्मेदवार बनाएको थियो । अहिले उनी एमाले छाडेर एकीकृत समाजवादीमा छिन् । 

त्यसबेलाको अन्तर्विरोध अहिले औपचारिक विभाजनमा पुगेको छ । एमाले र एकीकृत समाजवादी एकअर्काका प्रतिस्पर्धीका रूपमा चुनावी अभियानमा छन् । 

एमालेले शिवप्रसाद आचार्यलाई मेयरको उम्मेदवार बनाएको छ भने उपमेयरमा मुना लामिछाने मगर उम्मेदवार बनेकी छिन् । एकीकृत समाजवादीले बाबुराम दाहाललाई नै अघि सारेको छ ।

नेकपा एमाले यसअघिको पार्टीभित्रको अन्तर्घात बिर्साउने गरी मेयर जित्ने प्रयासमा छ । एकीकृत समाजवादी एमालेको उम्मेदवारलाई फेरि पनि पछार्ने अभियानमा छन् । 

एमालेले मेयरको उम्मेदवार बनाएका शिव आचार्य चन्द्रपुर नगर कमिटीको अध्यक्ष पनि हुन् । निम्नवर्गीय पारिवारिक पृष्ठभूमिका आचार्य आफूलाई श्रमजीवीको रूपमा चिनाउँछन् । उनको जीवनयापनको मुख्य पेशा किसानी हो । उनी श्रमजीवी वर्गको प्रतिनिधिका रूपमा जनतामा भिजेका स्थानीय नेता हुन् । 

एकीकृत समाजवादीले उम्मेदवार बनाएका दाहाल पनि जनतामाझ परिचित नेताका रूपमा चिनिन्छन् । चन्द्रपुरमा फूटबलको सौखिनका रूपमा चिनिने दाहाल युवामाझ लोकप्रिय छन् । केही समय स्टेसनरीको व्यापार समेत गरेका उनी अहिले पूर्णकालीन राजनीतिमा छन् ।

एमालेले उम्मेदवार बनाएका आचार्य भन्छन्, ‘मेयरको चुनाव जितेर जनताको सेवकको रूपमा काम गर्न चाहन्छु । शासक बन्नका लागि उम्मेदवार बनेको होइन । अहिले पनि श्रमजीवी हुँ र चुनाव जिते भने पनि श्रमजीवी नै रहन्छु ।’

उनले नगरपालिकामा सुशासन, पारदर्शिता, जनसहभागिता, सीप विकास, उद्यमशीलता र रोजगारीलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । त्यसबाहेक शिक्षा र स्वास्थ्यका क्षेत्रमा केन्द्रित रहेर काम गर्ने आचार्यको योजना छ । 

उनी भन्छन्, ‘स्वास्थ्य र शिक्षा चन्द्रपुरको मुख्य समस्या हो । सरकारी अस्पताललाई व्यवस्थित बनाउने मुख्य ध्येय छ ।’

जनताले इमान्दार, असल र नैतिकवान नेतृत्व चाहेकाले आफूले चुनाव जित्नेमा ढुक्क रहेको आचार्यले बताए । ‘इमान्दारिता नै मेरो पहिचान हो । जनताले मलाई इमान्दार प्रतिनिधिका रूपमा चिनेका छन् । यो नै मेरो चुनाव जित्ने आधार हो,’ आचार्यले भने ।

एकीकृत समाजवादीले मेयरको उम्मेदवार बनाएका दाहाल पनि सामाजिक जीवन बिताएका व्यक्ति हुन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका उनको सामाजिक र राजनीतिक परिचय रौतहटमा फराकिलो छ । विद्यालय, क्याम्पस, वन, खेल क्षेत्रका संस्थालाई उनले नेतृत्व दिएका छन् । 

उनले पनि चन्द्रपुरको स्वास्थ्य, शिक्षा, खेल, कृषि र सामाजिक विकासलाई मूल चुनावी एजेन्डा बनाएका छन् । आफ्नो सामाजिक परिचय फराकिलो भएकाले पनि जनताले विश्वास गरेर मत दिनेमा आश्वस्त रहेको उनी बताउँछन् । 

‘मैले सामाजिक क्षेत्रमा जहाँ–जहाँ नेतृत्व गरे सफल नेतृत्व गरेको छु । नगरपालिकालाई पनि सफल नेतृत्व दिनसक्छु भन्ने जनताले विश्वास गरेको पाएको छु,’ दाहालले भने ।

एमालेबाट विभाजित भएको पार्टी भए पनि एमालेमा भन्दा धेरै कार्यकर्ता एकीकृत समाजवादीमा आएकाले चुनावमा पार्टी विभाजनको असर नपर्नेमा आफूहरू ढुक्क रहेको उनले बताए । 

‘चन्द्रपुर नगरका ११ सय कार्यकर्तामध्ये ८०० कार्यकर्ता हामीसँग हुनुुहुन्छ । चन्द्रपुरबाट २१ जना जिल्ला कमिटी सदस्यमध्ये २० जना हामीसँग हुनुहुन्छ । त्यसो हुँदा हामी राजनीतिक शक्तिको रूपमा बलियो छौं,’ दाहालले भने । 

चन्द्रपुरको स्थानीय चुनावमा एमाले एकीकृत समाजवादीको प्रतिस्पर्धामा नआउने, बरू एकीकृत समाजवादीको प्रतिस्पर्धा कांग्रेससँग हुने दाहालले बताए ।

कांग्रेसलाई बागीको चिन्ता

२०७४ सालको चुनावमा एमालेभित्रको अन्तरर्विरोधको फाइदामा मेयर फुत्काएको कांग्रेस यसपटक पनि जीतलाई निरन्तर राख्ने प्रयासमा छ तर पार्टीभित्रका बागी उम्मेदवारले कांग्रेसलाई तनाव थपेको छ ।

यसअघि कांग्रेसका रामचन्द्र चौधरीले चन्द्रपुरको मेयर जितेका थिए । त्यतिखेर एकै परिवारकी भतिजी बुहारी रामरति चौधरीले एमालेबाट उपमेयर जितेकी थिइन् । 

यसपटक पनि चौधरी मेयरको उम्मेदवार बन्न चाहन्थे तर पार्टीको टिकट भने सञ्जयकुमार काफ्लेले पाए । उनलाई पार्टीले टिकट नदिएपछि चौधरीले स्वतन्त्र रूपमा मेयरको उम्मेदवारी दर्ता गरेका छन् । 

काफ्लेले पैसाको चलखेलमा मेयरको टिकट ल्याएको भनेर चौधरीले आरोप लगाउने गरेको चन्द्रपुर कांग्रेसमा चर्चा छ तर काफ्लेले भने यो आरोपको खण्डन गरे ।

काफ्ले यसअघि चन्द्रपुर नगरपालिका–५ को अध्यक्ष निर्वाचित भएका थिए । अहिले उनै काफ्ले मेयरको उम्मेदवार बनेका हुन् । कांग्रेसले जयमाला चौधरीलाई उपमेयरको उम्मेदवार बनाएको छ । 

काफ्लेले मेयरको चुनाव जितेमा स्वच्छ, सफा र राम्रो चन्द्रपुर बनाउने चुनावी नारा अघि सारेका छन् । हाईवेको नगरपालिका भएकाले ट्राफिक समस्या व्यवस्थापन गर्नुपर्ने, फूटपाथको व्यवस्थापन गर्नुपर्ने, पर्यटकीय स्थलको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता आफूले देखेको र मेयरको रूपमा त्यसको व्यवस्थापनमा पहल गर्ने योजना रहेको काफ्लेले बताए । त्यसबाहेक चन्द्रपुरको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने उनले बताए । 

एक कार्यकाल वडाध्यक्षको जिम्मेवारीमा काम गरेका अनुभवले मेयरको रूपमा काम गर्न सहज हुने विश्वास आफूलाई रहेको उनले बताए । 

विभाजित मतदाता, व्यापारी निर्णायक 

चन्द्रपुर नगरपालिका बसाइसराइ गरेर आएकाहरूले बनाएको हाईवेको शहर हो । राजमार्गको दक्षिणतिर चौधरीहरूको बाहुल्य छ भने उत्तरतिर मिश्रित बस्ती छ । चन्द्रपुरको चुनावी नतिजा प्रभावित गर्ने चौधरीहरूको मतले नै हो ।

अर्कोतर्फ चन्द्रपुरमा सुकुम्बासी समस्या पनि प्रमुख रूपमा छ । एमालेले चुनावमा सुकुम्बासी समस्यालाई जोडतोडका साथ उठान गरिरहेको छ । कतिपय वडामा सुकुम्बासी क्षेत्रका व्यक्तिलाई नै एमालेले वडा सदस्यमा उम्मेदवार पनि बनाएको छ ।

चन्द्रपुरको विगतको चुनावी नतिजा हेर्दा स्थिर नतिजा कहिल्यै आएको थिएन । माधव नेपाल, प्रकाश कोइराला र वंशीधर मिश्रले दोहोर्‍याएर चुनावी जीत निकाल्न सकेका थिएनन् तर २०७४ सालको संसदीय निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गर्दा पनि कांग्रेसका देवप्रसाद तिमल्सिनाले बाजी मारेका थिए । सोही नतिजालाई आधार मानेर स्थानीय चुनावमा कांग्रेस जित्नेमा उत्साही छ । 

तर वडा नम्बर ५ का मतदाता रहेका मुकुन्दप्रसाद कुइँकेल यसअघि कांग्रेसले मेयर जितेको भए पनि सन्तोषजनक काम गर्न नसकेकाले अहिले अर्को पार्टीको मेयरले चुनाव जित्नुपर्ने बताउँछन् । 

‘मेयर र वडाध्यक्ष दुवै कांग्रेसले जितेको थियो तर उनीहरूले जनपक्षीय काम गर्न सकेनन् । अबको चुनावमा अर्को पार्टीलाई अवसर दिनुपर्छ,’ कुइँकेलले भने । 

यसपटक उनलाई एमालेले उम्मेदवार बनाएको शिवप्रसाद आचार्य मन परेको छ । ‘उनी मध्यमवर्गीय पृष्ठभूमिका मान्छे हुन् । खेतीकिसानी गरेर जीविकोपार्जन गर्छन् । उनले नै जनताको दुःखसुख बुझेका छन् । उनले जिते भने नगरपालिकाको लागि केही गर्छन् भन्ने लागेको छ,’ कुइँकेलले भने । 

अर्का मतदाता हरि धितालले पनि आचार्यको प्रशंसा नै गरे । ‘एमालेका उम्मेदवारले जिते भने नगरपालिकामा जनताका लागि केही न केही गर्ने खालका छन्,’ धितालले भने । 

नगरपालिकाको हाईवे क्षेत्रमा एमालेको राम्रो पकड छ । दक्षिणतिर कांग्रेसको प्रभाव क्षेत्र छ भने उत्तरी ग्रामीण भेगमा माओवादीको बाहुल्य छ । यसअघिको चुनावमा चन्द्रपुरका १० वटा वडामध्ये एमाले र कांग्रेसले ४/४ वडा जितेका थिए । माओवादीले २ वटा वडामा मात्रै जीत निकालेको थियो ।

अघिल्लो चुनावमा कांग्रेसका उम्मेदवारले करीब ८ हजार ९०० मत ल्याएर जितेका थिए । एमालेको मेयर उम्मेदवारले ८ हजार २०० को हाराहारीमा मत पाएका थिए । एमालेको उपमेयरको उम्मेदवारले भने १२ हजार मत ल्याएकी थिइन् । यसपटक नयाँ मतदातासहित चन्द्रपुरमा करीब ४९ हजार मतदाता छन् ।

त्यसमध्ये हाईवे क्षेत्रमा व्यापारमा संलग्न रहेका धेरैजसो व्यवसायी अनिर्णित मतदाता हुन् । उनीहरूले जसलाई मत दिन्छन् त्यही उम्मेदवारको पल्लाभारी हुने अवस्था रहेको व्यवसायी विशालजीत तामाङ बताउँछन् । 

चन्द्रपुरमा स्टेसनरीको व्यवसाय गरिरहेका उनी भन्छन्, ‘व्यवसायीहरूले जसको माहोल राम्रो छ, उसैलाई मत दिन्छ । व्यवसायी जहिले पनि जित्नेको पक्षमा हुन्छ । व्यवसायीहरूलाई देखाउनकै लागि राजनीतिक दलले गाउँ गाउँबाट कार्यकर्ता ल्याएर हाईवेमा चुनावी माहोल बनाउने गरेका छन् ।’

तामाङले भने अहिले चन्द्रपुरमा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको प्रभाव बलियो देखेका छन् । उनले मात्रै होइन, कांग्रेसका उम्मेदवार सञ्जयकुमार काफ्ले पनि आफ्नो प्रतिस्पर्धा एकीकृत समाजवादीसँग हुने स्वीकार्छन् । 

‘चन्द्रपुरमा एमालेभन्दा एकीकृत समाजवादी बलियो छ । हाम्रो प्रतिस्पर्धा हुने एकीकृत समाजवादीसँग हो,’ काफ्लेले भने । एकीकृत समाजवादीका उम्मेदवार दाहाल पनि आफ्नो प्रतिस्पर्धी एमाले नभएर कांग्रेस नै हुने बताउँछन् ।

चन्द्रपुरको चुनावी नतिजा प्रभावित गर्ने अर्को पक्ष पनि छ, त्यो हो २०७४ सालको चुनावी मनोविज्ञान । २०७४ सालमा एमालेभित्र अन्तरविरोध हुँदा असन्तुष्ट पक्षले कांग्रेसलाई मत दिएर जिताएको विश्लेषण एमालेभित्रै छ । कतिपय मतदाता पनि यो विश्लेषणको पक्षमा छन् ।

अहिलेको चुनावमा त्यसबेला सघाउने र अहिले एकीकृत समाजवादीमा रहेको पक्षलाई कांग्रेसको असन्तुष्ट पक्षको मत आउन सक्ने स्थानीय मतदाताहरू बताउँछन् ।

चन्द्रपुरका एकजना मतदाता भन्छन्, ‘कांग्रेसमा सबैलाई समेटेर लैजानसक्ने उम्मेदवार आएको छैन । कांग्रेसमा तीव्र असन्तुष्टि छ । उनीहरूले एकीकृत समाजवादीलाई मत दिन सक्छन् । अघिल्लोपटक एमालेमा रहेको त्यही समूहले कांग्रेसलाई मत दिएको चर्चा थियो । अहिले कांग्रेसको असन्तुष्ट पक्षले एकीकृत समाजवादीलाई सघाउन सक्छ ।’

व्यवसायी तामाङ पनि यो विश्लेषणमा सहमत छन् । ‘२०७४ सालमा उनीहरूको पार्टी एकै थियो तर मन र मत एक थिएन । एमालेको असन्तुष्टले कांग्रेसलाई भोट हालेको चर्चा थियो । अहिले कांग्रेसको असन्तुष्ट पक्षले एकीकृत समाजवादीलाई मत दिन सक्छ,’ तामाङले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x