मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
भदौ १७, २०७९
रुसले नियन्त्रणमा लिएको युक्रेनको खर्सन क्षेत्रमा युक्रेनी सेनाले चलाएको प्रत्याक्रमण असफल भइरहेको छ ।
विगत दुई महिनादेखि युक्रेन सरकार र पश्चिमले खर्सनबाट रुसीहरूलाई भगाउनका लागि प्रत्याक्रमण कारवाही चलाउने बताइरहेका थिए । हिमार्स रकेट प्रणालीको बलमा रुसलाई खर्समा धराशायी बनाउन सकिने उनीहरूको तर्क थियो । तर धेरैपटक टारेपछि बल्ल यो सातादेखि उनीहरूले उक्त कारवाही शुरू गरेका हुन् ।
यो कारवाही चलाउने विषयमा सरकार र सेनाबीच मतभेद थियो । युक्रेनका सेनाप्रमुख भ्यालरी जालुझ्नी आक्रमण भन्दा पनि प्रतिरक्षात्मक कारवाही जारी राख्नु उपयुक्त हुने धारणा राख्थे ।
युक्रेनले ठूलो संख्यामा सैनिकहरू गुमाइसकेकाले आक्रमणमा जाँदा अनावश्यक रूपमा जगेडा सैनिक र हतियार नष्ट हुने उनको जायज तर्क थियो । हुन पनि वायुसेना तथा आर्टिलरी समूहको सहयोगविना यो प्रत्याक्रमण सफल हुन नसक्ने जालुझ्नीलाई पक्कै ज्ञान छ ।
तर युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई कुनै पनि हालतमा आफू कमजोर देखिने कुरा पाच्य थिएन । युक्रेन प्रतिरक्षा गरेर बस्ने कमजोर पात्र नभई आक्रमण समेत गर्न सक्ने शक्ति हो भन्ने कुरा उनलाई प्रमाणित गर्नुपर्ने थियो चाहे त्यसका लागि उनीसँग पर्याप्त जनशक्ति तथा हातहतियार नहोस् ।
त्यसमाथि पश्चिमी सहयोगीहरूले युक्रेनी सेनालाई उपलब्ध गराएको हातहतियारको प्रभावकारिता पनि उनलाई जाँच्नुपर्ने थियो । अनि युक्रेन युद्धप्रति पश्चिमी जनताले उदासीनता देखाउन थालेकाले उनीहरूको ध्यान प्रत्याक्रमणमार्फत खिच्न सकिन्छ कि भनी जेलेन्स्कीले दाउ खेलेका हुन् ।
पश्चिमी जनता अब युक्रेन युद्धबाट वाक्कदिक्क भइसकेको अमेरिकाका विभिन्न सर्वेक्षणले प्रमाणित गरिसकेका छन् । अनि जर्मनीकी परराष्ट्रमन्त्री आन्नालेना बाएरबोकले जर्मन जनता अनिच्छुक भए पनि युक्रेनलाई प्राथमिकतामा राखिरहने बताएर जर्मनहरूको वर्तमान मनोदशाको वर्णन गरिसकेकी छन् । पोल्यान्ड र बाल्टिक मुलुकहरू बाहेक अन्य पश्चिमी देशमा युक्रेन युद्धप्रति जनताको चासो घट्दै गएको देखिन्छ ।
त्यसैले खर्सनमा प्रत्याक्रमण गर्ने अनि त्यहाँ प्राप्त आंशिक सफलतालाई बढाइचढाइ प्रस्तुत गरी पश्चिमाहरू ध्यान युक्रेनमा अड्याइरहने जेलेन्स्कीको रणनीति हो । आइतवार (अगस्ट २८) मा उनले सेनासँग गोप्य वार्ता गरे अनि त्यसै दिनबाट प्रत्याक्रमण थाले ।
यस प्रत्याक्रमणका कारण युक्रेनले कति सैनिक गुमाउनुपर्छ भन्ने कुरालाई उनले मतलब गरेनन् । पश्चिमले अन्तिम युक्रेनी जीवित रहुन्जेल रुसविरुद्ध लड्नका लागि जेलेन्स्कीलाई अह्राइरहेको छ र उनी त्यस आदेशलाई पालन गरिरहेका छन् ।
आखिर युक्रेनी सेनाप्रमुखले डर व्यक्त गरे जस्तै प्रत्याक्रमणका कारण युक्रेनी सेनाले भारी क्षति बेहोर्नुपरेको छ । युक्रेनले आफ्ना कति सैनिक गुमायो भनी आँकडा प्रकाशित नगरेको भए पनि रुसको रक्षा मन्त्रालयले १७ सय युक्रेनी सैनिक मारिएको जनाएको छ । त्यो संख्या बढाइचढाइ गरिएको हुन सक्छ तर युक्रेनले उल्लेख्य क्षति चाहिँ बेहोरेको छ ।
प्रत्याक्रमणमा युक्रेनका ४८ ट्यांक, ४६ वटा पैदल सैन्य वाहन, ३७ वटा सशस्त्र वाहन, भारी मशिनगन बोेकेका आठवटा पिकअप ट्रक समेत नष्ट गरिएको रुसले जनाएको छ ।
यत्तिको क्षति बेहोरेको युक्रेनले खासै लाभ हासिल गर्न चाहिँ सकेको छैन । विभिन्न टेलिग्राम च्यानलमा आएको खबर हेर्दा युक्रेनले आन्द्रीव्का र डाभीडोभ ब्रोडमा आंशिक सफलता पाएको छ ।
उनीहरू सुहोई स्टाभोक गाउँको बाटो हुँदै डाभीडोभ पुगेर रुसी प्रतिरक्षकहरूमाथि खनिएका थिए । अहिले युक्रेनीहरूले ल्युबोमिरोव्का, टेर्नोभी पोडी र लोजोभो समेत गरी पाँचवटा बस्ती नियन्त्रणमा लिएको बताइन्छ ।
तर रुसले आर्टिलरी हतियारमार्फत लगातार गोलीबारुद बर्साइरहेकाले युक्रेनीहरूलाई ती बस्ती नियन्त्रणमा राखिरहन गाह्रो पर्ने देखिएको छ । अनि रुसको वायुसेनाले पैदल सेनालाई भरपूर सहयोग गरिरहेकाले युक्रेनलाई सहज नहुने देखिन्छ ।
त्यसमाथि रुसले विगत ६ महिनादेसख अपनाएको घेराबन्दी गरी निश्चित ठाउँमा ल्याएर शत्रु सैनिकलाई धूलोपीठो पार्ने युद्ध रणनीति अहिले पनि कार्यान्वयन गरी युक्रेनीहरूलाई सोत्तर पारिरहेको छ । अनि खर्सन क्षेत्रको समथर भूभाग पनि रुसी आक्रमणका लागि अनुकूल रहेको सैन्य विश्लेषकहरू बताउँछन् ।
रुसलाई पछि हटाउन सकिन्न भन्ने थाहा पाउँदापाउँदै पनि जेलेन्स्की आफ्ना सैनिकहरूको बलिदान दिन तयार छन् । अहिलेसम्म युक्रेनका लगभग १ लाख सैनिकको मृत्यु भइसकेको अनि त्यति नै संख्यामा युक्रेनी सैनिकहरू पुनः युद्ध लड्न नसक्ने गरी सख्त घाइते भएको बताइन्छ ।
यस प्रत्याक्रमणमा पश्चिमी युक्रेनबाट ल्याइएका १२८औं माउन्टेन असल्ट ब्रिगेडका सैनिकहरू उपयोग गरिएको र तिनलाई आफूहरूले हराएको रुसको दाबी छ । त्यो सही हो भने युक्रेनका जगेडा सैनिक पनि धमाधम सकिन थालेका छन् ।
सैनिक आपूर्ति गर्न नसकेकाले युक्रेनी अधिकारीहरूले बन्दूक तेर्स्याएर युवाहरूलाई जबर्जस्ती भर्ती गरिएका भिडियो पनि सार्वजनिक भएका छन् । पश्चिमको घातक हतियार पाए पनि त्यसलाई राम्ररी चलाउन नजान्ने अव्यावसायिक सैनिकको भरमा युक्रेनले यो प्रत्याक्रमण गरेको देखिन्छ ।
जेलेन्स्कीले किन यो आत्मघाती प्रत्याक्रमणको आदेश दिएका हुन्, माथि नै उल्लेख गरिसकिएको छ । उनले पनि पूर्ण स्वेच्छाले यो आदेश दिएका हैनन् । अगस्ट २६ मा द न्युयोर्क टाइम्समा एन्ड्रु ई क्रेमरले तयार पारेको समाचारमा उल्लेख भएअनुसार, जेलेन्स्कीलाई प्रत्याक्रमण शुरू गर्न दबाब थियो ।
कसले त्यो दबाब दिएको हो त ? उत्तर स्पष्ट छ– अमेरिका । अनि अमेरिका किन यस प्रत्याक्रमणका लागि मरिहत्ते गर्दैछ त ?
चुनावी हिसाबकिताबमा यसको उत्तर भेटिन्छ । बाइडन प्रशासनको समर्थन सूचकांक विगत एक वर्षदेखि ओरालो लागेको लाग्यै छ । त्यस्तो स्थितिमा विपक्षी रिपब्लिकनहरूले नोभेम्बर महिनामा हुने मध्यावधि निर्वाचन जितेछन् भने बाँकी दुई वर्षको कार्यकालमा बाइडनले कुनै पनि प्रमुख नीति पारित गराउन सक्दैनन् ।
त्यसैले बाइडन प्रशासन युक्रेनमा आंशिक मात्र भए पनि विजय प्राप्त गरेको देखाउन पाए चुनावमा आफूलाई फाइदा हुने आकलन गरिबसेको छ । आफूले लिएको युक्रेन नीति सफल भएको अमेरिकी जनतालाई प्रमाणित बाइडन प्रशासनले प्रमाणित गर्नुछ । त्यसैले खर्सन प्रत्याक्रमणको असफलताको ज्ञान हुँदाहुँदै पनि अमेरिकाले त्यसलाई अगाडि बढाउन लगाएको हो ।
तर त्यति मात्र कारण हैन । अमेरिकाको एकध्रुवीय प्रभुत्व नै दाउमा परेकाले ऊ युक्रेन विजयी भएको साबित गर्न कम्मर कसेर लागिपरेको हो ।
अमेरिकाको यस प्रयासका कारण अहिलेको स्थिति दोस्रो विश्वयुद्धको अन्त्य हुने बेलाको जस्तै देखिन्छ । सन् १९४५ को आरम्भमा नाजी जर्मनीले युद्ध हारिसकेको कुरा सबैलाई थाहा थियो । नाजीहरूले कतिखेर आत्मसमर्पण गर्लान् भन्ने मात्र अपेक्षा थियो । तैपनि हिटलरले अन्तिमसम्म आफ्ना सैनिकहरूलाई लडिरहन आदेश दिएका थिए । युक्रेन युद्ध पनि त्यस्तै खतरनाक मोडमा आइपुगेको छ ।
रुसलाई यस युद्धमा हराउन सकिन्न भन्ने अमेरिकालाई थाहा पनि छ तर रुसको विजयलाई जसरी भए पनि रोक्नु पनि छ । त्यसका लागि अमेरिकाले जस्तो कदम पनि चाल्न सक्छ ।
हुन पनि रुस यस युद्धमा विजयी भएपछि सोभियतकालमा झैं आफ्नो पश्चिमी सीमामा रणनीतिक गहिराइ स्थापित गर्न सफल हुनेछ । अझ त्यसभन्दा पनि खतरनाक कुरा त, रुसको विजयले अमेरिकाको एकध्रुवीय प्रभुत्वलाई विधिवत अन्त्येष्टि गर्नेछ ।
युक्रेनको भूमिमा अमेरिकाले चलाएको छद्मयुद्धमा रुस विजयी भएपछि विश्व शक्ति सन्तुलनमा आधारित बहुध्रुवीयतामा प्रवेश गर्नेछ । अमेरिकालाई द्विध्रुवीयतासम्म पाच्य छ, बहुध्रुवीयता उसका लागि सर्वथा अस्वीकार्य व्यवस्था हो ।
त्यसैले शीतयुद्धपछिको आफ्नो एकध्रुवीय प्रभुत्व अक्षुण्ण राख्नका लागि अमेरिकाले जस्तो कदम पनि उठाउन सक्छ । युक्रेनमा जनधनको व्यापक क्षति हुने गरी गराइएको छद्मयुद्ध त्यसको एक झलक मात्र हो । खर्सन प्रत्याक्रमण जस्तो आत्मघाती कारवाही त्यसैको एक हिस्सा हो ।
पढ्नुहोस्, यो पनि :
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...