माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
भदौ २२, २०७९
भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले भारत जोडो यात्रा शुरू गर्ने भएका छन् ।
कन्याकुमारीबाट उनले यात्रा शुरू गर्न लागेका हुन् । यात्रा थाल्नुअघि बुधवार तमिलनाडुको श्रीपेरुम्बुदुरमा आफ्ना पिता राजीव गान्धीको स्मारकमा पुगेर उनले प्रार्थना गरेका छन् ।
त्यसपछि उनले आफ्नो ट्विटर अकाउन्टमा लेखे, ‘मैले घृणा र विभाजनको राजनीतिमा पिता गुमाएँ । आफ्नो प्यारो देश यस्तो राजनीतिमार्फत म गुमाउन चाहन्नँ ।’
बिहीवारबाट यात्राको औपचारिक आरम्भ गरिनेछ । कन्याकुमारीबाट यात्रा शुरू गरी कश्मीरको श्रीनगरसम्म पुग्ने राहुलको योजना हो । विभिन्न राज्यका १०० जना जति भारत यात्रीहरू पनि उनीसँग रहने बताइएको छ ।
कुल ३५ सय ७० किलोमिटर पदयात्रा गरी सन् २०२३ को फेब्रुअरी महिनामा उनीहरू श्रीनगर पुग्ने कार्यक्रम छ । उनीहरू दुईवटा जत्थामा गरी दिनदिनै बिहान ७ बजेदेखि साँझ साढे ६ बजेसम्म हिँड्नेछन् । लगभग १५० दिनको यस यात्राले देशका १२ वटा राज्य र दुईवटा केन्द्रशासित प्रदेशलाई समेट्ने बताइएको छ । यात्राको मूल नारा ‘मिले कदम, जुडे वतन’ हो ।
यस यात्रामा राहुलले सरल जीवनशैली अपनाउने कांग्रेस पार्टीले जनाएको छ । उनी कुनै पनि होटलमा नबस्ने बताइएको छ ।
एएनआईमा छापिएको खबरअनुसार, राहुल प्रत्येक ठाउँमा बनाइएका कन्टेनरमा बस्नेछन् । त्यही कन्टेनरमा ओछ्यान, शौचालय र एसीको व्यवस्था गरिनेछ । विभिन्न स्थानमा यस्ता ६० वटा कन्टेनर तयार पारिएको बताइएको छ । यो तामझाम हेर्दा राहुलको पदयात्रा पार्टीले भने जस्तो सरल सादा चाहिँ देखिँदैन ।
राहुलको यो यात्रा रुग्ण बनिसकेको कांग्रेस पार्टीलाई ब्युँताउनका लागि भइरहेको विश्लेषकहरू बताउँछन् । एकपछि अर्को राज्यमा भएका निर्वाचनहरूमा पराजित भई कांग्रेस पार्टी विगत आठ वर्षमा इतिहासकै कठिन मोडमा आइपुगेको छ ।
त्यस दुर्गतिलाई थप बल पुर्याउने गरी गान्धी परिवारको हालीमुहाली पार्टीमा रहेको छ । गान्धी परिवारसँग नजिक रहेका बाहेक अन्य नेताहरूलाई उचित सम्मान नदिइँदा उनीहरू धमाधम पार्टी छोडेर जान थालेका छन् । कपिल सिब्बल, गुलाम नबी आजाद, आनन्द शर्मा लगायतका नेताले लामो समयदेखि पार्टीका लागि मेहनत गर्दा पनि अपमानित भई पार्टी परित्याग गरेका हुन् ।
तर यसबाट पाठ नपढी कांग्रेस पार्टीले गान्धी परिवारलाई संरक्षण तथा संवर्धन गरिनैरहेको छ । राहुल गान्धीलाई प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा प्रस्तुत गर्नका लागि पृष्ठभूमि तयार पार्न यो पदयात्राको आयोजना गरिएको देखिन्छ ।
आइतवार (४ सेप्टम्बर) दिल्लीस्थित रामलीला मैदानमा ‘महंगाई पर हल्ला बोल’ आमसभा आयोजना गरी कांग्रेस र राहुल गान्धीले आफ्नो सान्दर्भिकतालाई जीवित राख्न प्रयास गरेका छन् । अब पदयात्रामार्फत त्यसलाई गति दिने उनीहरूको कोशिश हो ।
त्यसो त राजनीतिमा आएदेखि अहिलेसम्म गरी चारपटक राहुललाई कांग्रेस पार्टीले विभिन्न कार्यक्रममार्फत ‘लोन्च’ गरिसकेको छ । तर कसै गर्दा पनि उनी बहालवाला प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिनै सकिरहेका छैनन् ।
यस्तो स्थितिमा महंगाई पर हल्ला बोल र भारत जोडो यात्रामार्फत गान्धी परिवार अझै पनि बलियो छ र यसैको नेतृत्वमा कांग्रेस पार्टीको पुनरुत्थान हुनेछ भन्ने सन्देश राहुलले दिन खोजेको देखिन्छ ।
मोदी सरकारले गान्धी परिवारलाई पछिल्लो समयमा तारो बनाइरहेको सन्दर्भमा राहुलले परिवारको सुदृढता प्रदर्शन गर्न खोजेको हुनुपर्छ । राहुलकी आमा कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई नेसनल हेराल्ड पत्रिकामार्फत सम्पत्ति शुद्धीकरण मुद्दामा सरकारी निकाय इन्फोर्समेन्ट डिरेक्टोरेट (ईडी) ले कैयौं दिनसम्म घन्टौं लगाएर बयान लिई ‘मोरल डाउन’ गर्ने प्रयास गरेको गान्धी परिवारको बुझाइ छ । राहुललाई पनि त्यही मुद्दामा ईडीले ५५ घन्टासम्म बयान लिएको थियो ।
तर गान्धी परिवारलाई भ्रष्टाचारका विभिन्न मुद्दामा अभियोजन गरी सताउनका लागि मोदी सरकारले गरेको प्रयास विफल हुनेछ भन्ने सन्देश दिनका लागि राहुल गान्धीले पदयात्रा गरेका हुन सक्छन् । अनि कतिपय नेताहरू कांग्रेस छोडेर गएको भए पनि त्यसले कांग्रेस पार्टी तथा गान्धी परिवारलाई कुनै फरक नपार्ने सन्देश पनि राहुलले दिन खोजेका हुन सक्छन् ।
भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघले भारतलाई धर्मका नाममा विभाजित गरिरहेको अनि देशमा घृणाको उदय भइरहेको राहुलको भनाइ छ । घृणामार्फत विभाजन गर्न खोजिएको देशलाई जोड्न र एकताबद्ध गर्न भारत जोडो यात्रा आफूले शुरू गर्न खोजेको राहुल बताउँछन् ।
राहुल र कांग्रेस पार्टीलाई यो यात्राको आवश्यकता थियो किनकि पार्टी जनताबाट टाढिँदै गएको पछिल्ला चुनावी परिणामहरूले पुष्टि गरेका छन् । लुट्येन्स दिल्लीमा अभिजात वर्गबाट घेरिएर बसेका राहुललाई भारतका सर्वसाधारणले के सोचिरहेका छन्, कांग्रेस पार्टीप्रति उनीहरूको गुनासो के हो, पार्टीका संगठनहरू प्रत्येक राज्यमा किन कमजोर हुन पुगे भन्ने कुरा थाहा छैन जस्तो देखिन्छ ।
भारतका प्रख्यात इतिहासकार रामचन्द्र गुहाले गान्धी परिवार आफ्ना आसेपासे दरबारियाबाट घेरिएर धरातलीय यथार्थबाट विमुख बनेको आरोप लगाएका छन् । गत मार्च महिनामा द वायर अन्लाइनका करण थापरसँगको अन्तर्वार्तामा गुहाले त ठाडै गान्धी परिवारका तीनै सदस्य (सोनिया, राहुल र प्रियंका)ले राजनीति छोड्नुपर्ने सुझाव दिएका थिए ।
पाँचौं पुस्ताको वंशीय राजनीतिकर्मीलाई जनताले स्वीकार नगर्ने उनको भनाइ छ । भाजपा र कांग्रेसको प्रत्यक्ष भिडन्त हुने २०० सीटमा कांग्रेसले मुश्किलले ८ प्रतिशत सीट जित्ने आकलन पनि उनले गरेका छन् । यहाँ स्मरण गराऔं, गुहा कांग्रेसका हितचिन्तक तथा भाजपाका विरोधी बुद्धिजीवी हुन् ।
गुहाले इंगित गरेको कटु यथार्थलाई गान्धी परिवारले मनन गरेको हुनुपर्छ । त्यसैले देशका १२ वटा राज्यको पदयात्रामार्फत भारतीय जनतालाई नजिकैबाट बुझ्नका लागि राहुलले अवसरका रूपमा लिएका छन् । ठूला आमसभा वा सडक जुलुस भन्दा पनि जनतासँग प्रत्यक्ष भेटघाट गर्ने यस्तो किसिमको कार्यक्रमले कांग्रेसलाई फाइदा दिलाउन सक्छ ।
डिजाइनबक्स्ड नामक संस्थाका निर्देशक तथा राजनीतिक रणनीतिकार नरेश अरोराले टाइम्स अफ इन्डियाको लेखमा कांग्रेसको जनसम्पर्क कार्यक्रमले सकारात्मक परिणाम ल्याएको उदाहरण प्रस्तुत गरेका छन् । सन् २०१८ मा राहुलले यस्तै किसिमको कार्यक्रम मध्य प्रदेश विधानसभा निर्वाचनअघि गरी किसानहरूको समस्यालाई मूल मुद्दा बनाएका थिए । त्यसले पार्टीलाई लगभग बहुमतको स्थितिमा पुर्याएको थियो भलै पार्टीले लामो समय सरकार चलाउन सकेन ।
छत्तीसगढमा पनि कांग्रेस नेताहरूले नौ महिनाको यात्रा गरेपछि कांग्रेसले भाजपाको किल्ला मानिने राज्यमा दुईतिहाइ बहुमतका साथ सरकार बनाउन सकेको थियो । किसानलाई ऋण माफ गरिदिने वाचासहित चुनावमा होमिएको कांग्रेसले त्यतिखेर प्रचण्ड बहुमत पाएको थियो ।
तर राहुल गान्धीले जनतालाई मोदी सरकारविरुद्ध भड्काउन खोजेको भरमा आफूलाई मत आउँछ भनी सोचेका छन् भने त्यो दिवास्वप्न मात्र साबित हुने देखिन्छ ।
राहुलका भाषणहरूमा कांग्रेसको सकारात्मक प्रस्ताव भन्दा पनि नकारात्मक मोदीविरोध हावी भएको देखिन्छ । त्यस नकारात्मकताले जनतालाई कांग्रेसप्रति आकर्षण गराउने क्षमता राख्दैन ।
यो पदयात्रा भारतलाई जोड्नका लागि भनिएको छ तर त्यो आफैंमा ठोस कारण हैन । भारतमा व्यापक गृहयुद्ध चर्किएर हत्याहिंसा भइरहेको भए भारतीयहरूको मन जोड्नका लागि यात्रा गर्नुपर्ने औचित्य साबित हुन सक्थ्यो होला ।
बेलायती उपनिवेशवादी सरकारले नूनमा राखेको एकाधिकारको विरोध गरी ३८५ किलोमिटरको यात्रा गरेका महात्मा गान्धीले नूनमाथि लगाइएको कर हटाउने उद्देश्य लिएका थिए ।
सन् १९९० मा भाजपाका लालकृष्ण आडवाणीले गुजरातको सोमनाथदेखि उत्तर प्रदेशको अयोध्यासम्मको १० हजार किलोमिटरको रथयात्रा अयोध्यामा राम मन्दिर बनाउनका लागि गरेका थिए ।
भनाइको मतलब, कुनै ठोस उद्देश्यका साथ नेताहरूले लामो यात्रा आयोजना गर्ने गरेका छन् ।
तर राहुलको यात्रा भारत जोड्नका लागि भनिएकाले अमूर्त लाग्छ । यो सन् २०२४ को लोकसभा निर्वाचन जित्नका लागि मात्र गरिएको स्टन्ट हैन, यसको पवित्र उद्देश्य छ भनी जनतालाई बुझाउन राहुल गान्धीसमक्ष ठूलो चुनौती छ ।
पढ्नुहोस्, यो पनि :
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...