माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
काठमाडाैं | साउन १, २०८०
१४ औं महाधिवेशनबाट नेपाली कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माको उदय भएपछि पार्टीले नवजीवन प्राप्त गर्ने धेरैको विश्वास थियो ।
आफूहरू पदाधिकारी भएपछि पार्टीलाई रचनात्मक बनाउने संकल्प यी नेताद्वयले गरेका थिए । तर, कार्यकर्ताको आमअपेक्षा अनुरूप युवा नेता आएपछि पनि परम्पराजस्तै पार्टी झन् शिथिल देखियो । ११ महिनासम्म केन्द्रीय समिति बैठक समेत नबस्ने तीतो यथार्थसँग शेखर, गगन र विश्वप्रकाशले पौंठेजोरी खेलिरहेका छन् ।
१८ महिनाअघिको महाधिवेशनदेखि ८५ बाट बढाएर केन्द्रीय समिति १६८ बनाइयो । तर न थपिएका पदाधिकारीले काम पाए, न त नयाँ अनुहारका दर्जनौं केन्द्रीय सदस्यले कुनै भूमिका निभाउन पाएका छन् । कतिसम्म भने नियमित बैठक बसेर महत्त्वपूर्ण विषयमा पार्टीलाई सुझाव दिनबाट समेत उनीहरूलाई वञ्चित गरिएको छ ।
आशालाग्दा नेता पार्टीको जिम्मेवार पदमा पुगेकै समयमा अझै केन्द्रीय समिति बैठकले पूर्णता पाएको छैन । केन्द्रीय कोषाध्यक्ष मनोनीत गरिएको छैन । केन्द्रदेखि तल्लो तहसम्मका नेता/कार्यकर्ता परिचालित हुने केन्द्रीय विभागसमेत गठन गर्न कांग्रेस नेतृत्व असफल भएको छ ।
कांग्रेस नेतृत्वमा रहेका अधिकांश अनुहारको पृष्ठभूमि नेविसंघ हो । तर, विद्यार्थी संगठनबाट उदाएको स्वर्णिम युवा पुस्ता कांग्रेसमा सक्रिय भइरहेका बेला नेविसंघसहितका भ्रातृ संस्था भद्रगोल छन् । वर्षौंदेखि यी संस्था तदर्थवादमा चल्दै आएका छन्, जबकि महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सम्पूर्ण संरचनाले पूर्णता पाउनुपर्ने थियो ।
पार्टी संगठन परिचालन र विस्तारमा कमजोरीका अनेकौं फेहरिस्तसँग त कांग्रेस जोडिएको छ नै, अर्कातिर सत्ता र शक्तिमा भए पनि कांग्रेसको अस्तित्व देखिनै मुस्किल छ । गत निर्वाचनबाट कांग्रेस ठूलो पार्टी भएको थियो ।
गठबन्धन बनाएर चुनाव लडे पनि माओवादीलाई एमालेको कित्तामा पुग्ने वातावरण देउवाले दिएपछि १० पुसमा चुनावी तालमेल र गठबन्धनको औचित्यमाथि कांग्रेसमा गम्भीर प्रश्न उठेको थियो । जसोतसो फेरि माओवादीलाई एमालेबाट फर्काएर आफैंतिर तानेको र केन्द्रदेखि प्रदेशका सरकारमा प्रवेश पाउँदा समेत कांग्रेस राष्ट्रिय राजनीतिको सीनमा कतै नदेखिने अवस्था छ ।
माओवादीका मन्त्रीले सरकारमा बसेर राम्रो कार्यसम्पादन गरिरहेका बेला कांग्रेसका नेता मन्त्री बने पनि गुमनाम छन् । प्रदेशका मुख्यमन्त्रीमा एमाले हटेर कांग्रेसको प्रवेश भए पनि पार्टीको सरकार हुनुको बोध गराउन नसकेको भारीले कांग्रेस किचिएको छ । यसैले शिथिल संगठन, सरकारमा प्रवेश तर कार्यसम्पादन शून्य, नयाँ पार्टी रास्वपाको उदय भएपछिको चुनौती र छटपटीले कांग्रेसमा गगन र विश्वप्रकाशहरूमा सबैभन्दा बढी उकुसमुकुस देखिएको छ ।
यति मात्रै होइन, नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगीमा कांग्रेसका जिम्मेवार नेता बालकृष्ण खाँण मुछिएका छन् । उनीमाथि गम्भीर मुद्दा लाग्दासमेत पार्टीले निलम्बन गरेको छैन ।
गम्भीर मुद्दामा नेतालाई संरक्षण गरेको सार्वजनिक प्रश्नको भारीले समेत कांग्रेस किचिएको छ । यो विषयलाई शेखर–गगन पक्षले बैठकमा गम्भीररूपमा ध्यानाकर्षण गराउने तयारी गरेको छ । एकपछि अर्को चुनौती आइलागेपछि कांग्रेस नेतृत्वमाथि उठेको प्रश्न सभापति देउवामाथि मात्रै होइन, यसको दोष र भारी युवा पुस्ताका गगन, विश्वप्रकाश, जीवन परियादेखि बद्री पाण्डेसम्मले बोक्नुपर्ने देखिएको छ ।
देउवा आलोचनाबाट अझै पनि भाग्न चाहन्छन्, त्यसैले बल्ल २ साउन (मंगलबार) बोलाइएको केन्द्रीय समितिको बैठकलाई पनि प्रक्रियामा लगेर टुंग्याउने दाउ उनले हेरिरहेका छन् । यसैले सम्भावित एजेन्डामा पहिले नै मोटामोटी सहमति गरेर केन्द्रीय समितिबाट त्यससलाई औपचारिकता दिने तयारीस्वरूप देउवाले सोमबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका थिए ।
यो बैठकका पदाधिकारी तहमा सम्भावित एजेन्डाको विषयमा मोटामोटी सहमति भएपछि केन्द्रीय सदस्यको सम्भावित आलोचनाबाट बच्ने दाउ देउवाले हेरिरहेको बताइन्छ ।
देउवानिकटका एक केन्द्रीय सदस्य सबै कमजोरीको दोष सभापतिलाई मात्र दिन नहुने बताउँछन् । ‘सभापति एक जनाको मात्रै कमजोरीले प्रश्न उठेको छैन,’ ती सदस्य भन्छन्, ‘सभापतिबाहेकका अरू पनि जिम्मेवार पदाधिकारी हुनुहुन्छ । पार्टीले यो बीचमा कति काम गर्न सक्यो वा सकेन भन्नेमा उहाँहरूको पनि समीक्षा हुनेछ ।’
देउवा पक्षले पार्टी स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ठूलो भएको, प्रधानमन्त्रीलाई आफ्नो गठबन्धनमा तान्न सकेको, केन्द्रदेखि प्रदेशका सत्तामा कांग्रेसले नेतृत्व लिएकोसम्मका विषयलाई उपलब्धि मान्नुपर्ने गरी बैठकमा मत राख्ने तयारी गरेका छन् । तर, आलोपालोमा प्रचण्डपछि देउवा प्रधानमन्त्री हुने भएपछि सरकारको आलोचना गरेर माहोल बिगार्न नहुने पक्षमा संस्थापनपक्षीय केन्द्रीय सदस्य छन् ।
गगन र विश्वप्रकाशसहित संस्थापनइतर पक्ष आफू पनि नेतृत्वमा भइरहेकाले बदनामी र चुनौतीको थप भारी बोकिरहन नचाहने मनस्थितिमा भने देखिन्छन् ।
त्यसैले पार्टीका शिथिल संरचनालाई पूर्णता दिने, महत्त्वपूर्ण र गम्भीर विषयमा प्रस्ट दृष्टिकोण बनाउनुपर्ने, पार्टीलाई चलायमान बनाउने कार्यक्रम ल्याउनुपर्ने, सरकारमा जानुको बोध गराउने गरी काम गर्नुपर्ने विषयमा शेखर र गगन पक्षले सभापतिको गम्भीर ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
लामो समयदेखि आफ्ना कुरा समेत राख्न नपाएकाले निर्धक्कसँग पार्टीका कमजोरी केलाउन पाउनुपर्ने माग उनीहरूको छ, यसैका लागि पनि महामन्त्री गगन थापाले सामाजिक सञ्जालमा ११ महिनापछि बैठक बस्न लागेको भन्दै पार्टीका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गरेका छन् ।
केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पार्टी हरेक विषयमा निर्णयविहीन बन्न नहुने बताउँछन् । ‘पार्टीको महाधिवेशन भएको डेढ वर्ष भइसक्दा पनि पार्टीका संरचनाले नियमित काम गर्न सक्ने वातावरण बनेको छैन । एउटा जिम्मेवार पार्टी सधैं यसरी चल्न सक्दैन,’ सिवाकोटी भन्छन्, ‘अब पनि अनेक बहानामा बैठक छल्ने र टार्ने गर्नु हुँदैन । एउटा जीवन्त पार्टीमा पदाधिकारी, केन्द्रीय सदस्य र संरचनाले काम गर्न सक्ने गरी अगाडि बढ्नुको विकल्प छैन ।’
पार्टीकासामु धेरै चुनौती रहेको भन्दै पहिलो पुस्ताले नगरे अब दोस्रो र तेस्रो पुस्ताले हस्तक्षेप गर्नुपर्ने उनी बताउँछन् । ‘हाम्रो सामु देखिएका आन्तरिक संगठनका भद्रगोलले धेरै नै चुनौती थपेका छन् । गतिशील र स्मार्ट कांग्रेस बनाउनु आजको आवश्यकता हो,’ सिवाकोटी भन्छन्, ‘नीतिगत काम कसरी गर्ने हो, तालिका बनाएर कार्यान्वयन गर्नुपर्छ । नयाँ सम्भावना खोजी गर्दै नेता/कार्यकर्ता र नागरिकसम्मले गौरवबोध गर्ने कार्यक्रम दिएर जोड्नुपर्छ ।’
पार्टी केन्द्रदेखि वडा तहसम्मका नेता/कार्यकर्तालाई परिचालन गर्ने कार्यक्रम दिने, विधानलाई अक्षरशः पालना गर्ने कार्यक्रम समेत मंगलवारदेखि बस्ने केन्द्रीय समितिले दिनुपर्ने मत उनको छ । बल्ल बस्न लागेको केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने विषयमा छलफल गर्नका लागि शेखर पक्षले सोमवार बिहान छुट्टै भेला समेत आयोजना गर्यो ।
भेलाले कुनै प्रस्ट निर्णय नगरेपछि केन्द्रीय समितिका संस्थापनको रबैया हेरेर धारणा सार्वजनिक गर्ने जानकारी शेखरले गराएका थिए ।
‘यो कुनै औपचारिक छलफल होइन, तर केन्द्रीय समिति बैठकमा पार्टी नेतृत्व कसरी प्रस्तुत हुन्छ, त्यसपछि बल्ल हामी कसरी प्रस्तुत हुने भन्ने निर्णयमा पुग्नु उचित हुनेछ,’ महामन्त्री गगनसहितका नेताको अनौपचारिक छलफलमा शेखरले भनेका थिए ।
संस्थापनइतर समूहका रूपमा शेखर पक्षले नेतृत्वको रूपमा सभापति देउवा फेल भइसकेको निष्कर्ष निकालिसकेको छैन । तर, महामन्त्रीद्वय अब सभापतिका रूपमा देउवाबाट पार्टी नचल्ने निष्कर्षतिर पुगेका छन् ।
गगन थापाले त सार्वजनिक कार्यक्रममै अब नेतृत्व परिवर्तनका लागि महाधिवेशन कुर्न नसकिने र फेरि संसदीय दलको नेता फेर्ने कसरतका लागि अपिल नै गरिसकेका छन्, जबकि सभापतिमा देउवा निर्वाचित भएको डेढ वर्ष र संसदीय दलको नेतामा निर्वाचित भएको ६ महिनामात्रै भएको छ । यही बेला गगन अब देउवाबाट चल्दैन भन्दै उनीविरुद्ध कित्ता क्लियर बनाउने अभियानमा छन् । यो अभियानमा शेखर, विश्वप्रकाशसहितका नेताको दरिलो साथ खोज्ने प्रयासमा उनी देखिन्छन् ।
तर, पार्टी केन्द्र, पदाधिकारी, महाधिवेशन प्रतिनिधिमा प्रभावकारी पकड बनाएका देउवालाई पछाडि पार्न गगनलाई सहज छैन । आफ्नो समूहको विश्वास जितेर इतरपक्षको पनि साथ पाए मात्रै गगनले देउवालाई चुनौती दिन सक्ने छन् ।
केन्द्रीय सदस्य नैनसिंह महर विधान कार्यान्वयन गर्न सकिए पार्टीमा कसैले गुनासो गर्नुपर्ने ठाउँ नआउने बताउँछन् ।
‘पार्टीमा थुप्रै समस्या देखिएका छन् । विधान कार्यान्वयन नहुँदा धेरैलाई गुनासो गर्ने ठाउँ मिलेको छ,’ महरले लोकान्तरसँग भने, ‘सभापतिदेखि महामन्त्रीहरूलाई विधानले दिएको आ–आफ्ना अधिकार छन् । विधान कार्यान्वयन भयो भने कसैले कसैलाई दोष दिनुपर्दैन । पार्टीका संरचनाले सहजै काम गर्न थाल्छन् ।’
विधान कार्यान्वयन गराउनमा दबाब दिनुको सट्टा आलोचना मात्रै गर्दा पार्टी रचनात्मक नहुने उनको धारणा छ ।
‘हाम्रो समस्या भनेको कार्यसम्पादन समितिको बैठक नबस्ने, विभाग गठन नहुने, पार्टीका संरचनाले काम नगर्ने हो,’ उनी भन्छन्, ‘यसैले बल्ल ११ महिनामा बस्न लागेको केन्द्रीय समिति बैठकले नीति महाधिवेशन, संगठनका काम, विभाग र भ्रातृ संस्थालाई प्रभावकारी परिचालनको निर्णय गर्नुपर्छ ।’
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...