फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्स शुरू भएको छ । यो नयाँ कोर्सको शिकार भविष्यमा कुन–कुन दल बन्छन्, अहिले नै अनुमान गर्न गाह्रो छ । तैपनि के चाहिँ अनुमान गर्न सकिन्छ भने ढिलोचाँडो रवि लामिछाने नेतृत्वको रास्वपा र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पनि विभाजित हुनेछन् । विभाजनको जोखिममा अन्य पार्टी पनि छन् ।
जसपा विभाजनको धेरैवटा अर्थ छ । यसको प्रभाव निकै ठूलो पर्ने देखिन्छ । जसपाको विभाजनसँगै एमाले र माओवादी गठबन्धनको विकल्पमा बहुमत जुटाउने नेपाली कांग्रेसको प्रयासमा अहिलेका लागि बिराम लागेको छ । सत्ताच्युत हुनुपरेकोमा कांग्रेसमा ठूलो निराशा थियो । त्यो निराशालाई चिर्न कांग्रेसले नयाँ सत्ता समीकरण निर्माणको प्रयास थालेको थियो । त्यो प्रयासमा पनि बिराम लागेपछि कांग्रेस समस्यामा फस्नु स्वाभाविक नै हो ।
जसपा अध्यक्ष उपेन्द्र यादव र माधवकुमार नेपालले नयाँ ध्रुव बनाउने, पालो लगाएर प्रधानमन्त्री पद खाने योजना बुन्नुभएको खुलेआम नै देखिन्थ्यो । सत्ता गठबन्धनभित्र बसेर त्यही गठबन्धनमा प्वाल पार्ने प्रयत्न उपेन्द्र र माधवले गर्दै आउनुभएको थियो । यस्तो खुलेआम प्रयत्न गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट प्रतिरोध हुने अनुमान उपेन्द्र र माधवले गर्न नसक्नु अनौठो हो ।
जसपा विभाजनसँगै के प्रस्ट भयो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निकै गहिरो गठजोड भएको छ । उपेन्द्रको पार्टी विभाजनमा केपी र प्रचण्डले उत्प्रेरकको भूमिका खेलेको ओपन सेक्रेट हो । सरकारको रक्षाका लागि अर्काे पार्टी फुटाइदिनेसम्मको साझा रणनीति केपी र प्रचण्डले अपनाएको देखिन्छ । यसबाट के अनुमान गर्न सजिलो भयो भने एमाले र माओवादीबीचको सत्ता साझेदारी कुनै पनि बेला टुट्न सक्छ भन्ने पूर्वानुमान गलत सावित भएको छ । केपी र प्रचण्डबीच बाहिर अनुमान गरिएभन्दा निकै गहिरो एकता भएको पनि प्रस्ट भएको छ । केपी र प्रचण्डबीचको यो एकता कांग्रेसका लागि पक्कै पनि चिन्ताजनक हो ।
जसपाबाट विभाजित भएको अशोक राईको समूहको भावी गन्तव्य के हो ? यो महत्त्वपूर्ण प्रश्न हो । पहिलो गन्तव्य त सरकार नै हो । सरकारमा गतिलो भागसहित अशोक राईको समूह बस्नेछ भन्ने अनुमान लाउन गाह्रो छैन । तर, यतिले मात्र पुग्दैन, आउँदो चुनाव कसरी लड्ने यो यक्ष प्रश्न अशोक राई समूहसमक्ष हुनेछ । यो समूह सम्भवतः एमालेमै मिसिनेछ । तत्काल नमिसिए पनि केही समयपछि मिसिने नै छ । अशोक राई समूह एमालेमा मिसिँदैमा एमाले सबैभन्दा ठूलो पार्टी बन्ने छैन । यसका लागि थप सांसद चाहिने छ । केपी ओलीले एमालेलाई सबैभन्दा ठूलो पार्टी बनाउने चाहना राखेको तथ्य लुकेको छैन ।
वर्तमान सत्ता समीकरण, कुर्सीको खेल वा केपी/प्रचण्डको चाहनाले मात्र जसपा फुटेको भने होइन, जसपा सधैँ अस्थिर पार्टी रहिआएको छ । अध्यक्ष उपेन्द्र यादवले जसपालाई पार्टी नभएर प्रालि जसरी चलाउँदै आएको देखिन्थ्यो । जसपा प्रालिबाट अशोक राईहरू ढिलोचाँडो फुट्नु नै थियो, विभाजनको दिन अहिले आयो ।
जसपाको विभाजनसँगै नयाँ सत्ता गठबन्धन बनाउने कांग्रेसको प्रयास असफल भएको मात्र छैन, प्रचण्ड नेतृत्वको सरकार धेरै हदसम्म सुरक्षित पनि भएको छ । अब माधव नेपाल नेतृत्वको पार्टी पनि विभाजनको संघारमा पुगेको छ । माधवको समाजवादी र रविको रास्वपा फरक–फरक कारणले विभाजित हुने देखिन्छ । यी दुई पार्टीको सम्भावित विभाजनका केही आधार :
माधवलाई संकटमाथि संकट
माधवको पार्टीले गत आमचुनावमा राष्ट्रिय पार्टी बन्ने हैसियत राखेन, यसबाटै सो पार्टीको पतन शुरू भयो । चुनावपछिका दिनमा समाजवादी सत्ता राजनीतिमै केन्द्रित भयो, पार्टीको संगठन नै बनेन । केही थान मन्त्री पद पाउनु र माधव नेपालले प्रधानमन्त्री बन्न प्रयास गर्नु नै पार्टीको लक्ष्य, गन्तव्य र आदर्श बन्यो, जसका कारण कार्यकर्ता पंक्तिमा ठूलो निराशा छायो । यो निराशाका कारण समाजवादीका कार्यकर्ता ठूलो संख्यामा एमालेमै फर्किए ।
समाजवादी पार्टी विस्तारै सांसदहरूको क्लबजस्तो बन्दै गयो । आगामी दिनमा राजनीतिक भविष्य खोज्ने हो भने कतै न कतै जानुपर्छ भन्ने ध्येय समाजवादीका सांसदहरूले राखे । यही कारण समाजवादी विभाजनको संघारमा पुगेको छ । समाजवादीमा बसेर वर्तमान पनि धरापमा, भविष्य पनि धरापमा देखे यसका नेता कार्यकर्ताले । पार्टी फोरेरै एमालेमा जान पाए राम्रै स्वागत सत्कार हुन्थ्यो भन्ने विचार राख्ने समाजवादीका नेता कार्यकर्ता धेरै भेटिन्छन् ।
माधव नेपालले पार्टी विभाजन रोक्न सक्ने या नसक्ने अनुमान गर्न गाह्रो छ । अहिले माधवले विभाजन रोक्न सकेको अवस्थामा पनि त्यो तत्कालको समाधान मात्र हुनेछ । भविष्यमा पार्टी विभाजनको खतरा यथावत रहनेछ ।
रविको सती जाने कि केही गर्ने ?
रवि लामिछानेको रास्वपा पार्टी पनि ठूलो संकटबाट गुज्रिरहेको छ । यसमा पनि विभाजनका आधारहरू देखिन थालेका छन् । माधव र उपेन्द्र लगायतका नेताहरूको पार्टी विभाजनको मुख्य कारण सत्ता स्वार्थ नै हो, तर रविको पार्टी भने फरक कारणले विभाजित हुने देखिन्छ ।
रास्वपा रविकै व्यक्तित्व भजाएर खुलेको पार्टी हो । रविकै कारण यो पार्टी संकटमा छ । यो पार्टीमा अधिकांश नयाँ राजनीतिकर्मी छन्, अर्थात् अनुभवी छैनन् । विगतमा अन्य पार्टी तथा नेताहरूले गरेको गल्ती औंल्याएर तथा अरूलाई गाली गरेर यो पार्टीले आकार लिएको हो । विगतमा रविले अरूको गल्ती जसरी औंल्याएका थिए, अहिले ती गल्ती आफैं गर्दैछन् ।
रविको पार्टी पनि जसपाजस्तै प्रालि शैलीमा चलिरहेको छ । ठूलो आशा, उत्साह र उमंग बोकेर रास्वपामा लागेकाहरूलाई रविको यो शैली पच्न सक्ने कुरै भएन ।
०८४ को चुनावमा राम्रो प्रदर्शन मात्र नभएर बहुमत नै ल्याउन सकिन्छ भन्ने आशा रास्वपाका नेता कार्यकर्तामा थियो तर सहकारी ठगी काण्डदेखि अनेक प्रकरणमा अध्यक्ष रवि नै मुछिएपछि रास्वपा ओरालो लागेको छ । इलाम उपचुनावमा रास्वापाले सम्पूर्ण शक्ति लगाएको थियो । रास्वपाका अध्यक्ष रवि आफैं, मन्त्री, सांसद र सारा नेताहरू इलाममा केन्द्रित भएका थिए तैपनि रास्वपा उम्मेदवारको जमानत जफत भएको छ ।
रविको नेतृत्वमा ०८४ को चुनावमा बेहाल हुन्छ भन्ने विचार रास्वपाभित्र फैलँदैछ । रविको नेतृत्वमा बसेर सकिने कि सम्भावनाहरूलाई समातेर अघि बढ्ने भन्ने प्रश्न रास्वपाको पार्टी पंक्तिमा देखिएको छ । त्यसैले रास्वपा पनि ढिलोचाँडो फुट्ने सम्भावनालाई नकार्न सकिँदैन ।
अस्थिरताको सिलसिला
लोकतान्त्रिक प्रणालीमा दल विभाजन सामान्य हो, तर नेपालमा दल विभाजनले अस्थिरता मात्र निम्त्याउने गरेको छ । विगतका दल विभाजनहरूले अस्थिरता नै ल्याएका छन् । अहिलेको विभाजनले केन्द्रदेखि सात प्रदेशसम्म अस्थिरता फैलिएको छ । आमचुनावपछिको दुई वर्ष नेपालमा निरन्तर राजनीतिक अस्थिरता छ । आगामी दिन पनि अस्थिर नै हुने चिन्ताजनक परिदृश्य देखिन्छ ।
नेपाल विगत तीन दशकभन्दा धेरै समयदेखि निरन्तर अस्थिर छ । अस्थिरताको आयाम संविधान फेर्नेसम्म विस्तार हुन दिन हुँदैन । बरु, संविधान संशोधन गरिनुपर्छ । निर्वाचन प्रणाली, संसद् र सरकारको बनोट सम्बन्धमा संविधान संशोधन गरेर अस्थिरताको उपचार खोज्न जरुरी छ ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...