×

NIC ASIA

सहकारी समस्याबारे चित्रबहादुर केसीको टिप्पणी- 'म लागेँ रमितामा, लौरी हरायो’ भन्नेजस्तै भएको छ

​गणतन्त्रलाई खतरा अरूबाट नभई परिवर्तनकारीबाटै छ

काठमाडाैं | जेठ १२, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्र नै हाम्रा लागि सबैभन्दा ठूलो उपलब्धि हो । विरोधीले गणतन्त्रको औचित्यमाथि प्रश्न गर्दै आक्रमण गरिरहेका छन् । सयौँ वर्षदेखि लडेर, जेलनेल खाएर ल्याएको गणतन्त्र कसरी नराम्रो हुन सक्छ ? गणतन्त्र प्राप्तिपछि आर्थिक र कृषि क्रान्तिसँगै औद्योगिकीकरणमा मुलुकलाई लैजानुपथ्र्यो, त्यो गर्न सकेनौँ । मैले बारम्बार भन्दैआएको छु कि गणतन्त्रलाई खतरा अरूबाट नभई परिवर्तनकारीबाटै भयो । गणतन्त्रमा राष्ट्र र जनतालाई जे–जति सेवा, सुविधा, विकास र परिवर्तन दिन सकिन्थ्यो, त्यो भएन । नहुनाको कारण गणतन्त्रको दोष होइन, यसलाई हाँक्नेको कमजोरी हो । गणतान्त्रिक व्यवस्थालाई विशुद्ध गुटगत स्वार्थ र व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्ने माध्यमका रूपमा प्रयोग गरियो । त्यसले लोकतन्त्रमाथि खतरा निम्त्यायो । यद्यपि, गणतन्त्रको स्थापनापछि जनतामा ठूलो जागरण र चेतना आएको छ । लोकतन्त्र हुँदैनथ्यो भने सत्ताधारीका कमजोरीका कुरा जनतालाई थाहा हुन्थेन । त्यसकारण पनि गणतन्त्रको ठूलो महत्त्व छ । यसलाई जोगाउन सबै लोकतान्त्रिक शक्तिको साझा जिम्मेवारी हुनुपर्छ ।

अहिले एकातिर लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भएको छ भने अर्कातिर जनतामा वितृष्णा छ । गणतन्त्र ल्याएका साथीहरूले आफैँले महसुस गरी कमसेकम आफू प्रजातान्त्रिक सीमाभित्र रहेर यसलाई बचाउनुपर्छ । विशुद्ध सत्ता र शक्ति मात्रै केन्द्रमा राखेर गुटबन्दी र दलबदल गर्ने कार्य गर्नुभएन । आज एउटा दलमा छ, भोलि अर्कामा छ, आज एउटा गठबन्धनमा छ, भोलि अर्कामा जाँदा दुनियाले के भन्लान् भन्ने चेत राजनीतिकर्मीमा हुनुपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तामा जाने भनेको राष्ट्र र जनतालाई केन्द्रमा राखेर नीति बनाउने र त्यसको व्यवहारिक कार्यान्वयन गर्ने हो भन्ने मेरो बुझाइ र सिद्धान्त हो । राजनीतिक व्यक्ति सत्ता र शक्तिकै लागि मात्र हुने हो भने लोकतन्त्र र गणतन्त्र किन चाहियो ? निरङ्कुश व्यवस्थामा पनि सबै खाले सत्ताधारी रसास्वादन गरी सधैँ हराभरा नै थिए । राजनीति भनेको निष्ठा र आदर्शमा रहनुपर्छ भन्ने लाग्थ्यो, सत्तामा गएपछि मैले त्यो अनुभव गर्न पाइनँ । अधिकांश सबै राजनेता र राजनीतिकर्मीमा राज्यसत्तामा हालिमुहाली गर्ने प्रवृत्तिको विकास भएको पाएँ । मलाई त्यहाँ अप्ठेरो लाग्यो । मलाई सहकारीमन्त्री बनाइयो । त्यस विषयमा मलाई जानकारी नै थिएन । अर्कातिर सहकारीबाट ठगिएका छौँ, हाम्रो बचत हिनामिना भएको छ, चित्रबहादुर मन्त्री भएको छ, हाम्रो रकम अब डुब्ने भएन, तुरुन्तै उठाइदिन्छ भनेर नियुक्त भएदेखि नै धेरैले भन्न थाले । मन्त्रालयमा पीडितको ओइरो लाग्यो । त्यस बेलादेखि नै सहकारीको रकम हिनामिना गर्नमा उपल्लो तहका व्यक्तिको हात रहेछ भन्ने कुरा मलाई थाहा भयो ।


Advertisment
Rupse Holidays
Nabil box
सहकारीमा बदनाम भएका व्यक्तिलाई जोगाउने प्रयास देख्दा आश्चर्य लागेको छ । अधिकांश उपल्लो तहका कर्मचारी, मन्त्री र सांसदलगायतको सहकारीमा रजाइँ रहेछ ।

मलाई अहिले अत्यन्तै दुःख र चिन्ता लागेको छ । राजनीति गर्दा जनतालाई आदर्श र सिद्धान्तका कुरासँगै नैतिकताको पाठ पढाइयो, त्यो अहिले कृत्रिम रहेछ भन्ने जस्तो भान भएको छ । अहिले सहकारीमा बदनाम भएका व्यक्तिलाई जोगाउने प्रयास देख्दा आश्चर्य लागेको छ । अधिकांश उपल्लो तहका कर्मचारी, मन्त्री र सांसदलगायतको सहकारीमा रजाइँ रहेछभन्ने थाहा पाएपछि उनीहरूसँग सम्बन्ध बिग्रँदै गयो । अरूले त्यसलाई आँखा चिम्लने चलन रहेछ । विसं २०४८ को सहकारी ऐनलाई संशोधन नगरी विचलन अन्त्य गर्न सकिन्न भन्ने भएपछि म ऐन संशोधन गर्न लागेँ । तर कतिपयले कालो धनलाई सेतो बनाउन पनि सहकारीमा जम्मा गर्ने चलन छ । जम्मा गरेका रकम सहकारीको सिद्धान्त र नीतिभन्दा पनि टाठाबाठाले चर्को ब्याजको लोभलालचा देखाएर दुनियाँका पैसा अपचलन गर्ने प्रवृत्ति छ । सहकारीको क्षेत्र, नीति र विधि विपरीत यावत् कुरा छाडेर कारोबार हुने गरेकाले ऐन बनाउनै दिइएन । ऐन संशोधन गर्न विज्ञ कर्मचारी छनोट गरी जिम्मेवारी दिएकामा उनको नै सरुवा गरियो । नेपालमा राजनीति कमाउन र कमाउन प्रयोग गरेको बाटो ढाकछोप गर्न प्रयोग भएको छ ।

Vianet communication

सहकारी आफैंमा समाजवादको अभिन्न अङ्ग र जग हो । देशको तीनखम्बे अर्थनीतिको एउटा खम्बाका रूपमा सहकारी छ । एउटा अङ्गलाई अहिले क्षत्विक्षत पारिएको छ । दिनभर सुनेको सहकारी हिनामिनाको विषयको दृश्यले रातभर निद्रै पर्न छाडेको छ । प्रतिपक्षकै पङ्क्तिमा रहेकाले हामीले छानबिन समिति बनाउन गरेको मागलाई बेवास्ता गरिएको छ । अहिले नेपालका राजनीतिक दल पुरेत र गाईजस्ता भएकाले को, कहाँ, कतिखेर मिसिने र प्रयोग हुने हो, टुङ्गो छैन, निष्ठा र आदर्श हराएको छ ।

‘म लागेँ रमितामा, लौरी हरायो’ भन्ने उखानजस्तै भएको छ । सहकारीका मुद्दामा अहिले संसद् चलाउनुपर्छ र खोल्नुपर्छ भन्ने होडबाजी चलेको छ । विधेयक ल्याउने, छलफल गर्ने र पारित गर्ने मुख्य जिम्मेवारी कहाँ पुगेको छ, कसैलाई अत्तोपत्तो छैन । यो अवस्थाको अन्त्य हुनुपर्छ । कानुन निर्माणकै लागि हामी चुनिएर आएका हौँ । अर्कातिर आवश्यकता र औचित्यका आधारमा सन्तुलित रूपमा बजेट विनियोजन नहुँदा मन्त्रालयमा गएर ‘लौ मलाई योजना पार्दिन प¥यो’ भनी कर्मचारीका अगाडि कपाल कन्याउने अवस्था बन्यो ।

विधेयक पारित गर्नुपर्ने मूल जिम्मेवारीमा रहेका सांसद मन्त्रालय धाउन थालेपछि कोरम (सङ्ख्या) नपुगेर कतिपय अवस्थामा हाउस (सदन) समेत बन्द हुन पुग्यो । यी सबै कुरा शक्ति र प्रभाव हुनेले बजेट लैजान थालेको परिणामको उपज हो । बजेटमा सबै जनताको समान पहुँच र अधिकारसहितको इन्साफ हुने भए सुगमले भन्दा दुर्गमकाले बढी पाउनुपर्ने हो । हामी त न्यायका लागि कानुन बनाउन आएका हौँ नि ! बजेटमा भेद्भाव रहेकाले विधायक कानुनमा नभई मन्त्रालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ । आफूले त्यो नगरेकाले मेरा विरोधीले चित्रबहादुरले केही विकास ल्याउन्न अनि भोट दिनको औचित्य छैन, भन्दै आएका छन् । हाम्रो मुख्य काम भनेको दर्जनौँ विधेयक थाती रहेकामा अघिल्लामा एउटा विधेयक पारित भयो भने अहिले सहकारीका मुद्दामा अडकिएको छ ।

राष्ट्रिय जनमोर्चाले पद र फाइदाका लागि राजनीतिलाई बार्गेनिङ गर्नेहरूलाई पार्टीमा टिक्नै दिँदैन । अरू दलमा सत्ता र शक्तिका लागि पदको दुरुपयोग गरेको सबैले देखेका छन् । यो पार्टी २०५१ सालदेखि निरन्तर संसद्मा छ । म आफैँ पनि सत्तामा गएको हो नि ! मेरा अरू कमीकमजोरी होलान् तर नौ महिना सत्तामा रहँदाजस्तो गएको त्यस्तै फर्केको हो नि । म १० महिना सार्वजनिक लेखा समितिका सभापति पनि भएँ । त्यहाँ पनि ‘चाँदीकटाइ’ हुँदोरहेछ । देश बनाउन सबैभन्दा पहिले राजनीतिक पार्टीका नीति, सिद्धान्त र नेताको चरित्र जनपक्षीय हुनुपर्छ, निष्ठावान् र कर्तव्यपरायण हुनुपर्छ ।

राजनीतिबाट पद प्राप्त गर्ने र पदको दुरुपयोग गरी सम्पत्ति कमाउने हो भने जनताको पार्टी र नेताप्रति वितृष्णा भइहाल्छ, त्यो बेठीक भन्नै सकिन्न । जसले राम्रो गर्छ, चरित्र स्वच्छ छ, त्यसलाई आरोप लगाइँदैन नि ! नत्र भ्रष्टाचार नगर्ने र राज्यको दोहन नगर्नेलाई पनि भ्रष्टाचारी भन्थे नि जनताले ! राजनीतिप्रति वितृष्णा आउनु जनताले देखेर र थाहा पाएर नै हो । यसलाई राजनीतिक पार्टीले सच्याउनुपर्छ नत्र राष्ट्रलाई सङ्कट ल्याउँछ ।

यो सबै सत्तास्वार्थबाट भएको छ, भ्रष्टाचारबाट कोही मुक्त छैनन्, आश्चर्यको कुरा त्यो छ । कोही चोखो भए जनताले पनि विचार गर्छ । राजनीति सम्पत्ति कमाउने र निजी स्वार्थ पूरा गर्ने हतियार बनेको छ । यसलाई राष्ट्र र जनताका लागि प्रयोग गरेका कारणले नै कतिपय देश विकास र समृद्धिका शिखरमा पुगेका हुन् । जुनसुकै दुःखकष्ट भोग्नु परे पनि नागरिकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ, सत्ता र शक्ति मात्रै ठूलो कुरा हो, अरू केही होइन, भन्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । आफू र आफ्नालाई जोगाउने र सहुलियत दिने सोच हट्नुपर्छ । अहिलेसम्म जे जति कमजोरी भए, त्यसबाट पाठ सिक्दै मूल्याङ्कन गर्दै सच्चिनुपर्छ ।

काठमाडौंलाई पहिले नेपाल भन्ने चलन थियो । हामी बागलुङबाट १३ दिन हिँडेर यहाँ आउनुपथ्र्यो पहिले । अहिले म एक दिनमै घर पुग्छु । यो त एक उदाहरण मात्र हो । प्राकृतिक साधनस्रोत र सम्भावना प्रशस्त भएर पनि जति विकास हुनुपर्ने थियो, त्यो भएन भन्ने साँचो हो तर ठ्याप्पै केही भएन भन्ने होइन । सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, सडकलगायत भौतिक पूर्वाधार निर्माणमा धेरै प्रगति भएको छ, निराशा मात्रै छर्न पनि भएन ।

हामीकहाँ शिक्षा प्रणाली भने राम्रो भएन, अनुशासन हरायो । पहिले शिक्षक र विद्यार्थीबीच निकै हार्दिकता हुन्थ्यो, अहिले द्वन्द्व देखिन्छ । नैतिक शिक्षाको पढाइ नहुँदा पश्चिमको छाडा र विकृति मौलायो । हाम्रा मौलिक आहारविहार, विचार, चरित्र र व्यवहार भने खुम्चन र खस्कन पुग्यो ।

अहिले नेपालमा ‘अब यहाँ केही हुन्न’ भन्ने भाष्य खडा गरिएको छ । एक करोडसम्म खर्च गरेर विदेश जाने होड चलेको छ । त्यतिका रकम खर्च गरेपछि त यहाँ पनि केही हुँदो हो नि ! विदेशमा पढ्न जाने बेग्लै कुरा हो । यहाँ अहिले शिक्षा र स्वास्थ्य निजीकरण भयो । नेपालमा गरे के हुन्न ? लसुन, खुर्सानी, धान, मकै के खेती हुन्न ? तर सबै विदेशबाट ल्याइन्छ ।

मानिस जीवनमा विभिन्न हन्डर खान्छ र त्यसबाट शिक्षा लिएर अघि बढ्छ । एउटा व्यक्तिको कुरा गर्दा चाहे राजनीतिमा होस् वा अरू विधामा नै किन नहोस्, ठक्कर खाएर आफ्नो विकास गर्छ । ठीक त्यस्तै, राष्ट्रको जीवनमा पनि हुन्छ । अहिले विकास भएका मुलुकले पनि एकाएक रातारात गरेका होइनन् । त्यस कारण निराशा मात्रै भरेर हुन्न । हामीले सम्भावना र सपना देख्नुपर्छ र मुलुकलाई परिवर्तन गर्न सकिन्छ । अहिलेको निराशाको प्रतिकूल स्थितिलाई अनुकूल तुल्याउन आफू चरित्रवान्, निष्ठावान् र इमान्दार हुनुपर्छ । केही कमजोरी हुनमा गणतन्त्र र लोकतन्त्रको दोष होइन, नकारात्मक परिस्थितिलाई बदल्न जनता नै जागरुक हुनुपर्छ, आशावादी भएर अघि बढ्नुपर्छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग राससले गरेको कुराकानीमा आधारित ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x