पुस्तक द लास्ट गर्ल – यौन शोषणमा परेकी महिलाको दारुण कथा

विन्देश दहाल
विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

सन् २०१८ की नोबेल शान्ति पुरस्कार विजेता नादिया मुरादको पुस्तक द लास्ट गर्ल ः माई स्टोरी अफ क्याप्टिभिटी एन्ड माई फाइट अगेन्स्ट दी इस्लामिक स्टेट नामक संस्मरणले अतिवादीहरूको कब्जामा परेकी एक याजिदी युवतीमाथिको दारुण अत्याचारको मर्मस्पर्शी कथा बताउँछ ।

उत्तरी इराकको सिन्जारमा रहेको कोचो गाउँमा अल्पसंख्यक याजिदी समुदायमा जन्मेकी मुरादले खतरनाक तथा क्रूर आतंकवादी समूह इस्लामिक स्टेट (आईएस) को कब्जामा रहँदा भोग्नुपरेको बलात्कार, शारीरिक हिंसा तथा मनोवैज्ञानिक त्रासको यथार्थ वर्णन गरेकी छन् । 


Advertisement


पुस्तकका शुरूआती अध्यायमा मुरादले कोचो गाउँमा बिताएका सुखद क्षणहरूको वर्णन गरेकी छन् । गाउँको प्रतिष्ठित तर गरीब परिवारमा जन्मेकी मुरादका दाजुभाइ दिदीबहिनीको संख्या ठूलो छ । बुवाको मृत्युपछि आमाले दुःखजिलो गरेर उनलाई हुर्काएकी छन् । 


Advertisement

उनी याजिदी धर्मावलम्बी हुन् । बहुसंख्यक सुन्नी मुसलमान रहेको इराकमा याजिदीहरूलाई शैतानपूजकका रूपमा लिएर उनीहरूप्रति घृणाभाव राख्ने गरिन्छ । सद्दाम हुसेनको शासनकालमा पनि याजिदीहरूलाई राम्रो नजरले हेर्ने गरिँदैनथियो । बाल्यकालदेखि नै मुरादले आफूप्रति अन्यले नजानिँदो तरिकाले विभेद गरेको अनुभव गर्छिन् । तर कसैसँग पनि उनको मनमुटाव हुँदैन ।

अमेरिकाले सन् २००३ मा इराकमा युद्ध शुरू गरेपछि युद्धको अनुभवमा हुर्केकी मुरादले युद्धको प्रत्यक्ष असर भने भोग्नुपरेको थिएन । तर सद्दामको पतनपछि सुन्नी समुदायमा फैलिएको आक्रोशलाई भजाउँदै उदाएको आतंकवादी समूह आईएसले सन् २०१४ मा मुरादको कोचो गाउँमा आतंक मच्चाउन आइपुग्छ । कुर्द समूहका लडाकूहरूले याजिदीलाई रक्षा गर्ने प्रतिज्ञा गरेपनि आईएस आएपछि उनीहरू मोर्चा छोडेर भाग्छन् । 

विधर्मी याजिदीप्रतिको घृणाका कारण आईएसले कोचोमा स्थानीयहरूलाई कि त मुसलमान धर्म अपनाउन कि त मारिन तयार हुनुपर्ने फरमान सुनाउँछन् ।

अल्पसंख्यक याजिदीहरू आफ्नो धर्मप्रति गर्व गर्ने हुनाले इस्लाम अपनाउन राजी हुँदैनन् र उनीहरूमाथि दमनको सिलसिला शुरू हुन्छ । उनीहरूलाई गाउँबाट भाग्न पनि दिइँदैन र गौंडा गौंडामा आईएसका लडाकूहरूले गश्ती गर्छन् । सिन्जार पर्वतमा भाग्न सफल केही याजिदी त भाग्यमानी नै ठहरिन्छन् । तर ‘डरका कारण आफ्नो घरबाट बाहिरिन बाध्य हुनु एक मानवले सामना गर्नुपर्ने सबभन्दा खराब अन्यायमध्ये एक हो,’ भन्छिन् मुराद ।

तर मुरादका नौमध्ये ६ दाजुहरू अनि आमालाई आईएस लडाकूले मार्छन् । मुराद र उनको परिवारका अन्य सदस्य तथा गाउँलेलाई आईएस लडाकूहरूले जबर्जस्ती ट्रकमा हालेर लैजान्छन् । 

मोसुल पुर्‍याइएका मुरादलाई आईएसले यौनदासी (सबिया) बनाउँछन् । सामान खरिदबिक्री गरेजस्तै युवतीहरूलाई बेचबिखन गरिन्छ । मुराद एक दुब्ले न्यायाधीशको यौनदासी बन्छिन् । 

उनलाई पहिला मुसलमान बनाइन्छ । आईएसले विधर्मी युवतीलाई यौनदासी बनाउन पाइने व्याख्या गरेको भए पनि उनीहरूलाई मुसलमान धर्ममा कन्भर्ट गरेरै यौनदासी बनाएबाट उनीहरू धर्मको आफूअनुकूल व्याख्या गर्ने युद्धअपराधी भएको प्रमाणित हुन्छ । 

यौनदासी बनेकी मुरादलाई दिनहुँजसो बलात्कार गरिन्छ, यातना दिइन्छ, पिटिन्छ, बेइज्जत गरिन्छ अनि भाग्न खोज्दा कोर्रा हानिन्छ । अनि पछि उनलाई अन्य अन्य आतंकवादीलाई बेचिन्छ । 

मुरादको सशक्त लेखनीको उदाहरण एक प्रसंगमा देखापर्छ । उनी लेख्छिन्, ‘म एकपछि अर्को आतंकवादीलाई बेचिँदा मेरो निराशा बुर्काजस्तो बन्यो — भारी, अन्धकारमय र अदृश्य ।’ 

तर नारकीय जिन्दगी बिताउनुपरेकी मुराद अन्ततोगत्वा भाग्न सफल हुन्छिन् ।

मोसुलबाहिर एक दयालु सुन्नी परिवारको शरणमा पुगेकी मुरादलाई त्यस परिवारका सदस्य नसीरले सिन्जार पु¥याउने घटनाक्रम निकै रोचक छ । मुरादलाई झूटो नाम दिएर आफ्नी पत्नी हो भन्ने भ्रम पारेर नसीरले कुर्दहरूको नियन्त्रणमा रहेको सुरक्षित स्थानसम्म पुर्‍याएका हुन् । 

इस्लाम धर्मको विकृत व्याख्या गर्दै आईएसले विधर्मी महिलालाई यौनदासी बनाएकोमा नसीर जस्ता असल सुन्नीहरू पनि छन् जो नारीलाई सम्मान गर्छन् । आईएसको प्रभावक्षेत्रमा पनि मानवता कायम रहेको उदाहरण नसीरले प्रस्तुत गर्छन् । 

दुःखको कुरा त, याजिदी समुदायमा पनि नारीको कुमारित्वको विषयलाई निकै महत्त्व दिने गरिन्छ । त्यसैले मुरादलाई कब्जामा राख्ने आईएस कमान्डरले बारम्बार उनलाई चिढ्याउने क्रममा ‘फर्केर गएपछि पनि तिमीलाई तिम्रो समुदायले स्वीकार गर्ने छैन’ भन्छन् । तर याजिदी समुदायका जान्नेसुन्नेहरूले विशेष परिस्थितिमा याजिदी महिलाको कुमारित्व तोडिएको भए पनि उनलाई स्वीकार गर्नुपर्ने निर्णय सुनाउँछन् । त्यसो त केही याजिदी महिलाले पुनः कुमारित्वको शल्यक्रिया (हाइमेन रिस्टोरेसन) पनि गरेको उल्लेख मुरादले गरेकी छन् ।

आफूमाथि भएको यस्तो जघन्य अपराधका बारेमा चुपचाप नबसी मुरादले यसको वर्णन गर्दै पुस्तक प्रकाशित गर्नु आफैंमा साहसको अनुपम उदाहरण हो । जातिसफाया र नरसंहार अनि युद्धकालमा यौन अपराध जस्ता मानवताविरुद्धका अपराध गर्ने आईएस समूहका लडाकूहरूलाई न्यायको दायरामा ल्याउनका लागि पनि मुरादको यो पुस्तक प्रकाशित हुनु जरूरी थियो । मुराद जस्ता अनेकौं याजिदी युवतीहरूले सहनुपरेको पीडादायी अनुभवलाई पुस्तकले मूर्त रूप दिएको छ । यो पुस्तक न्यायप्राप्तिको दिशामा पीडितको बकपत्र पनि हो । 

पुस्तकमा उनले लेखेकी छन्, ‘प्रत्येकपटक मलाई त्यस समयको पीडादायी सम्झना आउँदा म फेरि त्यही नर्कमा पुगे जस्तो लाग्छ । त्यसैले आईएसका हरेक अपराधीले उनीहरूको कुकर्मको सजाय पाउनैपर्छ ।’ हुन पनि उनको कथा आतंकवादविरुद्धको सबभन्दा बलियो हतियार हो । प्रत्येक अपराधीलाई सजाय नहुन्जेल उनले आफ्नो कथालाई हतियारका रूपमा प्रयोग गरिरहने प्रण लिएकी छन् ।

नादिया मुरादले पुस्तकको अन्त्यतिर भनेकी छन्, ‘मेरो जस्तो कथा भएकी संसारको अन्तिम युवती हुन चाहन्छु म ।’ अर्थात् आफूले भोग्नुपरेको जस्तो पीडा अरू कसैले पनि नभोगून् भन्ने उनको आशय हो । यही वाक्यबाट पुस्तकको शीर्षक द लास्ट गर्ल अर्थात् अन्तिम युवती पनि जुरेको हो । मुरादको जस्तो पीडा अर्की युवतीले नभोग्ने निश्चित गर्नका लागि आईएसलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा चलाएर कठोर दण्ड दिइनुपर्छ ।  
अनि पीडालाई अभिव्यक्त गर्नु पनि मनोवैज्ञानिक उपचारको एक अंग हो । मुरादले लामो समयसम्म भोग्नुपरेको हिंसाले उनको मनोविज्ञानमा पारेको नकारात्मक असरलाई कम गर्नका लागि पनि पुस्तक उपयोगी माध्यम बन्न पुगेको भन्न सकिन्छ । 

यो पुस्तक रमाइलो वा मनोरञ्जनका लागि लेखिएको हैन । पुस्तक पढेपछि आईएसको अमानवीयताका बारेमा जानेर पाठकको रगत उम्लिन्छ र अनि त्यस समूहप्रति घृणा जाग्छ । आर्ईएसले अहिले पनि मुरादलाई आफूविरुद्ध अभियान नचलाउन धम्की दिइरहेको छ तर उनले मानवअधिकार अधिवक्ता अमाल क्लूनी (जसले पुस्तकमा भूमिका लेखेकी छन्) को सहयोगमा आईएसविरुद्ध न्यायको लडाईं लडिरहेकी छन् । पुस्तक पढेपछि पाठकलाई पनि मुरादको न्यायप्राप्तिको संघर्षप्रति समर्थन गर्ने उत्प्रेरणा प्राप्त हुन्छ । 

कमेन्ट गर्नुहोस्