'लुट कान्छा लुट'सँग राजनीतिक प्रवृत्तिको साइनो

नारायण अर्याल
नारायण अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि समसामयिक घटनाक्रम र प्रशासनिक मामिलामा रिपोर्टिङ गर्छन् ।

गायक पशुपति शर्माको बहुचर्चित गीत 'लुट कान्छा लुट'ले नेपाली राजनीतिक आन्दोलनमा निरन्तर भएको धोखाधडी र राजनीतिक लुटको प्रक्रियालाई जनताको भावना यथार्थताको धरातलमा टेकेर आक्रमण गरेको छ । त्यसैले यो आक्रमण त्यतिबेलासम्म रहन जरुरी छ जतिबेलासम्म निकृष्ट राजनीतिक उपरीसंरचना रुपान्तरण हुँदैनन् ।

नीतिगत र व्यावहारिक रूपमा भ्रष्ट बनेको राजनीतिक उपरीसंरचना र शर्माको गीतले सृजना गरेको जागरणको लहर निरपेक्ष रूपमा अन्तरसम्बन्धित छन् । यी दुईमा कुनै एक ठिक हुँदा अर्को बेठीक हुने भन्ने हुँदैन । एकैपटक गीत पनि बेठिक हुन सक्छ र राजनीति पनि बेठिक भइरहेको हुन सक्छ । तर जब देशभित्र निराशा पैदा गर्ने गरी राज्यका निकायहरूले आफ्नो भ्रष्ट चरित्र उजागर गर्छन्, स्वतः स्फुर्त रूपमा गायकको गीत, लेखकको कलम, नाच्नेको राग, बजाउनेको संगीतले शासकविरुद्धका स्वरहरू संगठित गर्न शुरू गर्छन् ।


Advertisement

राजनीतिलाई राज्यसंरचनाका विविध तत्वहरूले प्रभावित गरिरहेका हुन्छन् । तर वर्तमान सामाजिक संरचनाको हरेक पक्षमा राजनीतिले निर्णायक नेतृत्व गरेको हुनाले राजनीतिमा आउने खराबीको आरोप अन्य संरचना र आधारलाई दिने सही होइन । अहिले राज्यको हरेक क्षेत्रमा विकृति विसंगती बढीरहेको छ । राजनीतिको नाममा आफ्नो निहित स्वार्थ पुरा गर्ने र स्वार्थको योजनामा रहेकाबाहेक बहुसंख्यक आम मानिस वर्तमान नेपालको राजनीतिक प्रवृत्तिसँग सन्तुष्ट छैनन् ।

हालको राजनीतिमा स्थापित ठूलो संख्यामा रहेका सत्तापक्ष या प्रतिपक्षका अधिकांश नेताप्रति जनताको विश्वास छैन ।  देशमा चरम गरिबी व्याप्त हुनुको प्रमुख कारण राजनीतिक नेतृत्वमा देखिएको असक्षमता नै हो । राज्य सामाजिक न्याय र सुरक्षाप्रति उदासिन देखिन्छ । नेता, कर्मचारीदेखि आमनागरिकको वर्तमान र भविष्यमा आइपर्ने आधारभूत समस्या सामाधानको सोचका कारण भ्रष्टाचार र गलत आम्दानीका स्रोतहरु मौलाईरहेका छन् । गरिबीको कारण देश नक्सामा स्वतन्त्र भएपनि छिमेकीसँगको सम्बन्धमा समदुरी कायम हुन सकेको छैन् ।


Advertisement

राजनीतिक मूल प्रवाहमा स्पष्ट सांस्कृतिक, सभ्यता र पहिचान सम्बन्धि सोचको अभावका कारण परम्परागत मुल्य मान्यता र पहिचान संकटमा पर्दै गईरहेको छ । वैदेशिक धर्मसंस्कृतिको बिस्तार कार्यमा राजनीतिक नेतृत्व नै लागिपरेको देखिन्छ । आमनागरिकले स्पष्ट अनुभुति गरिरहेका छन् कि मौसमी नाराहरुमा जुन नेता र पार्टीले जेजस्तो विचार अभिव्यक्त गरेपनि व्यवहारमा पक्ष र प्रतिपक्षको समेत अभाव छ ।

नीति र प्रणालीको निर्माता राजनीतिक नेतृत्व हो भन्ने विषय सर्वमान्य बुझाई हो । पूँजीवादी लोकतन्त्र होस् या वैज्ञानिक समाजवादी व्यवस्था होस्, जननिर्वाचित राजनीतिक नेतृत्व नै राज्यव्यवस्थाको नीति निर्माता र संचालक हो । जब राजनीतिक नेतृत्वको नियतमा खराबी र नैतिकतामा निकृष्टता देखिन्छ, तब समग्र राज्य नै प्रदुषित हुन पुग्छ ।

यतिबेला हाम्रो देशमा यही भइरहेको छ । वैज्ञानिक दृष्किोणबाट अध्ययन गर्ने हो भने नेपाली जनता इतिहासमा यतिबेला सबैभन्दा बढी निरीह बनेका छन् । सबै राजनीतिक व्याक्ति र शक्तिहरूले आफ्नो नियत र प्रवृत्ति प्रदर्शन गरिसकेकाले वैकल्पिक शक्तिको अभाव रहेको छ । हरेक सामाजिक क्रियाकलापमा विशिष्ट प्रकारका नियमहरु रहेका हुन्छन् । सामान्यतः आम मानिस आफ्नो व्याक्तिगत र पारिवारिक सवालमा जहिले पनि कम जोखिम मोल्ने चाहना राख्छ । मानिसको उमेरको एउटा भाग विशेषगरी यूवा अवस्थामा मात्रै उसले सामाजिक सवालहरुमा जोखिम मोल्ने साहस प्रदर्शन गरेको हुन्छ । यस्ता विषयहरूलाई नेपाली राजनीतिसँग जोडेर बहस गर्न जरुरी छ ।

तत्कालिन समयमा बीपी कोईरालाको नेतृत्वमा भएको प्रजातान्त्रिक आन्दोलनमा बहुसंख्यक नेपाली यूवाले सहभागिता जनाए र बलिदान पनि दिए । जब बीपी नेतृत्वको आन्दोलन एक प्रकारको सम्झौतमा टुंगियो तब देशमा क्रान्तिकारी राजनीतिक र आर्थिक परिवर्तनको महसुस हुन सकेन । भर्खरै भएको आन्दोलन त्यसमा भएको जनधनको क्षतीबाट तत्कालिन पुस्ताका आममानिसले लाभ नभएको महसुस गरेकाले पुनः निर्णायक आन्दोलन उठ्नको लागि ३५ वर्ष पर्खिनुप¥यो ।

त्यसैले यहाँनेर के स्पष्ट अनुमान गर्न सकिन्छ भने हरेक मानिसले आफ्ना क्रियाकलापबाट आफू सुरक्षित भएको वा आफ्नो लागि उपलब्धि भएको महसुस गर्न चाहन्छ । ०४६ को आन्दोलन र माओवादी आन्दोलन पनि सम्झौतामा टुंगिएपछि अहिले आममानिसको मनोविज्ञान अध्ययन गर्दा उनीहरु कुनै दल वा व्याक्तिलाई विश्वास गरेर बलिदानीपूर्ण आन्दोलनमा सहभागिता जनाउन चाँहदैनन् मात्र भन्न मिल्दैन, अन्यको नेतृत्वमा भएको हेर्न पनि चाँहदैनन् ।

प्रत्येक आन्दोलनको चरणपछि सीमित नेतृत्वमा रहेका नेता कार्यकर्ताहरुको जीवनस्तरमा मात्रै परिवर्तन देखापरेको छ । यसले सामाजिक उपरी संरचनाको महत्वपूर्ण र निर्णायक तत्व राजनीतिमा गलत प्रवृत्तिको विकास गरिरहेको छ । यतीबेला नेपाली समाजमा एक प्रकारको जुहारी चलिरहेको छ । सामाजिक सञ्जाल, सांस्कृतिक क्षेत्र र लेखनहरुमा आम मानिसले राजनितिक भ्रष्टाचारको विरोध गरिरहेका छन् भने राजनितिक शक्तिको रूपमा रहेको राज्यले त्यसको औसतमा मात्र प्रतिवाद गरिरहेका छन् ।

ठूला प्रकारका भ्रष्टाचारीहरुले कुनै न कुनै रूपमा उन्मुक्ती प्राप्त गरेका छन् । भ्रष्टाचारको आरोप लागेका बहालवाला राजनीतिक व्याक्तिले साधारण नैतिकतासम्म प्रदर्शन नगरी अनुहारभरि मलिनता बोकेर कुर्चीमा बसिरहने, राज्य गरिबीको आहालमा डुबिरहेको छ तर उच्च बहालवालालाई अति विशिष्ट सुविधा जस्ता अनेकन प्रवृतिले नेपाली आकाश छोएको छ । गायक पशुपति शर्माले गलत र निकृष्ट राजनितिक प्रवृतिको गीतमार्फत व्यंगात्मक विरोध गरे ।

 

 

 

कमेन्ट गर्नुहोस्