मोदीको पक्षमा बन्दैछ माहोल, कहाँ चुके विपक्षी दल ?

कांग्रेस अध्यक्ष राहुल गान्धीले चुनावी भाषणमा निकै जोश देखाउन थालेपछि सत्तारूढ भारतीय जनता पार्टीले पुराना साझेदारको चित्त बुझाउने र नयाँ साझेदारलाई फकाउने अभियान थालेको छ । 

उता कांग्रेसीहरू चाहिँ घमण्डले फुलेर यताउता हिँड्न थालेका छन् मानौं उनीहरूले विजय हासिल गरिसकेका हुन् । उनीहरूले आम आदमी पार्टी र वाम दलसँग गठबन्धन गर्न मानेका छैनन् । 


Advertisement

तर यो योजनामुताबिक नै भएको हुन सक्छ । 

कांग्रेसले आफ्ना दृढ साझेदार द्रविड मुनेत्र कझजम, तेलुगु देशम पार्टी र जनता दल (सेक्युलर)सँग मिलेर सरकारको नेतृत्व गर्ने आशा लिएको छ र उनीहरू संयुक्त थर्ड फ्रन्टभन्दा निकै अगाडि छन् । तर सरकारमा पुग्न कांग्रेसले उत्तर प्रदेशबाहेकको हिन्दी बेल्टमा प्राप्त लाभलाई झनै बढाउनुपर्ने हुन्छ । अघिल्लो लोकसभा निर्वाचनमा उत्तर प्रदेशमा जम्मा दुई सीट ल्याएको कांग्रेसले यसपालि कम्तीमा दोहोरो अंकमा सीट ल्याउने आशा गरेको छ । 

त्यसैले कांग्रेसले आफ्नो सबै शक्ति उत्तरी राज्य तथा हिन्दीभाषी क्षेत्रमा खर्च गर्ने योजना बनाउनु बुद्धिमत्तापूर्ण नै ठहरिन्छ र त्यसले राम्रो प्रतिफल दिने सम्भावना छ । 

बंगाल र उडिसा जस्ता राज्यमा एक्लै चुनाव लड्दा सत्तारूढ दलविरुद्धको मतलाई विभाजन गर्न सहायता पुग्ने तर्क गर्न सकिन्छ । बंगालमा तृणमूल कांग्रेस र उडिसामा बिजु जनता दल सत्तामा छन् । तर यस्तो रणनीतिले आफैंलाई अप्ठ्यारोमा पार्ने सम्भावना पनि उत्तिकै छ । यसबाहेक बृहत्तर विपक्षी समझदारीको यो हिस्सा होइन रहेछ भने ममता बनर्जी जस्तो संवेदनशील नेत्रीले यसलाई कसरी लिन्छिन् भन्ने विषय पनि निकै अप्ठ्यारो छ । 

व्यावसायिक सट्टेबाजहरूले सट्टाबजारको भनाइपछिको अर्को विश्वसनीय सूचकांक भनेको पार्टी परित्याग गर्नेको संख्या र दिशा पनि हो । यी दुवै कुरामा भाजपा र नेसनल डेमोक्रेटिक अलायन्स (एनडीए) को स्थिति राम्रो छ । 

भाजपाका पक्षमा सकारात्मक झुकावलाई बालाकोटको असरका रूपमा व्याख्या गरिएको छ । तर भारतीय मतदाता यति पनि मूर्ख छैनन् । त्यसैले उनीहरूले एउटो सर्जिकल स्ट्राइक वा पछिल्लो ट्विटर ट्रेन्डका आधारमा मतदान कसलाई गर्ने हो भनी विचार बनाउँछन् भन्ने कुरामा विश्वास गर्न सकिन्न । 

भाजपाका पक्षमा चुनावी भाष्य बिस्तारै बन्दै गएको चाहिँ सही हो । 

राहुल गान्धी राफेल घोटाला र अनिल अम्बानीलाई ३० हजार करोड भारु दिइएको भन्ने आरोपमा अल्झिरहेको बेलामा भाजपाले निर्वाचनको कथानकलाई अन्य वास्तविक विषयतर्फ मोड्न सफल भएको छ र ती विषयलाई ह्याशट्याग मैंभीचौकीदार भिडियोमा विस्तृत रूपमा समात्न सफल भएको छ । 

पत्रकारदेखि वरिष्ठ पार्टी नेतासम्मका कांग्रेसका शुभचिन्तकहरूले रोजगारी जस्ता ठोस विषयमा कांग्रेस फर्किनुपर्छ भनिरहेका छन् । तर राहुल गान्धी अहिले राफेल विमानमै अड्किएका छन् । उता भाजपाले भने चौतर्फी सन्देशका साथ आफ्नो चुनावी भाष्यलाई बलियो बनाइरहेको छ । 

अनि कांग्रेस र अन्य विपक्षी दलबीचको विचारमा पनि भिन्नता देखिएको छ । 

थर्ड फ्रन्टको अनि युनाइटेड प्रोग्रेसिभ अलायन्स साझेदारको निर्वाचन अभियानमा राफेलले खासै स्थान पाएको छैन । उनीहरू आआफ्नै डम्फु बजाएर बसेका छन् । धर्मनिरपेक्षता पनि प्रभावशाली मुद्दा रहेन किनकि सबै दल हिन्दू भोटको आशा गरेर बसेका छन् । रमाइलो कुरा त, राज्यस्तरका नेताहरू आफ्ना सर्वोच्च नेताको बोलीमा लोली मिलाइरहेका छैनन् । जात, हिन्दूत्व, किसानको पीडा र कांग्रेसको राजवंशको प्रशंसामा कुराहरू हराएका छन् । 

प्रियंका गान्धी वाड्राको प्रवेशले अर्को आयाम दिएको छ । उनी साबरमती आश्रममा पहिलोपटक भ्रमण गर्ने क्रममा भावुक भइन् । यही हप्ता उनले प्रयागबाट बनारससम्मको १०० किलोमिटर डुंगायात्रा गरिन् । उनले निर्वाचनमा कुन विषयलाई प्रतिनिधित्व गरिरहेकी हुन् भन्ने नै प्रस्ट छैन । 

भाजपा खेमामा भने कुनै अस्पष्टता छैन । 

कसैलाई मन परे पनि नपरे पनि निर्वाचनका केन्द्र मोदी हुन् र भाजपाले यस विषयमा कुनै हिचकिचाहट देखाएको छैन । 

त्यसैले मोदीले ट्विटरमा आफ्नो नाम परिवर्तन गरेर चौकीदार थप्दा भाजपाका धेरै नेता कार्यकर्ताले त्यसै गरे । पार्टी वा राष्ट्रिय स्वयंसेवक संघमा मोदीको सम्प्रदाय बनेको विषयमा कुनै असन्तुष्टि भए पनि त्यसलाई अहिले कोट्याउने पक्षमा कोही छैन । मोदीले विजय दिलाउन सकेनन् भने नेतृत्व परिवर्तनको विषयमा मन्थन गर्न प्रशस्त समय हुनेछ । लोकसभामा जम्मा दुई सीट जितेर शुरूआत गरेको पार्टीलाई यस्ता विषयले चिन्तित पार्दैनन् । 

तर कांग्रेस र धेरै विपक्षी नेताहरूका लागि यो चुनाव गर वा मर हो । त्यसैले पनि एक सुसंगत तथा नियोजित रणनीतिको अभाव देखिँदा छक्क पर्नु स्वाभाविक हो । भविष्यमा निकै ठूलो तूफान ल्याउनुअघिको शान्त स्थिति यो होइन भने राहुल गान्धी र विपक्षी दलहरू अहिले थला परेको देखिन्छ । 

उता उडिसामा बैजयन्त पान्डाले आधिकारिक रूपमा भाजपा प्रवेश गरेपछि परिस्थिति बिग्रेको छ । त्यहाँ सत्तारूढ बीजेडीमा देखिएका चिरा टाल्न गाह्रो भइरहेको छ । यसले बीजेडी नेता नवीन पटनायकलाई थर्ड फ्रन्टतिर धकेल्छ कि उनी पार्टी परित्याग गर्नेहरूको संख्या हेरेर आफ्ना विकल्प खुला राख्छन् भन्ने कुरा हेर्न बाँकी छ । 

पश्चिम बंगालमा तृणमूल कांग्रेस अझै बलियो छ र ममता बनर्जीले राज्यमा आफ्नो पकड कायमै राखेकी छन् । तर सात चरणको निर्वाचन कार्यक्रमले पार्टीपंक्तिमा केही असहजता ल्याएको छ । उनले कुनै खतरा नमोलिकन आफ्ना उम्मेदवार छान्न व्यावहारिकता देखाएकी छन् । 

राज्यमा राम्रो उम्मेदवार नहुनु भाजपाको सबभन्दा ठूलो समस्या हो । उसको भोट शेयर बढेको भए पनि सीट संख्या बढ्ने सम्भावना शंकाकै घेरामा छ । तर भाजपा अध्यक्ष अमित शाहले ममतालाई राज्यमै व्यस्त राखेर विपक्षी खेमालाई ऊर्जा दिनका लागि समय नै नपुग्ने स्थिति बनाउन सक्छन् । 

उता मध्य प्रदेश, राजस्थान र छत्तीसगढ विधानसभामा कांग्रेसले हालै पाएको विजयलाई कसरी फाइदा उठाउन सक्छ भन्ने विषयमा गम्भीर आशंका छन् । ताजा रिपोर्टअनुसार, उसले किसानको कर्ज माफी गर्ने आफ्नो प्रतिज्ञालाई पूरा गर्न सकिरहेको छैन किनकि एक त पैसाको अभाव छ अनि यो योजनामा भएका कमजोरीले विधानसभा निर्वाचनमा मत दिएका मानिसमा झगडा गराएको छ । यसको तुलनामा बरू मोदीको प्रधानमन्त्री किसान सम्मान निधि योजनाले भाजपाका लागि थप राम्रो प्रतिफल दिने सम्भावना छ । 

भारतले बालाकोटमा हवाई आक्रमण गरेको र जैश–ए– मोहम्मदका प्रमुख मसूद अजहरलाई वैश्विक आतंकवादी घोषणा गराउन निकै प्रयास गरेको विषयको राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भलाई पनि बिर्सन मिल्दैन । 

यो घटनापछि अन्तर्राष्ट्रिय समुदायले मोदीको नेतृत्वमा विश्वास गरेको देखाएको छ र यसले जेठपछि मोदीले नै सरकार चलाउने आशा गरेको मौन स्वीकार गरेको देखिन्छ । 

मोदीले अच्छे दिनको वाचा गरेको भए पनि त्यसलाई पूरा नगरेको तर बुरे दिन पनि ल्याएको छैन भन्ने धारणा बनेको छ । हो, गल्तीहरू गरिएका छन् र सबै कुरा अपेक्षाअनुरूप भएका छैनन् । तर निकै धेरै हासिल भएको छ र त्यसले अर्को चरणको बाटो खोलेको भन्ने पनि स्वीकार गरिएको पाइन्छ । माहोल बन्दै गएको प्रस्ट संकेत पाइन थालेको छ र यसले गति लिनुअघि यसलाई बिगार्ने काम गर्नुहुँदैन । 

डेलीओ डट्इनमा प्रकाशित सन्दीप घोषको विश्लेषण 

कमेन्ट गर्नुहोस्