काठमाडौँमा वर्षकै उच्च तापक्रम, भैरहवा र नेपालगञ्जको समान ४३ डिग्री पुग्यो

काठमाडौँ–अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौँ उपत्यकामा यो वर्षकै बढी गर्मी महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३३ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्री पुगेको छ । हिजो शुक्रबार काठमाडौँको अधिकतम ३३.५ र न्यूनतम १९ डिग्री सेल्सियस थियो । काठमाडौँको तापक्रम वर्षको उच्च भएकाले गर्मी बढेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीको भनाई छ । 


Advertisement

उनका अनुसार केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो । अझै दुई दिनसम्म गर्मी बढ्नेछ । अबको तीन÷चार दिनपछि देशको पूर्वी क्षेत्रबाट विस्तारै मनसुन सक्रिय हुने मौसमविद् नगरकोटीको भनाइ छ ।


Advertisement

आज सबैभन्दा बढी अधिकतम तापक्रम दिपायल, भैरहवा र नेपालगञ्जको समान ४३, धनगढीको ४२  तथा दाङको ३९ डिग्री सेल्सियस रहेको छ । यसैबीच आगामी तीन दिनसम्म देशका विभिन्न भेगमा बदली रही केही स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


 

कमेन्ट गर्नुहोस्