मेघौली सेराइ : टाइगर टप्स बन्द भएपछि सुस्ताएको पर्यटनलाई पुनर्जीवन !

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

चितवन – चितवन राष्ट्रिय निकुञ्जभित्र टाइगर टप्स लज सञ्चालनमा रहुञ्जेल पश्चिम चितवनको मेघौलीको चहलपहल बेग्लै थियो । 

टाइगर टप्स खुलेसँगै बनेको मेघौली विमानस्थलमा दैनिक ७ वटासम्म फ्लाइट हुन्थे । सरकारले निकुञ्जभित्रका होटल बन्द गर्ने निर्णय गरेपछि जंगल सफारीमा नाम कहलिएको चितवनको टाइगर टप्स लज बन्द भयो । 


Advertisement

टाइगर टप्स बन्द भएसँगै मैघौलीको विमानस्थल पनि बन्द भयो । टाइगर टप्सकै पाहुनाले यो विमानस्थल धानेको थियो । अहिले विमानस्थल घाँसे मैदानमा परिणत भएको छ । 

सन् १९६४ मा खुलेको टाइगर टप्समा बेलायती महारानी एलिजाबेथ, अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिनटनदेखि प्रतिष्ठित व्यक्तिहरू आएर बसेका थिए । 

कुनै बेला मेघौलीको चहलपहल भरतपुरभन्दा बढी थियो । स्थानीयका अनुसार चार दशक अघिसम्म काठमाडौं र पोखराबाट समेत उडान हुने भएकाले भरतपुरभन्दा मेघौली क्षेत्रमा जग्गाको मूल्य बढी रहेको स्थानीयहरू बताउँछन् । 

मेघौली विमानस्थलको अहिलेको अवस्था

विक्रम सम्वत् २०६९ सालमा चितवन राष्ट्रिय निकुञ्जबाट टाइगर टप्स जंगल सफारी बाहिरिएपछि मेघौली एयरपोर्ट पूरै बन्द भयो । टाइगर टप्स बन्द भएपछि अन्तर्राट्रिय हात्तीपोलो प्रतियोगिता रोकियो ।

यो क्षेत्रमा पर्यटकीय चहलपहल कम भयो भने आर्थिक क्रियाकलापमा मन्दी आयो । सयौंको संख्यामा स्थानीयको रोजगारी खोसियो । घरमै बसेर टाइगर टप्समा जागिर गरेकाहरू केही बर्दिया गए, केही कामको खोजीमा विदेशतिर लागे । बाँकी रहेकाहरू गाउँमै खेतीपातीमा केन्द्रित भए ।

टाइगर टप्स बन्द हुनु मेघौलीका लागि दुर्भाग्य भयो । ‘टाइगर टप्स बन्द भएपछि यहाँका धेरैको रोजगारी गुम्यो, कोही विदेश भासिए, कोही गाउँमै बेरोजगार भए, यो क्षेत्र ओझेलमा पर्‍यो,’ भरतपुर महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्ष आशबहादुर कुमाल भन्छन् । 

ओझेल परेको मेघौली उठ्ने आशा

टाइगर टप्स लज बाहिरिएको केही वर्षपछि मेघौली क्षेत्रमा मेघौली सेराइ र बाराही गरी दुईवटा ठूला रिसोर्ट सञ्चालनमा आएका छन् ।

नेपालको प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुपको लगानीमा ताज होटलको व्यवस्थापन रहेको मेघौली सेराइ होटल खुलेपछि मेघौलीले गुमेको पहिचान पाउने स्थानीयको आशा छ ।

मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिशचन्द्र महतो मेघौली सेराइजस्ता रिसोर्टका कारण पर्यटकीय क्षेत्रले पुनर्जीवन प्राप्त गर्ने विश्वास व्यक्त गर्छन् ।

‘टाइगर टप्सले राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा यहाँको पहिचान गराएको थियो, बन्द भएपछि यो क्षेत्र सुस्ताएर गयोे,’ महतो भन्छन्, ‘ताज सफारी आएपछि मेघौलीले पुनर्जीवन पाएजत्तिकै हामीले महसूस गरेका छौं ।’

केही वर्षयता रोकिएको अन्तर्राष्ट्रिय  हात्तीपोलो प्रतियोगिता मेघौलीमै गर्नका लागि राष्ट्रिय पर्यटन समितिले तयारी थालेको उनले बताए । 

हात्तीपोलो प्रतियोगिता हेर्नकै लागि पनि पर्यटकहरू यस क्षेत्रमा आउने गरेका थिए । थारू सांस्कृतिक संग्राहलयका अध्यक्ष मायाराम पौडेल बिस्तारै मेघौलीले गति लिन थालेको महसूस भएको बताउँछन् ।

‘मेघौलीमा खुलेका नयाँ होटल र रिसोर्टहरूले स्थानीय स्तरमा राम्रो प्रभाव पारेका छन्, केही रोजगारी दिएका छन्’ पौडेल भन्छन्, ‘सबैभन्दा ठूलो कुरा सेलाउँदै गएको मेघौलीलाई पुनर्जीवन दिएका छन् ।’

पर्यटन नै एकमात्र विकल्प 

भरतपुर महानगरपालिकाभित्र पर्ने भएपनि वडा नम्बर २८ मेघौलीको अधिकांश भू-भाग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । मध्यवर्ती क्षेत्रमा पर्ने स्थानमा पर्यटन बाहेकका अन्य उद्योग सञ्चालका लागि अनुमति पाइँदैन ।

‘कृषिका लागि पर्याप्त सिँचाइ सुविधा छैन, जंगली जनावरले नष्ट गर्ने भएकाले पनि कृषिमा आकर्षण छैन । मध्यवर्ती क्षेत्रमा अन्य उद्योग दर्ता हुँदैनन् । यहाँको विकल्प भनेको पर्यटन नै हो,’ भरतपुर २८ का वडा सचिव कमुप्रसाद चौधरी भन्छन् । 

टाइगर टप्स बन्द भएपछि गुमेको रोजगारी मेघौली सेराइ लगायतका होटलले दिएको उनी बताउँछन् । 

विमानस्थल नचल्दा पर्यटकलाई समस्या

टाइगर टप्स होटल बन्द भएसँगै मेघौलीमा रहेको विमानस्थल बन्द छ । नेपाल वायु सेवा निगमले केही समय उडान भरेपनि त्यसले निरन्तता पाउन सकेन । 

पर्यटन विकास समितिका अध्यक्ष हरिशचन्द्र महतो विमानस्थल सञ्चालनका लागि पर्यटन मन्त्रालयमा पटक–पटक डेलिगेसन गइसकेको र विमानस्थल सञ्चालनमा मन्त्रालयले चासो देखाएको बताउँछन् ।  

जंगल सफारीका लागि आउने पाहुना स्तरीय पर्यटक भएकाले मेघौलीमा एयरपोर्ट सञ्चालनमा आए पर्यटक आगमनमा वृद्धि हुने स्थानीयहरू बताउँछन् । अहिले पनि कयौं पर्यटक हेलिकप्टर चार्टर गरेरै आउने गरेका छन् ।

विदेशबाट फर्केर स्वदेशमै रोजगारी र खुशी

मेघौलीका स्थानीय सञ्जय महतो रोजगारीका लागि मलेसिया पुगेका थिए । आफ्नै ठाउँमा नयाँ रिसोर्ट खुल्ने थाहा पाएपछि उनी अवसर खोज्दै गाउँ फर्किए । 

‘विदेशमा गएर कष्टपूर्ण काम गरेको मान्छेलाई ताज जस्तो कम्पनीमा काम गर्ने अवसर मिल्नु मेरा लागि ठूलो कुरा भयो,’ सञ्जयले भने । 

रोजगारीले आफ्नो आम्तविश्वास बढेको उनी बताउँछन् । ‘पहिला–पहिला विदेशीसँग बोल्न नजान्दा काँटा चम्चा पुछेर पछाडि बस्थें, अहिले विदेशीसँग बोल्नलाई मलाई समस्या छैन,’ उनले खुशी हुँदै सुनाए ।

सञ्जयको अनुभवमा गाउँमा खुलेको होटलले आर्थिक क्रियाकलाप बढाएको छ भने अभिभावकको आम्दानीका कारण बालबालिकाले स्तरीय शिक्षा पाएका छन् ।

पर्यटक रिझाएरै उनले हेलिकप्टरमा मुक्तिनाथदेखि विभन्न स्थानको भ्रमण पनि गरेका छन् ।

मेघौलीकै स्थानीय पविता कुमाल मेघौली सेराइ ताज सफारीमा कार्यरत छिन् । ‘घरमै बसेर जागिर गर्न पाएकी छु, आफैं कमाउने भएपछि बुवासँग पैसा माग्न परेको छैन, बरू आमालाई केही पैसा दिन्छु,’ उनी भन्छिन् ।

होटल खुल्ने समयमा निर्माण मजदुरलाई खाना पकाउने काम गरेर जागिर शुरू गरकी सुनिता महतो अहिले रिसोर्टमा बेकरीको सेफ बनेकी छन् ।

‘हामीजस्तै महिलाहरू कामका लागि बिदेसिनु परेको छ, मैले चाहिँ घरमै बसेर अन्तर्राष्ट्रिय स्तरको होटलमा काम गर्न पाएकी छु,’ सुनिता भन्छिन् ।

होटलमा कार्यरत ८० प्रतिशत कामदार स्थानीय छन् । 

‘सीजीजस्तो कम्पनीको छायाँमा काम गर्न पाएका छौ भनेर साथीभाइले भन्दा खुसी लग्छ,’ होटलमा कार्यरत वृजकुमार महतो भन्छन् । 

थारू संस्कृतिको संरक्षण

मेघौली सेराइले आफ्नो होटलमा आउने पाहुनाका लागि नेपाली मौलिक खानेकुरा खुवाउने र थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गर्छ ।

थारू सांस्कृतिक कार्यक्रमका लागि होटल परिसरमा थारू संस्कृति झल्किने मौलिक थारू घर बनाइएको छ । सोही घरमा स्थानीय संघही समूहले थारू सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको छ ।

‘थारू सांस्कृतिक कार्यक्रमले पर्यटकलाई मोहित पार्ने गरेको छ,’ वृजकुमार महतो भन्छन् ।

ठूला होटल र रिसोर्टले आफूहरूको कला–संस्कृति संरक्षणमा योगदान पुर्‍याएकोमा स्थानीय खुशी छन् । ‘थारू संस्कृति जोगिएकोमा हामी खुशी छौं, कमाइ पनि भएको छ,’ संघही समूहका सदस्य जीवन महतोले भने । 

थारू संस्कृतिको जगेर्नामा नयाँ पुस्ता समेत आकर्षित भएको संघही समूहका अर्का सदस्य अर्बन महतोले बताए । 

जीवन र अर्बन महतो

खानामा पनि थारू परिकारलाई विशेष महत्त्व दिइएको छ । ‘मेरो घरमा नपाक्ने थारू परिकार यहाँ पाइन्छ, गाउँमा चिचर (केराको पातमा बेरेर अनदीको चामल पोलेर बनाइने परिकार) पाइन छाड्यो यहाँ टिपिकल थारू परिकार पाइन्छ,’ सञ्जय महतोले भने, ‘पास्ता खाँदा दिक्क भएका पाहुना नयाँ ठाउँमा नयाँ खानाको स्वाद पाउँदा खुशी देखिन्छन् ।’

भारतीय पर्यटकलाई आकर्षित गर्न ‘हनिमून प्याकेज’ 

सीजी होटल्स एण्ड रिसोर्टको मेघौली सेराइ लज नेपालमा रहेका महंगो मध्येको एक होटल हो । राप्ती र नारायणी नदीको संगमस्थल गोलाघाटनजिकै राप्ती किनारामा अवस्थित छ, सेराइ ।

अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले सन् २०१७ मा मेघौली सेराइ लजलाई विश्वको उत्कृष्ट नयाँ होटलहरूको सूचीमा राखेको थियो ।

हस्पिट्यालिटी क्षेत्रमा पहिचान बनाएको पत्रिकाले ‘२०१७ इट लिस्ट’ मा मेघौली सेराइलाई समावेश गरेको थियो । 

राप्ती नदी किनारमा रहेको सफारी लजमा ३ सयदेखि १५ सय डलरसम्मका रूम छन् ।

राप्ती महल (पी भिल्ला) नाम दिइएको रूमको पर्यटकीय सिजनमा १८ सय डलरसम्म पर्ने लजका क्याम्प होस्ट रोशन सापकोटाले बताए । भिल्लामा प्रयोग गरिएका सामान इन्डोनेसियाको बालीबाट ल्याइएको हो । लजमा सुविधासम्पन्न १६ वटा भिल्ला छन् । प्रत्येक भिल्ला एउटा घर जस्तै छ । प्रत्येक भिल्लाको अगाडि स्वीमिङ पुल छ । लजले जंगल सफारीका लागि हात्ती पालेको छ । 

पी भिल्ला

मेघौली सेराइले पर्यावरणीय सन्तुलन कायम गर्न र नदीमा प्रदूषण हुन नदिन होटलमा प्रयोग भएको पानीलाई पुनः प्रयोग गर्नेगरी प्रशोधन मेसिन राखिएको छ । होटलको किचेन, बाथरूम र सरसफाइमा प्रयोग भएको पानी प्रशोधनमार्फत् पुनः प्रयोगमा ल्याउने गरिएको छ । प्रशोधन गरिएको पानी करेसाबारीमा प्रयोग गर्ने गरिन्छ ।

यस वर्ष पर्यटकीय सिजन शुरू नभएपनि मेघौली सेराइमा पर्यटकको अभाव छैन । मेघौली सेराइकी कन्ट्री डाइरेक्टर कमेल फेरियाले विवाह उत्सव मनाउन अफ्रिकाका देशमा जाने भारतीय पर्यटकलाई नेपाल ल्याउन प्याकेज कार्यक्रम ल्याउने बताइन् । 

‘अफ्रीकी मुलुक जाने भारतीय पर्यटक यहाँ आउन सक्छन्, भारतबाट नेपाल नजिक पर्छ,’ कमेलले भनिन् । यस वर्ष भारतीय प्रख्यात योग गुरूबाट अन्तर्राष्ट्रिय योगा र सफारी महोत्सव आयोजना गर्न लागिएको उनले बताइन् ।

कमेन्ट गर्नुहोस्