मधेशबाट विस्थापित पहाडी समुदायको पीडाः 'दशैंमा गाउँ सम्झिँदा खप्नै नसक्ने दु:ख लाग्छ'

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

जनकपुरधाम – केशव ढुंगेल कुनैबेला जनकपुर नगर पञ्चायतमा जन प्रतिनिधि थिए । उनी जनकपुर नगर पञ्चायत वडा नम्बर २ को दुईपटक वडाध्यक्ष समेत भइसकेका व्यक्ति हुन् ।

नेपाली कांग्रेसका तर्फबाट टिकट पाएर उनी २०४९ सालमा र २०५४ सालमा वडाध्यक्षमा निर्वाचित भएका थिए । तर, २०६२/०६३ सालको मधेश आन्दोलन हुँदा उनी जनकपुरबाट विस्थापित हुनुपर्‍यो ।
जनकपुरको आफ्नो घर बेचेर नै जानुपर्‍यो । अहिले उनी काठमाडौंमा भाडाको घरमा परिवारसहित बस्दै आएका छन् । 


Advertisement

‘२०६३ सालमा यस्तो हावाहुरी आयो कि त्यहाँ बस्ने अवस्था नै रहेन,’ ढुंगेलले भने, ‘ज्वाला समूह, गोइत समूहको नाममा फोन गरेर चन्दा माग्थे, ज्यान नै मारिदिने धम्की दिने गर्थे ।’

अज्ञात व्यक्तिले फोनमा यसरी धम्की दिँदा घर परिवारका मानिस समेतले सुन्ने गर्थे, त्यस पछि त पूरै परिवार त्रासमा पर्‍यो । दुई विकल्प मात्र रह्यो उनका सामु, कि त डरत्रास सहेर बस्ने कि विस्थापित भएर अन्यत्र जाने । उनले दोस्रो विकल्प रोजे ।

‘बाल्यकालदेखि नै बस्दै आएको जनकपुर छाड्नुपर्दाको व्यथा कस्तो थियो भन्ने कुरा स्मरण गर्दा पनि ज्यादै चित्त दु:खेर आउँछ,’ उनले लोकान्तरसँग भने, ‘जिन्दगीभर जनकपुरमै बसियो, हुर्कियो, एकाएक काठमाडौं गएर बस्नुपर्दा धेरै अप्ठ्यारो भयो, सेटल हुन निकै कठीन भएको थियो ।’

दशैंमा सबै आ–आफ्ना गाउँ जान्छन्, गएका छन् । काठमाडौं रित्तिएको छ । ‘सबै छिमेकीले आएर भने दशैंमा गाउँ जाने होइन ?’ ढुंगेललाई पर्नु पिर पर्‍यो, ‘त्यतिबेला भने खप्न नसकिने गरी दु:ख लाग्ने गर्छ,’ उनले भने ।

ढुंगेलले थपे, ‘जनकपुरबाट विस्थापित भएर आइएको छ, त्यहाँ अब केही छैन, कुन ठाउँ जाने ?’ त्यसैले दशैं होस् वा अन्य कुनै चाडपर्व काठमाडौंमैं बसेर परिवारसहित मनाउने गरेको उनले बताए ।

हरि मानन्धरको पनि उस्तै पीडा

हरि मानन्धर जनकपुरका चर्चित फूटबल खेलाडी थिए । उनले जनकपुरबाटै प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फूटबल खेलेका छन् ।

जनकपुरको मुजेलियामा प्रहरी चौकीको सामुन्ने डेढ कठ्ठा जग्गामा उनको घर थियो । तर, २०६३ सालमा भएको मधेश आन्दोलनका क्रममा चन्दाको नाममा धेरै धम्की आयो । ‘मलाई र मेरो दाइ (पुस्कर मानन्धर)लाई थुप्रै धम्की आयो,’ मानन्धरले भने, ‘बाध्य भएर ३२ लाख रुपैयाँमा घर र जमिन बेच्नुपर्‍यो ।’ 

जुन व्यक्तिले कौडीको भाउमा घर किने त्यही व्यक्तिले सोही घर १ करोड २० लाख रुपैयाँमा अरू व्यक्तिलाई बिक्री गरेको समेत आफूले सुनेको मानन्धरले बताए । 

उनीहरू परिवारसहित नै काठमाडौं विस्थापित भए । काठमाडौंमा उनले एउटा स्पोर्ट्स सेन्टर नामक पसल सञ्चालन गरेका छन् ।

अहिले दशैं आएपछि भने ज्यादै नराम्रो अनुभूति हुने गर्छ । ‘सबै जना आ–आफना गाउँ घर टीका थाप्न फर्किएका छन्, तर हामीहरू यहीं काठमाडौंमा नै बस्नु परेको छ,’ मानन्धर दु:खेसो पोख्छन् । 

खास गरेर बच्चाहरूले गाउँ जाने होइन, जनकपुर जाने होइन ? भनेर सोध्दा आफुहरू अनुत्तरित हुने गरेको उनको भनाइ छ ।

ढुंगेल र मानन्धर सहित करीब २ हजार जति मानिसहरू आफ्नो थातथलो छाडेर बर्दिबास, सिन्धुली, हेटौंडा, चितवन तथा काठमाडौं विस्थापित भएको अनुमान गरिएको छ ।

मधेश आन्दोलनका क्रममा भूमिगत समूह र जग्गा माफियाहरूका कारण जनकपुरमा बस्ने पहाडिया समुदायलाई धम्की दिइयो । पसलहरूमा आगजनी गरियो । घरमा ढुंगा हान्ने काम गरियो । ३ जना पहाडीमूलका कर्मचारीलाई अज्ञात समूह तथा राजन मुक्ति समूहले हत्या नै गरे । सोही कारण अधिकांशले बाध्य भएर पलायन नै हुनुपर्‍यो ।

त्यति बेला पहाडी समुदायको संरक्षणका लागि कुनै पनि राजनीतिक दल अगाडि आएन । ‘नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी मूलधारको राष्ट्रिय पार्टी थिए,’ ढुंगेलले भने, ‘तर, असुरक्षित महसूस गरिरहेका पहाडी समुदायलाई संरक्षण गर्न कुनै पनि राजनीतिक दलले एउटा प्रेस विज्ञप्ति समेत जारी गरेनन् ।’ 

उनीहरूले धम्कीबारे त्यति बेलाका एसपी, सीडीओ समेतलाई जानकारी गराएका थिए । तर, प्रशासनिक निकायदेखि सुरक्षा निकायबाट समेत सुरक्षाको प्रत्याभूति नभएको मानन्धर सम्झन्छन् । ‘यस्तै हो, सचेत भएर आ–आफ्नो सुरक्षा आफैं गर्नुस् भनेर एसपी, सीडीओले भन्थे,’ मानन्धरले सम्झिए ।

विस्थापितहरू ‘विस्थापित समाज जनकपुर’ भन्ने एउटा संस्था नै खोलेर काठमाडौंमा संगठित भएका छन् । दशैंदेखि विभिन्न चाडपर्व उनीहरूले एकआपसमा मिलेर मनाउने गर्छन् । उनीहरूको सबै परिवार अब त्यहीँ छन । ‘म त नेवार हो, तर काठमाडौंमा पनि मैथिली भाषा नै बोल्ने गर्दा धेरैलाई अचम्म लाग्ने गर्छ,’ मानन्धरले भने, ‘अनि भन्छौं हामी त जनकपुरबाट लखेटिएको हो ।’  

जसरी माओवादी आन्दोलनका क्रममा विस्थापित भएका व्यक्तिहरूलाई राज्यले सेवा/सुविधा दिएका छन्, क्षतिपूर्ति दिएका छन्, त्यसैगरी मधेश आन्दोलनका क्रममा विस्थापित हुनुपरेका व्यक्ति तथा परिवारलाई पनि राज्यले सेवा सुविधा दिनुपर्ने उनीहरूको माग छ ।

मानन्धर कहिलेकाहीँ जनकपुर पुग्छन्, तर त्यहाँ पुग्दा स्थानीयले आत्मियता देखाउनुको साटो अझै जग्गा बेच्न आउनुभएको हो भन्ने गरेको उनको गुनासो छ ।

विस्थापितहरूले सरकारलाई पटक–पटक ज्ञापनपत्र पनि बुझाएका रहेछन् ।

‘विस्थापित भएका हाम्रा सन्तानलाई सरकारले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्‍यो, अन्य क्षतिपूर्ति उपलब्ध गराउनुपर्‍यो भन्दै नेपाल सरकारलाई पटक–पटक ज्ञापनपत्र दिएका छौं,’ विस्थापित केशव ढुंगेलले भने ।

अहिले जनकपुरको दशैं, राजदेवी मन्दिरको पूजा, भव्य पण्डाल याद आइरहेको उनी बताउँछन् । छठलाई अझै धेरै मिस गर्ने उनको भनाइ छ । 

ढुंगेल जनकपुरको भानुचोकमा भानुभक्तको शालिक पुनस्र्थापित भएको हेर्न चाहन्छन्, जुन मधेश आन्दोलनका क्रममा भत्काइएको थियो ।

भानुचोकलाई उनीहरूले शहीद रमेश महतो चोक भनेर पनि लेखेका थिए । तर भानुचोकको नाम भने अझै पनि चर्चित छ ।

‘कम्तिमा त्यो चोकमा फेरिपनि भानुभक्तको स्मारक निर्माण गरिदिए हामीलाई सन्तुष्टि हुन्थ्यो,’ ढुंगेलले भने, ‘हामी विस्थापित भएका मानिसहरू कम्तिमा भानु जयन्ती मनाउन त जनकपुर फर्किने वातावरण निर्माण हुन्थ्यो ।’

विस्तारै विभिन्न चाडपर्वमा समेत खास गरेर छठमा परिवारका सबै सदस्य त्यही गंगासागरको पोखरीमा पुगेर मनाउन सकिने वातावरण बन्ने उनको आशा छ ।

कमेन्ट गर्नुहोस्